मलेसियामा अलपत्र नेपाली कामदारको तत्काल उद्धार गर : मधेशी आयोग

सोमबार, २१ साउन, २०८१
डिजिटल संस्करण

मलेसियामा अलपत्र १५ नेपाली कामदारको तत्काल उद्धार गरी  स्वदेश ल्याउन मधेशी आयोगले सरकारसँग आग्रह गरेको छ। 

आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले नयाँ पत्रिकामा समाचार पढेर घटनाबारे थाहा पाएपछि उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएको बताए।

‘मलेसियामा अलपत्र नेपाली श्रमिकको उद्धार गर्न हामीले सरकारको ध्यानाकर्षण गराइसकेका छौँ । सोमबार बिहान समाचार पढेर तत्कालै आयोगबाट अलपत्र कामदारको तत्काल उद्धार गरी क्षतिपूर्ति दिलाएर म्यानपावर कम्पनीलाई कारबाही गर्न  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पत्र पठाएका छौँ,’ उनले भने।

‘१५ नेपाली कामदार दुई महिनादेखि मलेसियामा अलपत्र’ शीर्षकमा सोमबार नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित भएको थियो। काठमाडौंको जेपी ओभरसिजमार्फत १५ जेठमा मलेसिया पुगेका सप्तरी, सिराहा र बाराका ती कामदार काम नपाएपछि दुई महिनादेखि अलपत्र छन्।

काठमाडौंको जेपी ओभरसिजले मासिक ६१ हजार नेपाली रुपैयाँ पारिश्रमिक पाउने आश्वासन दिँदै तीनदेखि चार लाखका दरले असुलेर उनीहरूलाई उडाएको थियो।

सुझावित समाचार