सांसद सिंहले आँखा अस्पताललाई दिए एक वर्षको तलब

बुधबार, २३ साउन, २०८१
डिजिटल संस्करण

प्रतिनिधिसभाका सांसद एवं पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले हेटौँडा सामुदायिक आँखा अस्पताललाई नौ लाख ९९ हजार ९९९ रुपैयाँ हस्तान्तरण गरेका छन् ।

मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद सिंहले मंगलबार आफ्नो एक वर्षको तलबमा तीन लाख ८७ हजार रुपैयाँ थप गरेर अस्पताललाई नौ लाख ९९ हजार ९९९ रुपैयाँ हस्तान्तरण गरेका हुन् । सांसद सिंहले उक्त सहयोग रकमको चेक तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डाक्टर सन्दुक रुइत र अस्पतालका संरक्षक सिद्धिलाल श्रेष्ठलाई हस्तान्तरण गरे ।

सहयोग रकम हस्तान्तरण गर्दै सांसद सिंहले आफूले चुनावमा जनतामाझ गरेकाे वाचाको रूपमा पहिलो वर्षको तलब जनताका लागि हेटौँडा सामुदायिक आँखा अस्पतालमार्फत उपलब्ध गराउने घोषणा पूरा गरेको बताए । उनले अस्पतालले मकवानपुरमा मात्र नभई मकवानपुरको छिमेकी जिल्लाहरूमा समेत सेवा प्रदान गरिरहेकाले आफूले यो सहयोग गरेको स्पष्ट पारे ।

सहयोग रकमको चेक बुझ्दै तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डा. रुइतले सांसद सिंहको सहयोगले आर्थिक अवस्था कमजोर भएका जनताले सेवा पाउने विश्वास दिलाए ।
 

सुझावित समाचार