गत मंगलबार बडिगाड गाउँपालिका– १० आरुपाटामा खसेको पहिरोमा परी बेपत्तामध्ये थप एकजनाको शव फेला परेको छ। दुईजना अझै बेपत्ता छन् । पहिरोमा परी बेपत्ता भएकी सात वर्षीया मधु बुढाको शव आज बिहान फेला परेको हो।
१० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन थापा अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए । पहिरोले घर पुरिँदा बेपत्ता भएकाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरी खोजी भइरहेको उनकाे भनाइ छ।
पहिरोले पुरेर मृत्यु भएका स्थानीय ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमल बुढा, सञ्जु विककी ६ महिनाकी छोरी सीता विक र ७० वर्षीया मैतीदेवी विकको शव मंगलबार नै फेला परेको थियो । तीन वर्षीय आरुस थापाको शव बुधबार दिउँसो भेटिएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन् ।
अध्यक्ष अधिकारीका अनुसार पहिरोमा परी घाइते भएका १० जनामध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया संगीता बुढाको अवस्था गम्भीर भएकाले हेलिकाेप्टरमार्फत उपचारका लागि काठमाडौं लगिएको छ ।