आइसिसी टी–२० अलराउन्डर महिला वरीयतामा रुविना क्षेत्रीले ६, सीता रानामगरले १५ र कप्तान इन्दु बर्माले १२ स्थान सुधार गरेका छन्
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले महिला टी–२० अलराउन्डर वरीयता सार्वजनिक गरेको छ । वरीयतामा नेपालकी पूर्वकप्तान रुविना क्षेत्रीले ६ स्थान सुधार गरेकी छिन् । ओपनर सीता रानामगर तथा कप्तान इन्दु बर्माले पनि टी–२० अलराउन्डर वरीयतामा सुधार गरेका छन् । वरीयताअनुसार रुविना ४८औँ स्थानमा छिन् । उनले एसिसी एसिया कप टी–२० क्रिकेट प्रतियोगितामा पाकिस्तानविरुद्धको खेलमा ९४ रेटिङ पाएकी छिन् ।
रुविनाले भारतकी रेनुका सिंहलाई एक स्थानले पछि पारेकी छिन् । रुविनाभन्दा एक स्थान अगाडि न्युजिल्यान्डकी फान जोनास रहेकी छिन् । नेपाली महिला खेलाडीमध्ये धेरै स्थान सुधार गर्नेमा सीता हुन् । उनले एकैपटक १५ स्थान सुधार गरिन् । उनी ५८औँ स्थानमा छिन् । उनले सन् २०२२ मा कीर्तिपुरमा भएको युगान्डाविरुद्धको सिरिजमा १४१ रेटिङ अंक पाइन् ।
कप्तान इन्दु पनि स्थान सुधार गर्न सफल भइन् । आइसिसीका अनुसार इन्दुले १२ स्थान सुधार गरेकी हुन् । उनी ६७औँ स्थानमा रहिन् । इन्दुले सन् २०२३ मा हङकङमा भएको खेलमा तान्जानियाविरुद्धको खेलमा ७४ रेटिङ अंक प्राप्त गरेकी छिन् । टी–२० महिला अलराउन्डरको वरीयतामा वेस्ट इन्डिजकी ह्याले म्यायु शीर्ष स्थानमा छिन् । अस्ट्रेलियाकी अग्ले गार्डनर दोस्रो स्थानमा छिन् भने भारतकी दीप्ति शर्मा तेस्रो स्थानमा रहेकी छिन् ।
ब्याटिङमा सीता र रुविना मात्र
आइसिसी टी–२० ब्याटिङ वरीयतामा नेपालका दुई महिला खेलाडी मात्र परेका छन् । एक स्थान सुधार गरी सीता ८४औँ स्थानमा छिन् । उनले सन् २०२२ मा कीर्तिपुरमा भएको युगान्डाविरुद्धको प्रतिस्पर्धामा ३२० रेटिङ अंक हात पारेकी हुन् । समग्रमा उनले ३३० वरीयता अंक पाएकी छिन् ।
रुविनाले तीन स्थान गुमाएकी छिन् । पछिल्लो वरीयताअनुसार उनी ८७औँ स्थानमा रहिन् । उनले वांगीमा कुवेतविरुद्ध ३१९ रेटिङ अंक पाइन् । टी–२० बलिङ वरीयतामा नेपाली महिला बलर सयभित्र पर्न सकेनन् ।
नेपाल २१औँ स्थानमा
एसिसी टी–२० एसिया कपको समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय महिला टोली २१औँ स्थानमा रहेको छ । नेपालले ३२ अन्तर्राष्ट्रिय टी–२० खेलबाट ९७ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा एक स्थान अगाडि इन्डोनेसिया र एक स्थान मुनि हङकङ रहेका छन् ।
वरीयताको शीर्ष स्थानमा अस्ट्रेलिया २९४ रेटिङ अंकका साथ शीर्ष स्थानमा छ । इंग्ल्यान्ड दोस्रो स्थानमा रहँदा २८५ रेटिङ प्राप्त गरेको छ । भारत २६२ रेटिङ अंकका साथ तेस्रो स्थानमा छ ।