पूर्वमुख्यमन्त्री कार्कीले कुटेर शौचालयमा थुन्ने धम्की दिएको भन्दै सचिव भट्टराईले गुहारे प्रशासन

बुधबार, ९ साउन, २०८१
डिजिटल संस्करण

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले भुक्तानी नदिएको विषयलाई लिएर कुटेर शौचालयमा थुन्ने धम्की दिएको भन्दै सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले प्रशासन गुहारेका छन् । गत वर्ष सम्पन्न विराट गोल्डकपको एक करोड भुक्तानी निकासा नगरे कुटेर आफूलाई शौचालयमा थुनिदिने धम्की दिएको भन्दै भट्टराईले शान्ति सुरक्षाका लागि जिल्ला प्रशासन मोरङमा उजुरी दिएका हुन् । 

कार्कीले आफूलाई पूर्ववनमन्त्री मातृका यादवले सचिवलाई शौचालयमा थुनेको घटना स्मरण गराउँदै भुक्तानी नदिएमा मन्त्रालयमै आएर कुटपिट गर्ने धम्की दिएको भट्टराईले सोमबार दिएको उजुरीमा उल्लेख छ । उनले कार्कीले सोमबार अपराह्न ४:५३ बजे ९८४२०४२०३४ नम्बरको मोबाइलबाट फोन गरी कुट्ने धम्की दिएको दाबी गरेका छन् ।

‘मन्त्रालयमा काम गरिरहेको समयमा पूर्वमुख्यमन्त्री कार्कीले गालीगलौज गर्दै ‘मातृका यादवले सचिवलाई कुटेर शौचालयमा थुनेको यादै होला । म पनि तँलाई मन्त्रालमा आएर कुट्छु र शौचालयमा थुन्छु’ भन्दै कुट्ने धम्की दिएकाले मेरो जिउज्यानको सुरक्षासहित आवश्यक शान्ति सुरक्षाको व्यवस्था गरी कार्यालयमा बसेर कामकाज गर्ने व्यवस्था मिलाइदिनुहुन अनुरोध छ,’ भट्टराईले उजुरीमा लेखेका छन् ।

सचिव भट्टराईले आफ्नो उजुरी कोशी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवलाई पनि पठाएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सचिव भट्टराईले शान्ति सुरक्षा माग गर्दै कार्यालयमा निवेदन दिएको र आफूले नोटिसमा लिएको बताए । निवर्तमान मुख्यमन्त्री कार्कीले भने आफू मुख्यमन्त्री भएका वेला ९ देखि १७ चैत ०८० सम्म विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजना भएको र त्यसमा आयोजकसमेत रहेको प्रदेश सरकारले एक करोड रुपैयाँ दिने वचन दिएकाले सोही रकम निकासा दिन ढिलाइ भएकाले आफूले सचिवसँग ताकेता मात्र गरेको बताए । ‘म मुख्यमन्त्री भएका वेला भुक्तानीका लागि सचिवले मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन आलटाल गरेका थिए । हालसम्म पनि उनले माथिसम्म मिलाउनुपर्छ भन्दै पैसा माग्दा रहेछन्, नदिएपछि रकम दिन नमानेका रहेछन् । यसैले ताकेता मात्र गरेको हुँ । कुट्ने–पिट्ने धम्की सचिवको प्रोपोगान्डा मात्र हो,’ उनले भने ।

सचिव भट्टराईले आफूलाई मुख्यमन्त्री हुँदा कार्कीले कार्यविधिविपरीत ठाडो आदेशमा भुक्तानीका लागि मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन दबाब दिएको, तर कानुनविपरीत भएकाले आफूले प्रस्ताव नलगेको र हालसम्म भुक्तानी दिन नसकेको बताए । ‘विराट गोल्डकपले साढे दुई करोड मागेको थियो, तर सरकारले एक करोड दिने भनेको हो । कार्यविधि नबनेकाले अर्थले दिन नमानेपछि भुक्तानी रोकिएको हो, यसमा मेरो कुनै गल्ती छैन,’ उनले भने । 

सुझावित समाचार