धार्मिक राजनीतिको अस्त्र बन्दै कावड यात्रा

बुधबार, १६ साउन, २०८१
डिजिटल संस्करण

कावड यात्रा दबिएका–पिछडिएकाका लागि मन बहलाउने र यथास्थितिलाई चुनौती दिनबाट विमुख बनाउने पर्व बनेको छ 

कावड यात्रा एक जीवन्त समारोह हुने गथ्र्यो, जहाँ अधिकांश पुरुष धार्मिक गीत एवं भजन गाउँदै काँधमा गंगाजलको घडा बोकेर पैदलयात्रा गर्थे । यी कावडिया सयौँ किलोमिटर हिँड्दै मन्दिरको शिवलिंगमा गंगाजल अर्पण गर्थे । तर, समयसँगै यो दृश्य फेरिएको छ । दिनानुदिन धेरै मानिस ट्रक र पिकअप भ्यानमा गंगाजल ओसार्छन् र यी ट्रकमा प्रायः चर्को गीत घन्काइन्छन् । र, यी यात्री त्यस्ता अस्थायी शिविरमा विश्राम लिन्छन्, जहाँ निःशुल्क स्वादिष्ट भोजनको आनन्द लिन पाइन्छ । तीर्थयात्रा पार्टी गरेर स्वछन्द रूपमा रमाउने अवसर बनेको छ । कावड यात्रामा तीर्थयात्री हरेक वर्ष बढिरहेका छन् र यात्राको रमझम पनि बृहत् बन्दै गएको छ । 

ज्युरिख विश्वविद्यालयका मानवशास्त्री सतेन्द्र कुमारले सन् २००४–०५ र २०१५–१६ मा पश्चिम उत्तर प्रदेशमा कावड यात्राबारे शोध अध्ययन गरेका थिए । कतिपय शोधपत्रको अध्ययनपछि मैले उनीसँग यस विषयमा संवाद पनि गरेको थिएँ । मेरठको खानपुर गाउँमा कुमारले सन् १९५० र १९६० को दशकमा जन्मेका मानिससँग गरेको संवादमा उनीहरूले कावड यात्रालाई खासै महत्वपूर्ण उत्सव मानेको पाएनन् । सन् २००४–०५ मा पनि खानपुरका दुईजना मात्रै कावड यात्रामा सहभागी भएका थिए । 

कुमार कावड यात्राको प्रकृति र उद्देश्यमा निकै परिवर्तन भएको बताउँछन् । उनी खानपुरका रामचरण कश्यपको कथा सुनाउँछन्, जहाँ कश्यपले स्थानीय साधुको सल्लाहमा नातिको इच्छा पूरा गर्न यात्रा गरेका थिए । उनी एक्लै हरिद्वार गएका थिए र परिवारका अन्य सदस्यले घरमा विभिन्न अनुष्ठानको पालना गरेका थिए । कश्यप फर्किएपछि शान्त पारिवारिक समारोहमा शिव मन्दिरमा गंगाजल चढाइएको थियो । कुमार त्यसवेलाको यात्रालाई ‘लोक धार्मिकता’को संज्ञा दिन्छन् ।

एक दशकपछि खानपुरमा कुमारले अंकित, अखिलेश र रामनरेशलाई भेटे । अंकित र अखिलेश दलित थिए र रामनरेश ओबिसी थिए । अंकित र रामनरेश दुवैले तेस्रो प्रयासमा कक्षा १० उत्तीर्ण गरेका थिए । भगवान् शिवका यी भक्तले अखिलेशलाई राज्य प्रहरी बलमा भर्ती मिलोस् भनेर यात्रा गरेका थिए । बाटोमा यी यात्रीले अन्य तीन दलित समुदायका यात्री पनि भेटेका थिए, जो विद्यालयको परीक्षामा उत्तीर्ण हुन पाऊँ भनेर कावड यात्रा गरिरहेका थिए ।

सो यात्रा एक उल्लेखनीय अनुभव थियो, जहाँ आममानिसले सहभागीलाई राजकीयस्तरको व्यवहार गरिरहेका थिए । मुजफ्फरनगरको पुर्काजीमा एक दाह्रीधारी मुसलमान मोटरसाइकल चालकले गल्तीले यात्रीलाई ठक्कर दिएपछि आक्रोशित भिड चालकमाथि खनिएका थिए । त्यसपछि यात्रीको भिडले भोजनालयमा आगजनी र बसमा तोडफोड गरेको थियो । कुमारले त्यसवेला यसो किन गरेको भनेर प्रश्न गर्दा अंकितले आफ्नो हिंस्रक प्रतिक्रियालाई भगवान् शिवको ताण्डव अर्थात् विनाशको नृत्यसँग तुलना गरेका थिए ।

