बुधबार बिहान बागमती, विष्णुमती, कर्मनासा र हनुमन्ते नदी करिडोरमा बाढी पसेपछि दर्जनौँ घर डुबानमा,स्थानीयको घरभित्र हिलो र लेदो, नदीआसपासका अधिकांश करिडोर हिलाम्य
बल्खुस्थित बागमती खोलानजिकै टहरामा बस्दै आइरहेकी न्याउनीमाया तामाङलाई झरीले निदाउनै दिएन । खोलाको बहाव बढ्दै जाने डरमा निदाउनै सकिनन् । हेर्दाहेर्दै उनको टहरामा बिहानपख बाढी नै पस्यो । बुधबार बिहान करिब ४ बजेतिर एकाएक कोठामा लेदोसहितको पानी छिर्न थालेपछि उनी अत्तालिइन् । निद्रामा रहेका दुई सन्तान र श्रीमान्लाई ब्युँझाइन् । बाढीले बगाउने डरमा उनीहरू बल्खु पुलनजिककैको मुख्य सडकमा निस्किए ।
तर, उता कोठाभित्र बाढी पस्यो । भएभरको सबै सामान बाढीले डुबायो । ‘पानी एकनासले आइरहेको थियो, बिहानपख झन् ठूलो पानी पर्यो, घरभित्र रहेका सबै सामान डुबायो,’ उनले सुनाइन्, ‘म अनिदो नबसेको भए छोराछोरी र मलाई पनि डुबाउने रहेछ ।’
बाढी कम भएपछि र घाम लागेपछि उनले घरभित्रका सामान बाहिर निकालेर सुकाइन् । तर, कोठामा रहेको खाद्यान्न बाढीले भिजाएको थियो । यस क्षेत्रमा रहेको अन्य घरटहरामा पनि बाढी पसेको थियो । हिलोसहितको पानी घरघरमा छिरेपछि स्थानीयमा तनाव उत्पन्न भयो ।
बल्खु क्षेत्रको बागमती करिडोर क्षेत्रमै किराना पसल चलाउँदै आएका एकान्तकुनाका हरिकृष्ण महर्जन पनि बाढीपीडित हुन पुगे । पसलका सामानभरि हिलो र लेदो पस्यो । बुधबार बिहान ५ः३० मा पसल खोल्न पुगेका उनी पसलको दृश्य देख्दा अचम्मित भए । ‘बिहान आउँदा पसलभित्र पूरै बाढी पसेको थियो । बिहानभरि सफा गरेर पनि भ्याइएन,’ उनले सुनाए, ‘पसलअगाडि सडकभरि हिलो र लेदो भरिएर कोठामा पनि पसेछ ।’
बुधबार बिहान बागमती करिडोरको बल्खु क्षेत्रमा पुग्दा कोही कोठाभित्र छिरेको हिलो सोहोर्दै थिए । कोही भिजेका सामान घाममा सुकाउँदै थिए । घरभित्र हिलोसहितको पानी छिरेपछि सबै सरसामान हिलाम्मै थिए । ‘यी सामान अब काम नलाग्ने गरी बिग्रिए,’ बल्खुस्थित बागमती करिडोर क्षेत्रमा बस्दै आएका मिलन तामाङले भने, ‘खोलामा पानी थुनिएपछि करिडोर सडकमा भरिँदै बस्तीमा पसेको हो ।’
तामाङलाई मात्रै होइन, बुधबार बिहान बागमती, विष्णुमती, कर्मनासा, हनुमन्ते नदी करिडोरमा बस्नेलाई खोलाले अत्यायो । पक्की घरभित्र समेत बाढी पसेको थियो । भित्री गल्लीमा हिलैहिलो थियो । कालोपत्रे करिडोर सडकमा पनि हिलो भरिभराउ थियो । बाढीले कसैको व्यापार–व्यवसाय चौपट बनायो भने कसैको बिस्तारा र खानेकुरा डुबाइदियो ।
बुधबार उपत्यकाका अधिकांश खोलामा पानीले सतह नाघेको थियो । करिडोर सडक जलमग्न थिए भने ठाउँठाउँमा बाढी पसेर हिलैहिलो पारेको थियो । बाढीका कारण कुलेश्वर, बल्खु तरकारी बजार, त्रिपुरेश्वर करिडोर, रुद्रमती करिडोर, युएनपार्क करिडोर, च्यासल फुटबल ग्राउन्ड, एमाले पार्टी कार्यालयलगायत च्यासल क्षेत्र डुबानमा परेका थिए । कीर्तिपुर क्षेत्र पनि पानी निकास नहुँदा डुबान परेको थियो । ललितपुरको बाँडेगाउँ, चाँगाथली, हात्तीवन क्षेत्र पनि डुबानमा परेको थियो । हनुमन्तेलगायत सहायक खोलामा बाढी आउँदा भक्तपुरको बालकोट, दधिकोट, सल्लाघारीलगायत क्षेत्रमा डुबान भएको थियो ।
