फर्निचरको कामका लागि कामदार मलेसिया पठाएर अलपत्र पार्ने काठमाडौंको जेपी ओभरसिज कम्पनीले २० दिनभित्र कामदारलाई नेपाल ल्याउने बताएको छ।
वैदेशिक रोजगार विभागले साउन २१ गते सोधेको स्पष्टीकरणमा कम्पनीले २० दिनभित्र कामदारलाई नेपाल ल्याउने जवाफ दिएको हो।
मलेसियामा अलपत्र कामदारको विषयको समाधानका लागि हाल यस कम्पनीका सञ्चालक प्रचण्डबहादुर बम मलेसियामा नै रहेको र कामदारसँग निरन्तर सम्पर्कमै रहेको हुँदा २० दिनभित्र नेपाल ल्याउने कम्पनीले प्रतिबद्धता जनाएको छ।
‘१५ नेपाली कामदार दुई महिनादेखि मलेसियामा अलपत्र’ शीर्षकमा गत सोमबार नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित भएको थियो । काठमाडौंको जेपी ओभरसिजमार्फत १५ जेठमा मलेसिया पुगेका सप्तरी, सिराहा र बाराका ती कामदार काम नपाएपछि दुई महिनादेखि अलपत्र छन् । काठमाडौंको जेपी ओभरसिजले मासिक ६१ हजार नेपाली रुपैयाँ पारिश्रमिक पाउने आश्वासन दिँदै तीनदेखि चार लाखका दरले असुलेर उनीहरूलाई उडाएको थियो।