म्यानमारमा बिमस्टेक सुरक्षा प्रमुखहरूको बैठक

आइतबार, १३ साउन, २०८१
डिजिटल संस्करण

बडापत्र जारी भएसँगै बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)का संयन्त्र सक्रिय भएका छन् । गत २८ असारमा बिमस्टेक परराष्ट्रमन्त्रीस्तरीय अनौपचारिक बैठक दिल्लीमा आयोजना भएको थियो । यसको दुई सातापछि म्यानमारमा बिमस्टेक देशका सुरक्षा प्रमुुखहरूको चौथो बैठक शुक्रबार भएको छ ।

बैठक अन्य सदस्य मुलुकबाट सुरक्षासँग सम्बन्धित उच्च अधिकारी सहभागी भए भने नेपालका तर्फबाट म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले प्रतिनिधित्व गरेका छन् । भारतबाट राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल सहभागी भए । नेपालका राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीलाई सरकारले पठाएन । 

सुरक्षा मामिला प्रमुखहरूको बैठकपूर्व तयारी छलफलमा सहभागी हुन गृह मन्त्रालयका सहसचिव नारायण भट्टराई, नेपाल प्रहरीका डिआइजी भरतबहादुर बोहोरा र सशस्त्र प्रहरीका डिआइजी कुमार न्यौपाने सहभागी थिए । म्यानमारको राजधानी न्या पि तामा आयोजित बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व राजदूत घिमिरेले गरेका छन् । यो बिमस्टेकको समग्र सुरक्षा स्तम्भमध्येको महत्वपूर्ण संयन्त्र हो ।

संयन्त्रले बिमस्टेक सदस्य मुलुकहरूबीच कानुन कार्यान्वयन गर्ने सुरक्षा निकाय, गुप्तचर तथा सुरक्षा संस्थाहरूबीच सहकार्य अभिवृद्धि गर्ने गरेको छ । आतंकवाद र लागुऔषध ओसारपसारविरुद्ध क्षेत्रीय सामूहिक प्रयास बढाउने विषयमा बैठक केन्द्रित रहेको नेपाली दूतावासले जनाएको छ ।

सुझावित समाचार