खानपुरका यी तीन कावड यात्रीले प्रायः ग्रामीण भारतका तल्लो जात वा तल्लो वर्गका युवाको प्रतिनिधित्व गर्छन् । यी युवा कृषि र रोजगारीका मुद्दासँग संघर्ष गरिरहेका छन् । आर्थिक उदारीकरण र सन् १९९०–९१ मा ओबिसी आरक्षणले यी युवाको आकांक्षालाई बढायो, तर असफल शिक्षा प्रणालीले यिनलाई सहरी क्षेत्रको न्यून ज्यालादारी रोजगारीमा मात्रै सीमित बनायो ।

परिवार र नाता संरचना कमजोर भएपछि जीवनको अनिश्चितताको सामना गर्न धार्मिकताको एक नयाँ रूप यी युवाले फेला पारेका छन् । सन् १९९० को दशकबाट कावड यात्राको रूपान्तरण भयो र यो रूपान्तरणलाई राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) र यसका आबद्ध संस्थाले सम्भव बनाएका थिए । आरएसएस र सम्बद्ध संस्थाले भव्य भोजन र मनोरञ्जन प्रदान गर्ने विभिन्न शिविरको स्थापना गरे, जहाँ कावड यात्राको लोक परम्परालाई शास्त्रीय हिन्दू धर्मसँग जोडियो । 

समाजवादी पार्टीका नेता सुधीर पवारले सन् २०१९ को एक लेखमा सन् २०१४ मा नरेन्द्र मोदी र सन् २०१७ मा आदित्यनाथको उदयसँगै कावड यात्रामा थप विस्तार भएको उल्लेख गरेका थिए । तीर्थयात्रालाई एक आनन्दोत्सव बनाइयो, जहाँ तीर्थयात्रीलाई हेलिकोप्टर र सडकबाट गुलाबका फूल बर्साएर स्वागत गर्न थालियो । यसले यात्रीमाझ अत्यधिक आत्मसम्मानको भावना बढायो ।

यो आनन्दोत्सवमा मूलतः सबाल्टर्न (दबिएका–पिछडिएका) जाति–वर्गका युवा सहभागी हुने गर्छन्, जसको पहिचान एउटै बनेको हुन्छ अर्थात् यिनलाई १६ दिने कावड यात्रामा भोले शब्दले सम्बोधन गरिन्छ । यो अभ्यासले यात्रीको वर्गीय अवस्थिति लुकाउँछ र झूटो समानताको भावना प्रदान गर्छ । त्यसमाथि यी यात्रीलाई लिएर धनाढ्य उच्च जातका मानिस विशेषतः बनिया र राज्यसमेतले उत्सव नै मनाउने गर्छ ,त्यसकारण पनि झुटो समानताको भावना सशक्त बन्छ । पवारसँग मैले संवाद गर्दा ‘जब बहुजन यात्रामा सहभागी हुन्छन्, तब सम्भ्रान्तका सन्तान प्रतिस्पर्धात्मक परीक्षाको तयारीमा केन्द्रित हुन्छन्’ भन्दै व्यंग्यात्मक टिप्पणी गरेका थिए ।
यो यात्रा सबाल्टर्नका लागि दुःखबाट मन बहलाउने र यथास्थितिलाई चुनौती दिनबाट विमुख बनाउने १६ दिने पर्व बन्न पुगेको छ । यसक्रममा यात्री हिन्दुत्व राजनीतिसँग घुलमिल हुन पुग्छन् । उल्लेखनीय के छ भने यसपालि धार्मिक ध्रुवीकरणको स्पष्ट प्रयास गरियो, अर्थात् कावड यात्राका क्रममा भोजनालयले मालिक र कारिगरको नाम प्रदर्शन गर्नुपर्ने विवादास्पद आदेश दियो । यो आदेश पहिलोपटक हिन्दुत्वको प्रयोगशाला भनेर चिनिने मुजफ्फरनगरमा जारी गरिएको थियो, जहाँ भारतीय जनता पार्टीले हालै लोकसभा चुनावमा पराजय व्यहोरेको थियो ।

(अस्रफ वरिष्ठ पत्रकार एवं भिमा कोरेगाँओ : च्यालेन्जिङ कास्टका लेखक हुन्) 
मिड–डेबाट

सुझावित समाचार