महिला अधिकार : आकर्षक कानुन, फितलो कार्यान्वयन

बुधबार, १६ साउन, २०८१
डिजिटल संस्करण

महिला घरमा पुरुषको सहयोगी र बाहिर ‘उप’कै पदमा रहिरहँदासम्म हाम्रो देशको विकास सम्भव छैन

नेपालका सबैखाले राजनीतिक परिवर्तनमा महिलाको योगदान सधैँ उच्च रहँदै आएको छ । वर्तमान राज्य व्यवस्था ल्याउन पनि महिलाले आफ्नो रगत र पसिनाको खोलो बगाएका थिए, आफ्नो सर्वस्व गुमाएका थिए । यसरी ल्याएको राज्य व्यवस्थाअन्तर्गत देशैभरि रहेका ७५३ स्थानीय तहमध्ये नेतृत्व गर्ने प्रमुख तथा अध्यक्ष पदमा जम्मा २५ जना मात्र महिलाको उपस्थिति छ । उपप्रमुख तथा उपाध्यक्ष पदमा भने ५६८ महिला रहेका देखिन्छन् । यो तथ्यांकलाई सरसर्ती हेर्दा संविधानमै सुनिश्चित गरिएको गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखमध्ये एकजना महिला हुनैपर्ने प्रावधानका कारण मात्र महिलाले ७५३ मध्ये ५६८ स्थानमा ‘उप’ पद पाएका हुन् भन्ने स्पष्ट देखिन्छ । यस प्रावधानबाट महिलाको प्रतिनिधित्व सुनिश्चित भई राजनीतिक पदमा तिनलाई पुर्याएको भए पनि प्राप्त पदीय शक्तिको सदुपयोग राम्रोसँग गर्ने अवस्था भने कमै छ । यसको मुख्य कारण महिला र पुरुषमा जन्मदेखि मृत्युसम्म गरिने पक्षपातपूर्ण सामाजिक व्यवहार नै हो । 

आमाको कोखबाट बच्चा जन्मँदा छोरा होस् वा छोरी, दुवै समान हुन्छन् । छोरा जन्मँदै देश हाँक्न सक्ने र छोरी जन्मँदै घर व्यवहार सम्हालेर बस्ने भएर पक्कै जन्मँदैनन् । हुर्कंदै जाँदा मूलतः उनीहरूले पाउने शिक्षा, पालनपोषण र दिइएको सामाजिक वातावरण र दायित्वले उनीहरूको सोच, विचार र व्यवहारमा असर पार्दै जान्छ । यस विषयमा रुसोले भने झैँ ‘मानिस जन्मँदा स्वतन्त्र जन्मन्छ, तर पछि साङ्लोमा बाँधिन्छ ।’ अर्थात् महिलालाई जन्मेको घर र हुर्केको समाजबाटै विद्यमान नियम–कानुनको बलमा साङ्लोमा बाँध्ने क्रम सुरु हुन्छ ।

वि.सं. २०६१ देखि २०६५ सम्म अस्ट्रेलिया बस्दा पंक्तिकारले देखेको कुरा के थियो भने अस्ट्रेलियन साथीहरूले बच्चा जन्माउँदा छोरा वा छोरीमा भेदभाव गरेको पटक्कै देखिएन । अर्काे कुरा उनीहरूको घरमा कुनै दिन खाना खान जाँदा श्रीमतीका तर्फबाट आएका पाहुना छन् भने श्रीमान् आएर पाहुनासँग गफ गर्ने श्रीमती भान्साकोठामा गएर खानपिनको व्यवस्था गर्ने र घरमा आएका पाहुना श्रीमान्का तर्फका छन् भने श्रीमती आएर पाहुनासँग गफिने श्रीमान्ले भान्सा सम्हाल्ने गरेको देखिन्थ्यो । तर, हाम्रो नेपाली समाजमा भने घरको भान्सा सम्हाल्ने पूरै जिम्मा महिलाकै काँधमा हुन्छ । चाहे श्रीमान् र श्रीमती दुवै कमाउने हुन् वा एउटा मात्र । महिलाले घरमा आएका पाहुनालाई खानपिनको व्यवस्था गर्ने, बालबच्चा स्यहार्ने, घरको सरसफाइ गर्नेलगायत काममा व्यस्त हुनुपर्ने हुन्छ । प्रायः पुरुषहरू घरमा आएका पाहुनासँग गफिएर बस्छन् । आएका पाहुनासँग भएका जानकारी पाउने अवसर उनैलाई मात्र प्राप्त हुन्छ । कसैले त आरामसँग बसेर उस्तै पर्दा खुट्टो हल्लाउँदै श्रीमतीले पसिना काढेर तयार पारी ल्याएको खानामा यो पुगेन, त्यो भएन भनेर हप्काएको पनि देखिन्छ । 

