अलराउन्डर वरीयतामा सीताको पाँच स्थान सुधार

बिहिबार, १७ साउन, २०८१
डिजिटल संस्करण

आइसिसी टी–२० अलराउन्डर र ब्याटिङ वरीयतामा नेपालकी सीता रानामगरको पाँच स्थान सुधार

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बुधबार महिला टी–२० अलराउन्डर वरीयता सार्वजनिक गरेको छ । नयाँ अलराउन्डर वरीयतामा नेपालकी ओपनर सीता रानामगरले पाँच स्थान सुधार गरेकी छिन् । ८५ रेटिङ अंकका साथ उनी ५३औँ स्थानमा छिन् । अघिल्लोपटकको वरीयतामा सीता ५८औँ स्थानमा थिइन् । आइसिसीका अनुसार उनले अहिलेसम्म ५२ अन्तर्राष्ट्रिय विकेट लिएकी छिन् । यसक्रममा उनले १३ पटक मेडन ओभर फ्याँकेकी छिन् । 

फिल्डिङका क्रममा उनले १६ क्याच र सात खेलाडीलाई रनआउट पारेकी छिन् । टी–२० ब्याटिङमा उनले २०.७७ को औसतमा ९१४ रन बनाएकी छिन् । आइसिसी टी–२० अलराउन्डर वरीयतामा सीताभन्दा एक स्थानअगाडि पाकिस्तानका सादिया इक्बाल छिन् । सीताभन्दा एक स्थानमुनि बंगलादेशकी फहिमा खातुन रहेकी छिन् । 

आइसिसी महिला टी–२० बलिङ वरीयतामा नेपालका एक खेलाडी पनि शीर्ष सयभित्र पर्न सकेनन् । यसैगरी टी–२० टोली वरीयतामा नेपालको स्थान परिवर्तन भएको छ । नेपाल २१औँ स्थानमा छ । नेपालभन्दा अगाडि इन्डोनेसिया छ । नेपालभन्दा एक स्थानमुनि हङकङ रहेको छ । अस्ट्रेलिया शीर्ष स्थानमा छ । बेल्जियम सबैभन्दा पुछारमा छ । 

रुविनाले एक स्थान गुमाइन्
ओपनर सीताले वरीयतामा सुधार गर्दा पूर्वकप्तान रुविना क्षेत्रीले एक स्थान गुमाइन् । ताजा वरीयताअनुसार टी–२० अलराउन्डर वरीयतामा रुविना ४९औँ स्थानमा रहिन् । यसअघिको वरीयतामा उनी ४८औँ स्थानमा थिइन् । उनले एसिसी महिला एसिया कप टी–२० प्रतियोगितामा भारतविरुद्ध ९५ रेटिङ पाएकी छिन् । उनीभन्दा एक स्थान अगाडि न्युजिल्यान्डकी फान जोनास छिन् । अलराउन्डरतर्फ नेपालकी कप्तान इन्दु बर्माले एक स्थान सुधार गरेकी छिन् । उनी ६६औँ स्थानमा रहिन् । उनले तान्जानियाविरुद्धको खेलमा ७४ रेटिङ अंक पाइन् । 

टी–२० ब्याटिङमा दुई खेलाडी मात्र
टी–२० ब्याटिङ वरीयतामा नेपालका दुई महिला खेलाडी मात्र शीर्ष सयभित्र समावेश भएका छन् । यस विधामा पनि सीताले पाँच स्थान सुधार गरिन् । नयाँ वरीयताअनुसार उनी ७७औँ स्थानमा छिन् । अघिल्लोपटक उनी ८२औँ स्थानमा थिइन् । उनले युगान्डाविरुद्धको प्रतिस्पर्धामा ३९९ रेटिङ अंक बटुलेकी थिइन् । पूर्वकप्तान रुविनाले एक स्थान सुधार गरिन् । उनी ८५औँ स्थानमा रहेको आइसिसीले जनाएको छ । उनले कुवेतविरुद्ध ३१५ रेटिङ अंक पाइन् । 

See More On

सुझावित समाचार