सार्वजनिक रूपमा प्रश्न उठेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानाको पत्र र सहमहामन्त्री सुमना श्रेष्ठको विदेशी नागरिकको विषयमा आन्तरिक अनुसन्धान सुरु गरेको छ । बिहीबार बसेको रास्वपा केन्द्रीय समिति बैठकमा उपसभामुख रानाले अमेरिकी दूतावासलाई भिसाको अन्तर्वार्ताको मिति अगाडि सारिदिन अनुरोध गरेको पत्र र पूर्वशिक्षामन्त्री श्रेष्ठको दोहोरो नागरिकताको प्रश्नमा केन्द्रीय अनुशासन आयोगले अनुसन्धान अघि बढाउने जानकारी गराइएको थियो ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले पार्टी र पार्टीबाट राज्यका उच्च ओहोदामा पुगेका व्यक्तिका सम्बन्धमा सार्वजनिक बहसमा आएका सबै उपयुक्त विषयमा अध्ययन अनुसन्धानका लागि केन्द्रीय अनुशासन आयोगलाई अनुरोध गर्ने निर्णय केन्द्रीय समितिले गरेको बताए । उनका अनुसार यसमा उपसभामुख रानाको विषय पनि अध्ययन हुनेछ । साथै, सहमहामन्त्री श्रेष्ठको विदेशी नागरिकताको विषयमा उठेको प्रश्नका सन्दर्भमा पनि पार्टीको अनुशासन आयोगले अनुसन्धान गरेर स्पष्ट पार्ने उनको भनाइ छ । अहिले संवैधानिक परिषद्मा आफ्नो सन्तुलन मिलाउन पत्रको विवाद उचालिएको आफूहरूको निष्कर्ष रहेको झाले बताए । ‘हाम्रो आशंका के छ भने संवैधानिक परिषद्मा बहुमत पु¥याउन त्यो तस्बिर (पत्र) लिक गरेको हो । यो गलत अभ्यास हो,’ उनले भने । इलामको उपनिर्वाचनको पूर्वसन्ध्यामा यो विषय पार्टीमा जानकारी भएपछि आन्तरिक रूपमा छानबिन भएको बताउँदै उनले १८ महिनापछि चुनावकै वेला पत्र सार्वजनिक गर्नुमा आशंका व्यक्त गरे । ‘योभन्दा अगाडि उपनिर्वाचनमा तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठको इस्यु आएको थियो । यसपालिको उपनिर्वाचनमा यो इस्यु आयो । यो पत्रको मिति पनि १८ महिनाअगाडिको रहेछ । यसलाई अहिलेसम्म थाती किन राखियो ?’ उनले प्रतिप्रश्न गरे । आफूहरूको सूत्रबाट अमेरिकी दूतावासमा बुझ्दा सार्वजनिक भएको पत्र त्यहाँ दर्ता नै नभएको खुलेको उनले उल्लेख गरे । आरोप लगाइएको जस्तो आर्थिक चलखेल भएको समेत नपाइएको उल्लेख गर्दै उनले भने, ‘यसमा आशय र नियत गलत छैन र यसको प्रभाव पनि गलत कतै परेको छैन ।’
उपसभामुखमा निर्वाचित भएपछि राना पार्टीको साधारण सदस्यसमेत नरहेको उल्लेख गर्दै उनले रानाको विषयमा निर्णय गर्ने अधिकार पार्टीलाई नभएको समेत प्रस्ट्याए । राज्य व्यवस्था समितिका सभापतिले कुनै आधारविनै ‘मानव तस्कर’ भनेको विषयमा आपत्ति जनाउँदै उनले भने, ‘त्यो माननीय जो आफैँ राज्य व्यवस्था समितिको सभापति हुनुहुन्छ । उहाँको समितिमा उजुरी परेको छ । उजुरीको छानबिन भएको छैन, छलफल भएको छैन, निर्णय भएको छैन । अनि त्यो व्यक्तिले मानव तस्कर घोषणा गर्न पाइन्छ ?’ लामिछानेले उपसभामुख रानाको विषयमा धारणा राखेका थिए । उनले राना जेलमा रहेको अभिभावकको बच्चाको सेवा गर्ने समाजसेवी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्ने व्यक्तित्व रहेको भन्दै राजनीतिक प्रतिशोधमा आरोप लगाइएको बताए ।