बुटवलमा गुणस्तरहीन दुध बिक्री भइरहेकाे फेला

१० वटा नमुना संकलन गरी परीक्षण गर्दा पानी मिसाएर वा फ्याट झिकेको तथ्य फेला

सोमबार, २१ साउन, २०८१
डिजिटल संस्करण

रुपन्देहीको बुटवलमा गुणस्तरहीन दुध बिक्री हुने गरेको पाइएको छ । व्यवसायीले दुधमा अत्यधिक मात्रामा पानी मिसाएर बेच्ने गरेको तथ्य फेला परेको छ । बुटवल उपमहानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्राविधिक टोली र उपभोक्ता हित संरक्षण मञ्चको उपस्थितिमा गरेको अनुगमनमा अत्यधिक मात्रामा पानी मिसाएर वा फ्याट झिकेर दुध बेच्ने गरेको पाइएको हो । 

अनुगमन टोलीले बुटवलमा दुध सप्लायर्स गर्ने उद्योग, दुध वितरण गर्ने सहकारी र डेरीका १० वटा नमुना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको प्रयोगशालामा परीक्षण गरेको थियो । १० वटै नमुना प्रयोगशालामा परीक्षण गर्दा नतिजा फेल आएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षक दीपककुमार यादवले बताए । जाँच गरेका नमुनामा दुधबाट फ्याटको मात्रा झिकिएको वा पानी मिसाएर बेच्ने गरेको पाइएको छ ।

सरकारले भैँसीको दुधमा न्यूनतम फ्याट ५ प्रतिशत, एसएनएफ ८, गाईको दुधमा ३.५ प्रतिशत फ्याट, एसएनएफ ७ र मिक्स दुधमा ३.५ प्रतिशत फ्याट एसएनएफको मात्रा ८ प्रतिशत तोकेको छ । तर, बुटवलको बजारमा १.८ प्रतिशत फ्याट भएको दुध बिक्री–वितरण हुने गरेको पाइएको छ । दुधको गुणस्तरमा कमी आएको गुनासो आउन थालेपछि बुटवल उपमहानगरपालिकाले पछिल्लो समय डेरीको अनुगमनलाई तीव्रता दिएको छ । बुटवलमा बिक्री–वितरण हुने दुधको अवस्थाका विषयमा पहिले डेरी व्यवसायलाई सचेत गराउँदै अनुगमन गर्ने र मापदण्डभन्दा विपरीत पाइए तत्काल कारबाही गर्ने उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले जानकारी दिइन् । व्यवसायी र उपभोक्तालाई सचेत गराउन अहिले माइकिङ गरिएको र अनुगमनका क्रममा मापदण्डभन्दा विपरीत दुध बेचेको पाइए तत्काल कारबाही गरिने उनले बताइन् । उपमहानगरपालिकाले मापदण्डभन्दा विपरीत दुध बेच्नेलाई १० हजार रुपैयाँसम्म जरिवाना लिन सक्ने व्यवस्था रहेको अर्यालले जानकारी दिइन् ।
 

सुझावित समाचार