शक्तिशाली, सफल वा केही मानक विशेषअनुसार अत्यधिक ‘मर्दाना’ गुण देखिने महिला खेलाडी दुर्व्यवहारको तारो बन्ने जोखिममा हुन्छन्
गत साता पेरिस ओलम्पिकमा ६६ केजीमुनिको महिला बक्सिङको प्रारम्भिक खेलमा अल्जेरियाली इमेन खेलिफ र इटालियन एन्जेला कारिनीबीचका प्रतिस्पर्धामा खेलिफको शक्तिशाली मुक्काका कारण कारिनी ४६ सेकेन्डमै खेलबाट पछि हटिन् । कारिनीले ‘यो अन्याय हो’ भन्दै ‘मैले जीवनमै यति बलशाली मुक्का व्यहोरेकी थिइन्’ भनेकी थिइन् । लगत्तै विभिन्न पत्रकार र टिप्पणीकारले कारिनीको पक्षमा उभिँदै अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) को नीतिमाथि प्रश्न उठाउँदै खेलिफको लैंगिक पहिचानबारे गलत दाबी प्रस्तुत गरेका थिए ।
हानिकारक मिथ्या सूचना र व्यापक अनलाइन घृणाका सन्दर्भमा खेलिफबारे आधारभूत जानकारी हुनु महत्वपूर्ण छ । खेलिफ जन्मदेखि नै महिला हुन् र सम्पूर्ण जीवन एवं खेलकुद व्यवसायमा उनी महिला नै रहिन् । उनी ट्रान्सजेन्डर होइनन् अर्थात् उनले लिंग परिवर्तन गरेकी होइनन् । उनको राहदानीले महिला पहिचान जनाउँछ । अर्थात्, उनी आइओसीअनुसार योग्य छन् । खेलिफले आफ्नो प्रारम्भिक अन्तर्राष्ट्रिय खेलजीवनमा धेरै प्रतिस्पर्धामा पराजय व्यहोरेकी थिइन् । उनी सन् २०२१ मा ओलम्पिक्समा सहभागी भइन् । उनले केही अन्तर्राष्ट्रिय सफलता हासिल गरे पनि पेरिस ओलम्पिक्ससम्म उनलाई नौ मुक्केबाजले पराजित गरिसकेका छन् ।
सन् २०२३ मा अन्तर्राष्ट्रिय मुक्केबाज संघ (आइबिए) ले खेलिफ र ताइवानकी लिन यु–टिङको लैंगिक योग्यतामाथि प्रश्न उठाउँदै दुवैलाई प्रतियोगितामा अयोग्य ठहर्यायो । स्मरण रहोस्, लिन पनि पेरिस ओलम्पिक्समा सहभागी छिन् । आइबिएले टेस्टोस्टेरोनको स्तर बढेको दाबी गरे पनि विवरण दिन अस्वीकार गरेको थियो । यस निर्णयले विवाद जन्मायो र गोपनीयता एवं पारदर्शितालाई लिएर पनि चिन्ता व्यक्त गरिए ।
खेलिफ र लिनलाई अयोग्य घोषित गर्ने निर्णय आइबिएका महासचिव र प्रमुख कार्यकारी अधिकृतबाट आएको थियो र पछि आइबिएको बोर्डले निर्णयलाई अनुमोदन गरेको थियो । अनुमोदनलगत्तै माइन्युटमा ‘लैंगिक परीक्षणका लागि स्पष्ट प्रक्रिया स्थापित’ गर्ने जनाइयो । यस किसिमको खेलाडीको लैंगिकता/यौनिकता परीक्षण विवादास्पद र नैतिक रूपमा गलत छ ।
सन् १९६८ देखि महिला खेलाडीले प्रतियोगिताका लागि आफ्नो लैंगिकता प्रमाणित गर्न अपमानजनक परीक्षण झेलिरहेका छन् । आइओसीले महिलाको भेषमा पुरुषले प्रतिस्पर्धा गर्न सक्ने भएकाले यी परीक्षणलाई अनिवार्य बनाएको थियो । शारीरिक परीक्षणबाहेक खेलाडीको लैंगिक योग्यता निर्धारण गर्न रगत र आनुवंशिक परीक्षण पनि थालियो । यद्यपि विभिन्न वैज्ञानिक अनुसन्धानले टेस्टोस्टेरोन र खेलाडीको प्रदर्शनबीच बलियो सम्बन्ध नरहेको देखाएको थियो र लैंगिकता परीक्षणका लागि सूक्ष्म उपाय अपनाउनुपर्ने उजागर गरेको थियो । आलोचनापछि आइओसीले सन् १९९९ मा यस्ता अभ्यासको अन्त्य गर्यो । आइओसीले गोपनीयता, समावेशीकरण र सहभागितामा केन्द्रित दिशानिर्देश निर्माण गर्दै पुराना लैंगिक परीक्षण विधिलाई प्रतिस्थापन गरेको थियो । यद्यपि, यी दिशानिर्देश विवादास्पद छन् र ‘वल्र्ड एथलेटिक्स’जस्ता केही खेल संगठनले अझै पनि टेस्टोस्टेरोन हर्मोन परीक्षण लागू गर्छन् ।