सहरबजारमा धेरैजसो पुरुषको दैनिकी खासगरी बिहान उठेर मर्निङ वाक जाने, रेडियो सुन्ने, टेलिभिजन हेर्ने, साथीभाइ नातागोता वा मन लागेका मानिसलाई फोन गर्ने, किताब, पत्रपत्रिका पढ्ने, टोलछिमेकमा गएर साथीभाइसँग गफ गर्ने, चियाकफी खाने गरेको देखिन्छ । महिला चुलोचौकोमा हुँदै लोग्ने मानिसले बिहानै देशविदेश, नातागोता, टोलछिमेक आदिका खबरलगायत धेरै कुराको जानकारी पाइसकेका हुन्छन् । श्रीमती बिहानभरि भान्सा र बच्चाबच्चीको पछि लाग्दालाग्दै तयार गरेको खाना खाएर काममा जाँदा काममा पनि उनको निपूर्णता महिलाको तुलनामा बढी हुन सक्छ । किनभने श्रीमान्को बिहान आनन्दसँग बितेको हुन्छ भने श्रीमतीको बिहान हस्याङफस्याङमै बितेको हुन्छ ।

दिनभरिको काम सकेर साँझ घर फर्कियो, घरमा फेरि उही कथा दोहोरिन्छ, अर्थात् श्रीमतीको जिम्मामा बालबच्चा, भान्सा आदिको तनाव पर्छन् भने श्रीमान्को भागमा चाहिँ टेलिभिजन, पत्रपत्रिकामा रमाउने र आराम गर्ने काम पर्छ । कतिपय अवस्थामा श्रीमान् र उनका साथीभाइका लागि बेलुकाको खानपिनको व्यवस्थापनको थप बोझ पनि पत्नीले नै उठाउनुपर्ने हुन्छ । घरको व्यवस्थापनले पूरै एकोहोरो पारिसकेको कारणले कतै सभा, सम्मेलन, अन्तक्र्रिया आदि कार्यक्रममा पनि महिलाको उपस्थिति अत्यन्त कम रहने गरेको देखिन्छ । बौद्धिक विकास गर्ने, समाजलाई अध्ययन विश्लेषण गर्ने समय पनि मिल्दैन, वातावरण पनि हुँदैन । यसरी ऊभित्रको प्रतिभाले कतिखेर कसरी काम गर्छ ?

बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सनले एकपटक एउटा पत्रकार सम्मेलनमा पत्रकारका लागि चिया आफैँले बोकेर ल्याएको सञ्चारमाध्यममा देखिएको थियो । यो कसैलाई देखाउन नभएर त्यहाँको संस्कार नै हो । हाम्रो देशमा त चाहे त्यो देशका प्रधानमन्त्री होऊन् वा भारी बोक्ने, घरमा ऊ पुरुष हो, ऊ पहिलो दर्जाको नागरिक हो, त्यसैले ऊ पत्नीको मालिक हो भन्ने सोचाइ व्याप्त छ । अपवादका रूपमा कतै कुनै घरमा पत्नीलाई सघाउने पुरुषले पनि अरूले नदेख्ने गरेर सघाउँछन् । गौरवसाथ घर व्यवहारको काम मेरो पनि जिम्मेवारी हो, यो मानव जीवनको न्यूनतम आवश्यकतामा पर्छ, महिलाको मात्र ठेक्काभित्र पर्दैन, त्यसैले घरको काम मिलेर गर्नुपर्छ भन्ने सोच धेरै पुरुषमा पलाएकै पाइन्न । यी पुरुष घरको काम गर्नुपरेमा अपमान महसुस गर्छन्, आफूलाई मरेतुल्य ठान्छन् । यो व्यथा हामी र हाम्रो जस्तै पुरुषप्रधान समाजका राजनीतिज्ञ, कर्मचारी, व्यापारी, किसान, मजदुर, बुद्धिजीवी, लेखक, पत्रकार, शिक्षकलगायत सम्पूर्णको हो । रूपमा केही फरक होला, तर सारमा एउटै हो । यसैको प्रतिफल हो, हाम्रो देशका ७५३ स्थानीय तहमध्ये महिलाले अधिकांशमा ‘उप’मै चित्त बझुाउनुपरेको छ । 

इतिहास साक्षी छ, सबैजसो क्रान्ति र संघर्षमा महिलाको बलिदान पुरुषको भन्दा कत्ति पनि कम छैन । योगदानमा समानता र अवसरमा असमानता महिलामाथिको अन्याय हो, अत्याचार हो । लामो रक्तपातपूर्ण संघर्षपश्चात् नेपालमा आएको राजनीतिक परिवर्तनले महिलालाई आर्थिक, सामाजिक र सशक्तीकरणका अवसर केही हदसम्म संविधानद्वारा प्रत्याभूत भएको छ । लैंगिक मूलप्रवाहीकरणका लागि भनेर विभिन्न ऐन, नियम, रणनीति र कार्ययोजना आएका पनि छन् । किताबभित्र सीमित गरिएका नियम, कानुन र व्यवहारमा नआएको सुशासन आकाशको फल, आँखा तरी मर् भन्ने उखानजस्तो मात्र हो ।

‘स्यापियन्स’, होमो डेयस’जस्ता विश्वप्रसिद्ध पुस्तकका लेखक युवल नोह हरारीका अनुसार महिला र पुरुष सँगै बस्न लागेको करिब ७५ हजार वर्ष भयो । यसबीच मातृप्रधान युगको उपस्थिति पनि मानवजातिले अनुभव गरिसकेको छ । सभ्यताको विकासदेखि रचनाकालसम्मको इतिहास, समाज, सामाजिक सम्बन्ध र अभ्यासलाई महिलासँग गाँसिएको छ । तैपनि, लैंगिक समानताको तुलोमा महिला र पुरुषलाई जोख्दा हाम्रो समाज पक्षपातविहीन नभएको कुनै आधार भेटिन्न । यसैकारण पनि लैंगिक समानताको विषय ओझेलमा परेको हो । आजभोलि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिलगायत विषयमा छलफल गर्ने, लेख्ने गरिन्छ । तर, महिला वर्गको उत्थानको विषयले कतै महत्व पाएको छैन । केही मुठीभर व्यक्तिले आक्कलझुक्कल यो विषय उठाउने गर्छन् । तर, त्यो पनि महिलाको भोट तान्नका लागि मात्र । तिनले बराबर चाहन्थे भने त बनेका नियम कानुन र आफ्नो दैनिकीलाई व्यवहारमा कार्यान्वयन गर्ने प्रयत्न गर्थे होला । 

