त्रिशूलीमा बेपत्ता बस खोज्दा हरायो १९ किलोको चुम्बक

आइतबार, १३ साउन, २०८१
डिजिटल संस्करण

त्रिशूलीमा बेपत्ता बस र यात्रु खोजीकार्यमा जुटेको भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेसनल डिजास्टर रेस्पोन्स फोर्स’ टिमको चुम्बक र लाइफब्वाई ट्युब हराएको छ । एक सातादेखि खोजीकार्यमा जुटेको भारतीय टोलीको सामान शनिबार त्रिशूलीले बगाएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सम्भावित स्थानमा बस रहे–नरहेको पत्ता लगाउन भारतीय टोलीले ‘म्याग्नेटिक डिभाइस’ (ठूलो चुम्बक) ल्याएको थियो । पानीमा चुम्बकबाट खोज्दा फलाममा चुम्बक टाँसिएर बस पत्ता लाग्ने अनुमान थियो । तर, भारतबाट ल्याएको दुईवटा चुम्बकमध्ये १९ किलोको एउटा चुम्बक हराएको छ । नदीको बहाव र वेग (करेन्ट)का कारण सामग्री हराएको हो ।

पानीकै कारण भारतीयले लिएर आएको तीनवटा सोनार क्यामेरा पूर्ण रूपमा प्रयोग हुन पाएन । पानीकै कारण खोजीकार्यमा पनि समस्या हुँदै आएको छ । हराएको अर्को सामग्री लाइफ ब्वाई ट्युब पानीमा मानिस डुबेको वेला उद्धारका लागि प्रयोग गरिन्छ । सिमलतालबाट देवघाटसम्म खोज्दा पनि बस भेटिएको छैन । सिमलतालबाट देवघाट करिब २० किलोमिटर टाढा छ । 

एक हप्ताका लागि आएको भारतीय टोलीले थप खोज्ने नखोज्ने निर्णय आइतबार हुने यादवले बताए । ‘आज केही पनि उपलब्धि भएन । भोलि बिहान भारतीय टोलीले थप खोज्ने नखोज्ने भन्ने निर्णय हुनेछ । हाम्रोतर्फको टोलीले समेत थप खोजीकार्य के गर्ने सम्बन्धमा भोलि बिहान मात्रै निर्णय हुनेछ,’ उनले भने । 

काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौंका लागि छुटेको एन्जल डिलक्स बस गत २८ असारमा भरतपुर महानगर– २९, सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा पहिरोसँगै त्रिशूली नदीमा खसेका थिए । बसमा सवार ६५ मध्ये तीनजना पौडिएर बाँचे पनि ६२ बेपत्ता भएका थिए । अहिलेसम्म २४ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ३८ जनाको अवस्था अझै अज्ञात छ । भेटिएको शवमध्ये तीन महिलासहित १९ जनाको मात्र सनाखत भएको छ । ४ साउनदेखि कुनै पनि शव भेटिएका छैनन् । यसअघि भेटिएका शव पनि बगारएर लगेको अवस्थामा नारायणी नदी र भारतीय सीमाका छेउछाउमा भेटिएको थियो ।

सुझावित समाचार