तडकभडकपूर्ण विवाहको समाजशास्त्र

आइतबार, ६ साउन, २०८१
डिजिटल संस्करण

विवाहले सामाजिक पुँजीको प्रदर्शन गर्ने र सामाजिक–आर्थिक एवं राजनीतिक सञ्जाललाई सुदृढ पार्ने गरेको छ

विवाहले आज राज्य, अर्थतन्त्र र समाजबीचको अन्तरक्रियालाई प्रतिबिम्बित गर्छ, जसले उपल्लो पदानुक्रममा पुग्ने महत्वाकांक्षी अवसरका रूपमा काम गर्छ । ऐतिहासिक रूपमा सामाजिक वर्गले यी अवसरको भव्यतालाई प्रभाव पारेको छ । विवाहले सामाजिक पुँजी प्रदर्शन गर्ने र सामाजिक–आर्थिक एवं राजनीतिक सञ्जाललाई सुदृढ पार्ने गरेको छ । यो प्रवृत्ति जमिनदार, ठूला शाही घरानादेखि आधुनिक व्यापारीसम्ममा देख्न सकिन्छ ।

सामाजिक स्वीकृतिको आवश्यकता सधैँ विवाहको एक महत्वपूर्ण हिस्सा बनेको छ । र, विवाहको प्रकृति आर्थिक मागसँगै विकसित पनि भएको छ । विवाह र यससँग सम्बन्धित संस्कार पनि दिनानुदिन थप तडकभडकपूर्ण हुँदै गएका छन् । आज धनाढ्यको विवाहमा धार्मिक प्रतीकले लेस निमन्त्रणा पत्र एक मध्यमवर्गीय भारतीयको वार्षिक तलबबराबर हुन पुगेको छ । विवाहको रमिता पुँजीवादी वस्तु अर्थतन्त्रको असभ्यताको चरम सीमामा पुगेको छ । प्रत्येक सामाजिक वर्गले आ–आफ्नो आर्थिक क्षमताअनुसार विवाह समारोहलाई तडकभडकपूर्ण बनउने प्रयास गरिरहेको छ ।

तसर्थ, यी समारोहले हाम्रो समाज र विद्यमान सामाजिक सम्बन्धको व्याख्यान दिने गर्छन् । दुई हजार पाँच सय करोड रुपैयाँको अनुमानित लागतमा भएको अनन्त अम्बानीको विवाह अहिलेसम्मकै सबैभन्दा महँगो विवाह हो । यसले तडकभडकपूर्ण समारोहमार्फत सम्पत्ति प्रदर्शन गर्ने बढ्दो प्रवृत्तिलाई प्रतिबिम्बित गर्छ । त्यसैगरी हालै कर्नाटकमा एक विवाहमा पाँच सय करोड रुपैयाँ खर्च भयो र सन् २०११ मा एक कंग्रेस नेताका छोराको विवाहले पनि ठूलै चर्चा पाएको थियो । फिल्म स्टार, व्यवसायी र राजनीतिज्ञले आफ्नो सम्पत्ति प्रदर्शन गर्न बारम्बार विवाहको प्रयोग गर्दै आएका छन् ।

फ्रान्सेली दार्शनिक गाई डेबोर्डले समाज ‘हुनु’बाट ‘देखाउने’तर्फ सर्दै गएको जहाँ ‘देखाउनु’ नै प्रतिष्ठा र उद्देश्य बनिरहेको भनेर टिप्पणी गरेका थिए । उनले तडकभडकपूर्ण ‘रमिता भनेको शासकीय व्यवस्थाको अन्त्यहीन संकथन, आत्मश्लाघाको कहिल्यै अन्त्य नहुने एकल संवाद र जीवनका सबै पक्षमा हुने सर्वसत्तावादी प्रभुत्वको आत्म–चित्रण’ हो भनेका थिए ।

ऐश्वर्यका लागि चुकाउनुपर्ने मूल्यको बेवास्ता : भारतीय वायुसेनाले अम्बानीको पूर्वविवाह समारोहका लागि जामनगर एयरपोर्ट सञ्चालनको अनुमति दिएको थियो र पछि विवाहका लागि मुम्बईमा ट्राफिक प्रतिबन्ध लागू गरियो । व्यक्तिगत आयोजन भए पनि विवाह समारोहमा प्रधानमन्त्री, विभिन्न मुख्यमन्त्री र अन्य राजनीतिज्ञ पुगेका थिए, जसले सांकेतिक रूपमा विवाहमा भारतीय राज्यको उपस्थितिलाई जनाउँथ्यो । समारोहमा राजनीतिक नेताको सहभागिताले धनी र गरिबबीचको बढ्दो खाडललाई उजागर गर्दै सम्पत्तिको प्रदर्शनलाई समर्थन गरेको थियो । स्वास्थ्य र शिक्षाजस्ता अत्यावश्यक सेवामा न्यून खर्च र बढ्दो बेरोजगारीलाई बेवास्ता गर्दै यी नेता शीर्ष एक प्रतिशतको सम्पत्तिमा उल्लेखनीय वृद्धिको साक्षी बनेका थिए । यसर्थ यस्ता समारोहमा हुने असाधारण खर्चमा आउने प्रश्न वैध छन् । विशेषतः जब बहुसंख्यकले न्यून आम्दानीमा गुजारा गर्न संघर्ष गरिरहेका हुन्छन् ।