बाढीका कारण खोलाको हिलो र लेदो करिडोर सडकमा मिसिएपछि उपत्यकाका अधिकांश करिडोर हिलाम्य र धुलाम्य बनेका छन् । बागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते, कर्मनासालगायत क्षेत्रको करिडोर हिलाम्य र धुलाम्य बनेको हो । थालाथलीदेखि बल्खुसम्म बागमती करिडोरको अधिकांश ठाउँमा हिलो र लेदो थुप्रिएको थियो । हिलोका कारण सडक नै अवरोध भएपछि काठमाडौं, ललितपुर र महानगरले डोजर नै चलाएर हिलो सोहोरेका थिए । हिलो सुक्दै गएपछि करिडोर सडक धुलाम्य बनेका छन् ।
काठमाडौंको बल्खुस्थित कृषि तथा तरकारी बजारमा बुधबार बिहान २ बजे दैनिक उपभोगका लागि तरकारी तथा फलफूल झरिसकेका थिए । त्यही वेला बागमती उर्लेर आयो । हेर्दाहेर्दै ‘स्टल’मा राखिएका तरकारी खोलामा बगे । कृषि तथा तरकारी बजारका सञ्चालक मोहनकुमार बस्नेतले भने, ‘दैनिक उपभोगका लागि प्रत्येक दिनको बिहान १ देखि २ बजे तरकारी झर्छ । बुधबार बिहान पनि सबै ठाउँबाट तरकारी झरिसकेको थियो । त्यही वेला बागमतीमा भीषण बाढी आएर स्टलमा राख्न तयार सबै तरकारी बगायो ।’ उनका अनुसार बुधबार नदीको सतहभन्दा ६ फिट माथिसम्म बागमती उर्लेर आएको थियो । बाढीले बजारमा रहेका ४२५ स्टल क्षणभरमै बगायो ।
बल्खुस्थित तरकारी बजारमा बेच्नलाई राखिएका ताजा तरकारीसहितका गोदामका लेदो र हिलो भरियो । ‘बाढीले सबै तरकारी डुबायो, झन्डै दुई लाखभन्दा बढीको तरकारीमा क्षति पुग्यो,’ तरकारी बजारमा भेटिएका मोतीराम तिमल्सिनाले भने, ‘बेलुकी ल्याएर बेच्न ढाकेर छाडेको बिहान आउँदा हिलाम्य थियो ।’
उपत्यकाका खोला करिडोर सडक हिलाम्य
बाढीले हिलो र लेदोले बगाएर ल्याएपछि उपत्यकाका अधिकांश करिडोर हिलाम्य र धुलाम्य बनेका छन् । बागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते, कर्मनासालगायत क्षेत्रको करिडोर हिलाम्य र धुलाम्य बनेको हो । थापाथलीदेखि बल्खुसम्म बागमती करिडोरको अधिकांश ठाउँमा हिलो र लेदो थुप्रिएको छ । हिलोका कारण सडक नै अवरोध भएपछि काठमाडौं र ललितपुर महानगरपालिकाले डोजर चलाएर हिलो सोहोरेका थिए । हिलो सुक्दै गएपछि करिडोर सडक धुलाम्यसमेत बनेका छन् ।
काठमाडौं महानगरपालिका नगर प्रहरीका अनुसार कीर्तिपुर क्षेत्रका आठभन्दा बढी घर डुबानमा परे । यस क्षेत्रबाट नगर प्रहरीले चारजनालाई उद्धार गरेको थियो । काठमाडौं महानगरपालिका– ११ स्थित विश्वनिकेतन स्कुलपछाडि २० वटा घर डुबानमा परे । यस क्षेत्रमा दमकल र नगर प्रहरीले १० भन्दा बढीको उद्धार गरेको थियो । टेकु क्षेत्रमा १२ वटा घर डुबानमा परे । नगर प्रहरी र नेपाल प्रहरीले जाम भएको पानीको निकास गरेका थिए । कपनस्थित चकुन्चा खोला क्षेत्रमा पनि केही घर डुबानमा परेको महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । अनामनगर, सेतोपुल, कालोपुल, युएनपार्क, बल्खु तरकारी बजार, वनस्थली ढुंगेधारालगायत क्षेत्रमा घर डुबानमा परेका थिए ।
