बौद्धिक अपांगता भएकी २१ वर्षीया युवती बलात्कृत, गर्भवती भएपछि घटना सार्वजनिक

युवतीलाई तीन व्यक्तिले फरक–फरक मितिमा बलात्कार गरेको प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको छ

शुक्रबार, १८ साउन, २०८१
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार बलात्कार आरोपमा प्रहरीले ५१ वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । उनै युवती बलात्कार आरोपमा ६३ र ८६ वर्षका थप दुई वृद्ध पनि पक्राउ परेका छन् ।

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका– ९ स्थित मोलुङ खोलाकिनारमा धारिलो हतियार प्रहारपछि गम्भीर घाइते अवस्थामा एक अधबैँसे पुरुष फेला परे । प्रहरीले अनुसन्धान गरेपछि पोल खुल्यो । उनले त बलात्कार घटना अन्तै मोड्ने उद्देश्यले आफैँलाई हतियार प्रहार गरी घाइते बनाएका रहेछन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार बौद्धिक अपांगता भएकी २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ५१ वर्षीय ती पुरुषलाई नियन्त्रणमा लिएको छ । उनै युवती बलात्कार आरोपमा ६३ र ८६ वर्षका थप दुई वृद्ध पनि पक्राउ परेका छन् ।

ओखलढुंगा प्रहरी प्रवक्ता इन्स्पेक्टर विजय कार्कीले भने, ‘बौद्धिक अपांगता भएकी एक युवतीलाई तीन व्यक्तिले फरक–फरक मितिमा बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हाल पीडित गर्भवतीसमेत भएको देखिएको छ । एक आरोपीले घटना अन्तै मोड्ने उद्देश्यले आफैँलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन् ।’

युवती गर्भवती भएको खुलेपछि परिवार तथा आफन्त सोधखोजमा जुटेका थिए । युवतीले एक पुरुषको नाम पोल्दै आफू बलात्कारमा परेको सुनाइन् । पीडित पक्षले ५१ वर्षीय ती व्यक्तिमाथि केरकार गरे । उनले घटना स्विकारे । पीडित परिवार, आफन्तसहितको भेलाले गर्भपतन गराउने निर्णय लियो । त्यसमा लाग्ने खर्च पीडकले व्यहोर्ने सहमति जुट्यो । 

गर्भपतन गराउन ६ असारमा युवतीलाई काठमाडौं पठाइयो । तर, अस्पतालले गर्भपतन गर्नुअघि प्रहरीको सहमति लिनुपर्ने बतायो । यस्तो सूचना आएपछि गाउँमै रहेका आरोपी तनावमा परे । प्रहरीसम्म नजान पीडित पक्षलाई दबाब दिन थाले । तर, अस्पतालले प्रहरीको सहमतिविना गर्भपतन नगराउने अडान लिएपछि अन्ततः प्रहरीसँग सहमति लिएरै गर्भपतन गराइयो । बलात्कारको घटनामा प्रहरीको सहमति लिएर मात्रै अस्पतालले गर्भपतन गराइदिन सक्छ । 

उता घटना गाउँभर फैलिने भयले पीडक पुरुषलाई सतायो । उनले घटना विषयान्तर गर्ने जुक्ति लगाए । घरमै भएको धारिलो चक्कु बोकेर ६ साउनको साँझपख बाहिर निस्किए । राति करिब ११:३० बजे जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा फोन गरेर भने, ‘मानेभञ्ज्याङ गाउँपालिका– ९, मोलुङ खोलास्थित झोलुंगे पुलमा नकावधारी तीन अपरिचितले अधबैँसेलाई अपहरण गरे । धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाए । भएको रकम लुटपाट गरेर घाइतेलाई झोलुंगे पुलबाट खोलाको किनारमा फालिदिए ।’

सूचना गम्भीर प्रकृतिको थियो । प्रहरी झस्कियो । प्राप्त सूचना तत्काल जिप्रका ओखलढुंगाका प्रमुख डिएसपी कृष्ण खड्काकहाँ पुग्यो । उनले तुरुन्तै घटनास्थलमा स्थानीय प्रहरी टोली परिचालन गरे । थप अनुसन्धानका लागि जिल्लाबाट पनि इन्स्पेक्टर विजय कार्कीसहितको टोली पठाए । सूचना आएअनुसार एक अधबैँसे घाइते अवस्थामा फेला परे । उनलाई स्थानीय हेल्थ पोस्ट लगियो । उपचार हुन नसकेपछि काठमाडौंस्थित ट्रमा सेन्टरमा पठाइयो । 

घाँटी, हात, खुट्टा, छाती र भुँडीमा धारिलो हतियारको गम्भीर चोट लागेका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको थियो । त्यही वेला उनकै गाउँकी युवतीको काठमाडौंमा गर्भपतन भएको सूचना डिएसपी खड्काले पाए । दुई फरक घटनाबीच आपसी सम्बन्ध हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धानको सुई घुमायो । उपचारपछि तंग्रिएका अधबैँसेसँग प्रहरीले सोधपुछ गर्यो, युवतीलाई पनि भेटेर जानकारी दियो । छोटो अनुसन्धानमै प्रहरीले दुई घटना सम्बन्धित रहेको पहिल्यायो ।

इन्स्पेक्टर कार्कीले भने, ‘प्रहरीको सहमतिपछि युवतीको गर्भपतन भएपछि घटना सार्वजनिक हुने डरले त्यसलाई विषयान्तर गर्न उसले अपहरण र लुटपाटको काल्पनिक कथा रचेर प्रहरीलाई फोन गरेको रहेछ । त्यसपछि चक्कुले आफैँमाथि प्रहार गरी झोलंगे पुलबाट हामफालेको रहेछ । अनुसन्धानमा यी सबै विवरण उसले स्विकारेको छ ।’ 

प्रहरीले यो घटनाको अनुसन्धानको दायरा अझै फराकिलो बनायो । युवतीसँग थप सोधपुछ गर्यो । स्थानीयसँग बयान लियो । अनुसन्धानपछि प्रहरीले बलात्कार आरोपमा गाउँकै ८६ वर्षीय र ६३ वर्षीय दुई वृद्धलाई पनि पक्राउ गरेको छ । प्रहरीका अनुसार गर्भपतन गरिएको नवजात शिशुको डिएनए परीक्षण हुन बाँकी छ । गर्भ कसको हो भन्ने त्यसपछि मात्रै खुल्ने प्रहरीले जनायो । 
 

सुझावित समाचार