फैलिँदो विवाह बजार : संस्कृति उद्योगले प्रतिस्पर्धा गराउने र विवाह बजार विस्तार गर्ने आकांक्षालाई मलजल गरिरहेको छ । आधुनिक विवाह संस्कार विकसित भएका छन्, जहाँ मध्यम वर्गले बढ्दो रूपमा धनाढ्यको असाधारण विवाहको अनुकरण गरिरहेका छन् । नतिजा इभेन्ट म्यानेजर (समारोह प्रबन्धक) र विवाह योजनाकारको माग निरन्तर बढ्दो छ । यो विस्तारले विवाह उत्सव मनाउने नयाँ उपाय प्रस्तुत गरेको छ । सन् २०२३ मा मात्रै विवाह बजारमा चार लाख ७४ हजार करोड रुपैयाँ पुग्ने अनुमान गरिएको थियो ।

मेरो शोधकार्यका क्रममा मैले बिहारमा एक दुलाहालाई भेटेको थिएँ, जो हालै रेलवेमा लोको–पाइलटका रूपमा नियुक्त भएका थिए । उनको घर रहेको क्षेत्रमा दुईपांग्रे सवारीसाधन मात्रै जाने भएकाले जन्तीका लागि उनले हेलिकोप्टरको माग गरेका थिए । त्यसैगरी, अर्को जिल्लामा एक प्रहरी दुलाहाले आफ्नो विवाहका लागि २० वटा कालो महिन्द्रा स्कर्पियोको लाइन जन्तीमा आउनुपर्ने माग गरेका थिए । यी आकांक्षा चलचित्र उद्योग वा पुँजीको शक्ति भएका व्यक्तिको जीवनशैलीबाट उत्पन्न भएका हुन् ।

कथाको अर्को पाटो : वर्गीय र जातीय द्वन्द्वले ग्रसित समाजमा प्रतिस्पर्धा र शक्ति प्रदर्शनको सिद्धान्त पनि हिंसामा परिणत हुने गर्छ । जामनगर अम्बानीहरूको ऐश्वर्यको साक्षी बनिरहेको वेला उही राज्यको (गुजरातको) गान्धीनगरमा घोडा चढेको वा पगरी लगाएको कारण दलितमाथि आक्रमण गरिएको थियो । परिस्थितिमा थोरबहुत परिवर्तन भए पनि यो अवस्था निमिट्यान्न भने भएको छैन । यसअतिरिक्त विवाहका कारण ५० प्रतिशतभन्दा बढी परिवार ऋणको गर्तमा डुबेको अनुमान गरिन्छ ।

जब आर्थिक साधन सीमित हुन्छन्, जब सामाजिक पदानुक्रम एवं सम्बद्ध विशेषाधिकार आन्तरिकीकृत हुन्छन्, तब सीमान्तकृतले चाहेको प्रयासमाथि समाजबाट हिंसात्मक प्रतिक्रिया निम्तिने गर्छ । बजारको शक्तिले वस्तु अर्थतन्त्रमा सबैलाई समावेश गर्ने लक्ष्य राख्छ । यद्यपि प्रभावशाली सामाजिक वर्गले सामना गर्ने आर्थिक कठिनाइले महत्वपूर्ण व्यवधान खडा गर्छन् । यी चुनौतीले प्रायः प्रभावशाली जातिको जबर्जस्ती व्यवहारलाई झल्काउँछ । भारतका बहुसंख्यक जनताको यो कथा भारतका शासक वर्गले प्रस्तुत गर्ने रमिताको उपस्थितिले दबिएका छन् । यसले पितृसत्ताद्वारा आविष्कार गरिएको वैवाहिक संस्थाको ऐतिहासिक रूपमा निर्मित आलोचनालाई पूर्णतया निमिट्यान्न गर्ने काम गरेको छ, किनभने उपभोक्तावादका नयाँ रूप हिंस्रक पुँजीवादी सामाजिक सम्बन्धको पहिचान बन्न पुगेका छन् । गाई डेबोर्डले भनेझैँ रमिता वास्तविक संसारमा थपिएको चमकधमक मात्रै होइन । यो वास्तविक समाजको अवास्तविक मुटु हो ।’

(कुमार दक्षिण एसियाली विश्वविद्यालयका समाजशास्त्रका सहप्राध्यापक हुन्) 
डेक्कन हेराल्डबाट

सुझावित समाचार