बागमतीमा मन्त्रालयको संख्यामा सहमति, मुख्यमन्त्रीबाहेक ६–६ वटा मन्त्रालयमा सहमति

कृषि र खेलकुदमा सहमति हुन बाँकि

मंगलबार, ८ साउन, २०८१
डिजिटल संस्करण

बागमती प्रदेशमा मुख्यमन्त्रीसहित कांग्रेसले सात र एमालेले ६ मन्त्रालय पाउने गरी मन्त्रालयको भागबन्डा टुंगिएको छ । १३ मन्त्रालय रहेको बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउने बहस चले पनि दुवै दलले बढी मन्त्रालय दाबी गरेपछि संख्या नघटाई १३ वटै मन्त्रालयमा भागबन्डा मिलाइएको हो ।

सत्तासाझेदार दलहरू कांग्रेस र एमालेबीच दुईवटा मन्त्रालयको विषयलाई लिएर भने अहिलेसम्म सहमति जुट्न सकेको छैन । कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले मन्त्रालयको भागबन्डा टुंग्याउन आज पुनः छलफल हुने जानकारी दिए ।

उनका अनुसार युवा तथा खेलकुद मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कसले कुन लिने भन्ने विषयमा सहमति हुन बाँकी रहेको छ । युवा तथा खेलकुद मन्त्रालय कांग्रेसलाई छाड्ने गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा एमालेले दाबी गर्दै आएको छ । तर, कृषि मन्त्रालयमा कांग्रेसको पनि दाबी रहेको नेता लामाले बताए ।

उनले कृषि तथा पशुपन्छी विकास मन्त्रालय कांग्रेसले लिएर युवा तथा खेलकुद मन्त्रालय एमालेलाई दिने गरी सहमति हुने दाबी गरे । कांग्रेसका प्रमुख सचेतक लम्सालले मन्त्रालयको भागबन्डा संख्यामा टुंगिएको बताए । उनका अनुसार कांग्रेसले मुख्यमन्त्रीबाहेक ६ वटा भौतिक पूर्वाधार, आन्तरिक मामिला, सामाजिक विकास, संस्कृति, पर्यटन तथा सहकारी, श्रम रोजगार तथा यातायात पाउने सहमति भएको छ ।

 यस्तै, एमालेले आर्थिक मामिला, स्वास्थ्य, वन तथा वातावरण, खानेपानी, ऊर्जा तथा सिँचाइ र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय पाउने सहमति भएको छ । प्रमुख सचेतक लम्सालले युवा तथा खेलकुद मन्त्रालय र कृषि मन्त्रालयमा सहमति हुन बाँकी रहेको जानकारी दिए ।

सुरुवातमा मन्त्रालयको संख्या घटाएर मुख्यमन्त्रीसहित ६–६ मन्त्रालयमा सहमतिको प्रयास भए पनि दुवैतर्फको दाबी बढ्दै गएपछि मन्त्रालयको संख्या यथावत् राखिएको हो । सुरुमै दुवै दलले सात–सात मन्त्रालय दाबी गरेपछि मन्त्रालय भागबन्डामा समस्या भएको थियो । मन्त्रालयको भागबन्डा नमिल्दा सोमबार बिहान १० बजै नै कांग्रेस नेता बहादुरसिंह लामाले मुख्यमन्त्रीमा दाबी गर्ने भनिए पनि अन्तिममा आएर स्थगित गर्नुपरेको थियो ।
 

सुझावित समाचार