संक्रमणकालीन न्याय (टिआरसी)सम्बन्धी गठित संयन्त्रको बैठक सकिएको छ । सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठक आगामी बिहीबार बस्ने गरी सकिएको हो ।
आजको छलफलमा संयन्त्रका सदस्य नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा सहभागी थिए ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदी, महान्यायाधिवक्ता रमेश बडाललगायतको पनि सहभागिता थियो । बैठकपछि बर्तौलाले आगामी बिहीबार फेरि बैठक बस्ने गरी आजको बैठक सकिएको बताए । उनले भने, ‘मूल ऐन, विधेयक र उपसमितिको प्रतिवेदन हेर्ने कुरा भएको छ । त्यसलाई एकीकृत गरेर उठेका प्रश्नहरूलाई पनि एकीकृत गर्ने कुरा भएको छ । सबै तयारी गरेर आगामी बिहीबार ८ बजे गृह मन्त्रालयमै बैठक बस्छौँ,’ उनले भने । अहिलेसम्म भएका छलफलको मस्यौदा तयार परेर त्यसमाथि आगामी दिनमा छलफल केन्द्रित गर्ने उनको भनाइ छ ।
यसअघि पनि शुक्रबार गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि सहमतिको जुटाउने विषयमा छलफल भएको थियो ।