पेरिस ओलम्पिक्समा बक्सिङलाई आइबिएले नभई आइओसीले नियुक्त गरेको विशेष एकाइले गर्छ । आइओसीले सन् २०१९ मा प्रशासन, वित्तीय पारदर्शिता र अधिकारीको व्यावसायिक निष्ठासम्बद्ध समस्याका कारण आइबिएलाई बक्सिङ खेलको सर्वोच्च निकाय नरहने गरी निलम्बन गरेको थियो । त्यसैगरी आइबिएले युक्रेन युद्धका कारण रुसी खेलाडीमाथि प्रतिबन्ध जारी राख्ने आइओसीको निर्णय पछ्याउन अस्वीकार गरेको थियो । आइबिएमा रुसी नेतृत्व भएका कारण यो मामिलामा भूराजनीतिक जटिलता पनि मौजुद थिए ।
मिडिया एवं सामाजिक सञ्जालमा व्याप्त चासोपछि पेरिस २०२४ बक्सिङ खेल एकाइले खेलिफसहित सबै खेलाडीले योग्यता आवश्यकता पूरा गरेको जनाएको थियो । यता आइबिएले भने खेलपछि कारिनीलाई ओलम्पिक्स च्याम्पियनलाई दिइनेबराबरको पुरस्कार राशी (एक लाख डलर) भुक्तानीको प्रस्ताव गरेको थियो । मुक्केबाजीमा भएको विवादपछि कारिनीले आफ्नो व्यवहारका लागि खेलिफसँग माफी माग्दै अर्कोपटक खेल भए प्रतिस्पर्धा स्विकार्ने जनाएकी थिइन् । समसामयिक सन्दर्भमा धेरै शक्तिशाली, सफल वा केही मानक विशेषअनुसार अत्यधिक ‘मर्दाना’ गुण देखिने धेरै महिला खेलाडी दुर्व्यवहारको तारो बन्ने जोखिममा हुन्छन् । यसबाहेक प्रायः गैरश्वेत खेलाडीले नै लैंगिक परीक्षणको सामना गर्छन् । मौजुदा परीक्षणमाथि उठेको नैतिक सवालका अतिरिक्त खेलिफ र लिनजस्ता महिला खेलाडीमाथि भइरहेको अनलाइन दुर्व्यवहारको पराकाष्ठाले महिलाको शरीरलाई पहरेदारी र नियमन गर्ने नयाँ उपायको उजागर गर्छ ।
यस्ता आरोप र लाञ्छनाबाट बच्न धेरै महिला खेलाडीले समाज वैज्ञानिकले भन्ने गरेको ‘जोड दिइएको नारीत्व’ स्विकार्न अर्थात् लामो आँखीभौँ, गहना, मेकअप, रंगाइएका नङ र स्पष्ट रूपमा स्त्रीले लगाउने भनिएका लुगा लगाउन बाध्य हुन्छन् । यसका पछाडि खेल प्रदर्शनी नभई दर्शक र आलोचकलाई आफ्नो नारीत्वको आश्वासन दिनु हो । यदि महिला खेलाडी परम्परागत लैंगिक भूमिकाअनुरूप भएनन् भने यी खेलाडी निगरानी, सार्वजनिक आक्रमण र अनलाइन उत्पीडनको सामना गर्न सक्छन् ।
हालैको यो विवादले महिला खेलकुदमा हुने संरचनागत दुर्व्यवहारलाई सम्बोधन गर्नेजस्ता थप महत्वपूर्ण मुद्दालाई ओझेलमा पार्न सक्छ । पेरिस ओलम्पिक्स र प्यारालिम्पिक्समा भएको ५० प्रतिशत महिला सहभागितालाई ‘लैंगिक रूपमा समतापूर्ण’ खेल मान्न सकिए पनि खेलिफ र लिनले सामना गरेको दुर्व्यवहारले खेलकुदमा अझै महिलाले चुनौती सामना गर्नुपरेको तथ्यलाई उजागर गरेको छ ।
(थोर्प वाइकातो विश्वविद्यालयकी खेलकुद एवं लैंगिक समाजशास्त्रकी प्राध्यापक हुन् भने स्टोर स्विनबर्न युनिभर्सिटी अफ टेक्नोलोजीका शोधार्थी हुन्)
द कन्भर्सेसनबाट