‘महिलाको क्षमतालाई दबाएर राख्न खोज्ने राष्ट्रले आफ्नो उन्नतिका लागि योगदान दिने आधा नागरिकलाई पछाडि छाडेको हुने भएकाले ऊ स्वाभाविक रूपमा फस्टाउन सक्दैन ।’ भन्ने मिसेल ओबामाको यो भनाइ साँच्चै मर्मस्पर्शी छ । महिला घरमा पुरुषको सहयोगी र बाहिर ‘उप’कै पदमा रहिरहँदासम्म हाम्रो देशको विकास सम्भव छैन । निश्चित रूपमा विगत बदल्न सकिन्न । तर, हामी सबैले चाहेमा वर्तमानमा केही गर्न सक्छौँ र देशकै भविष्य बदल्न सक्छौँ । तिमीलाई थाहा छैन, तिमीले जान्दिनौ, तिमीले बुझेकी छैनौ आदि भनेर महिलालाई हीनभावले हेर्नुभन्दा तिमीले थाहा पाउनुपर्छ, तिमी जान्दछ्यौ, तिमीले बुझ्न सक्छ्यौ भन्ने यथार्थको बोध गराउनुपर्छ । घरको काममा जिम्मेवारी बाँड्ने, आफूले जानेबुझेका कुरा एक–आपसमा सिकाउने, नपढेकालाई पढाउने, महिलाले पनि बाहिरी समाज बुझ्ने वातावरण बनाउने, हामी दुई असल साथी हौँ, हामी समान हौँ, मेरो मात्र प्रगतिले घर, समाज र राष्ट्र बन्दैन भन्ने सोचको विकास सबैले गर्नुपर्छ । महिलालाई आजको पछौटे अवस्थाबाट अगाडि बढाउन समावेशिताको सिद्धान्तअनुसारका कार्य आजैदेखि अवलम्बन गर्दै पुरुषले म आफैँबाट कर्मले प्रमाणित गर्न सुरु गर्छु भन्ने प्रण गर्नु आजको राष्ट्रिय आवश्यकता हो ।

नेपालमा राजनीतिक व्यवस्था परिवर्तन त भयो, नेतृत्व पनि परिवर्तन भयो, भौतिक विकास पनि भ्रष्टाचारको आहालमै डुबेर भए पनि केही न केही रूपमा अगाडि बढ्दै छ । तर, समाजमा महिलामाथि हुने गरेको उत्पीडनमा कत्ति पनि परिवर्तन आएको छैन । महिलाको पूर्ण सहभागिताविना कुनै पनि देशको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिकलगायत क्षेत्रको विकास अधुरो रहन्छ । यसैले नेपालमा भएका ५१.०२ प्रतिशत महिलाको विकासविना समग्र देशको विकास हुने सम्भावना कदापि छैन । महिला अधिकार र लैंगिक समानता कुनै पनि राष्ट्रको दिगो विकाससँग जोडिएको हुन्छ । महिलाको अवस्थाले त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, विकास र मूल्यलाई पनि इंगित गर्छ । यसै प्रसंगमा मोहम्मद अली जिन्नाले एउटा प्रसंगमा भनेका छन्– ‘कुनै पनि देश सुखको शिखरमा तबसम्म पुग्न सक्दैन, जबसम्म उसले महिलासँग काँधमा काँध मिलाएर हिँड्न सक्दैन ।’ यसै परिवेशमा कार्लमार्क्सको ‘कुनै ठाउँको सामाजिक विकास कति भएको छ भनेर हेर्नु छ भने त्यस देशको महिलाले प्राप्त गरेका सामाजिक ओहोदाको मापन गरे पुग्छ’ भन्ने भनाइ पनि यहाँ त्यत्तिकै प्रासंगिक हुन जान्छ । त्यसैले जबसम्म महिलाको भूमिकालाई समाजले पुरुषसरह स्विकारी महिलाको सहभागितालाई प्राथमिकतामा राख्दैन । शिक्षा तथा चेतनाको स्तरमा वृद्धि ल्याउन, सामाजिक मूल्य र मान्यतामा लैंगिक समतायुक्त र सार्थक सहभागिताको वातावरण बन्दैन, तबसम्म कुनै पनि देशको सर्वांगीण विकासको सपना देख्नु व्यर्थ हो । 

सुझावित समाचार