ललितपुर महानगर क्षेत्रका १० भन्दा बढी स्थान डुबानमा परेका छन् । नगर प्रहरीको टोल फ्री नम्बर तथा एलएमसी अलर्टमा घण्टी बज्न थालेपछि राति १२ बजेदेखि नै नगर प्रहरी डुबान क्षेत्रमा खटिएको थियो । महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथूका अनुसार धापाखेलमा तीनवटा घर, वडा नम्बर १ को कार्यालय, च्यासलस्थित एमाले पार्टी कार्यालय, फुटबल मैदान, हात्तीवनलगायत क्षेत्र डुबानमा परेको थियो । अविरल वर्षाका कारण मनोहरा नदीमा आएको बाढीले ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा लाखौँको क्षति पुर्याएको छ । बाढीले केन्द्रीय कार्यालय परिसरसहित भुइँतलाका सबै कोठा पूर्ण डुबान हुँदा सबै कक्षमा रहेका कुर्ची, टेबुल, कम्प्युटरसहित पुस्तकालयका पुस्तक भिजेर लाखौँको क्षति भएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए ।
उपत्यकामा छोटो समयमै धेरै वर्षा
मंगलबार राति छोटो समयमै धेरै वर्षा हुँदा बागमतीसहितका नदी, खोलामा बाढी आएको हो । पछिल्ला दिनमा राति हरेक दिन वर्षा हुँदा नदीमा टनाटन पानी रहेका वेला मंगलबार राति उपत्यकाभर नै भीषण वर्षा भएको थियो । जसकारण थोरै समयको वर्षाले पनि काठमाडौंमा बाढी र डुबान भएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुढानीलकण्ठ क्षेत्रमा ९०.४ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा ६२.६ मिलिमिटर वर्षा रेकर्ड भएको छ । ‘यो २४ घण्टाको रेकर्ड भए पनि मंगलबार राति धेरै वर्षा भएको थियो,’ मौसमविद् रोजन लामिछानेले भने, ‘काठमाडौंमा नियमित पानी परिरहेकै थियो । राति छोटो समयमा धेरै पानी पर्दा असर गर्यो ।’ राति ११ बजेदेखि बुधबार बिहान साढे ७ बजेसम्म वर्षा भएको थियो । त्यसमा पनि मध्यरातिदेखि २ बजेसम्म भीषण वर्षा भएको थियो ।
काठमाडौंमा एक र भोजपुरमा दुईजनाको मृत्यु
बुधबार बिहानको बाढीले बगाएर काठमाडौंमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ४५ वर्षीय रामस्वरूप महतो छन् । बल्खुस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका उनलाई बाढीले बल्खु पुलतर्फ बगाएर लगेको थियो । बिहान उनको मृत शरीर बल्खु किनारमा भेटिएको प्रहरी ले जनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेश मैनालीले भने, ‘बुधबारको भीषण बाढीले बाँकेका ४५ वर्षीय रामस्वरूप महतोलाई बगायो । उनी सुकुम्बासी बस्तीमै बस्दै आएका थिए । उनको शव बिहान बल्खु पुलको पिलरमा अड्किएको अवस्थामा फेला पर्यो ।’
यस्तै, अविरल वर्षासँगै भोजपुर साल्पासिलिछो गाउँपालिका– ४ स्थित इर्खुवा खोलामा आएको बाढीमा परी भोजपुरमा दुईजनाको मृत्यु भएको छ । मंगलबार मध्यरातिको बाढीले ७०–८० जना मजदुरमध्ये सुतिरहेका दुईजनाको ज्यान गएको हो । भोजपुरका प्रहरी प्रमुख डिएसपी युवराज तिमल्सिनाका अनुसार बाढीमा परी बेपत्ता भएका बर्दियाको बारबर्दिया गाउँपालिका– ३ घर भई निर्माणाधीन अपर इर्खुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुर २६ वर्षीय श्याम थारू र ३० वर्षीय रमेश थारूको शव बुधबार दिउँसो फेला परेको हो । रमेशको शव बगाएको स्थानदेखि २०–२२ किलोमिटर तल र श्यामको ५–६ किलोमिटर तल बगाएर पुर्याएको अवस्थामा फेला परेको उनले बताए ।
बाढीले निर्माणाधीन अपर इर्खुवा जलविद्युत्मा ठूलो क्षति पुर्याएको छ । मूल्यांकनको काम हुन सकेको छैन । इर्खुवा खोलाको बाढीले साल्पासिलिछो र षडानन्द नगरपालिका जोड्ने इर्खुवा खोलाको पक्की पुल र निर्माणाधीन पक्की पुल गरी दुईवटा पुलमा क्षति पुर्याएको छ । बाढीका कारण साल्पासिलिछो– ४ मा दुई घरपरिवार विस्थापित बनेका छन् ।