लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले देशको प्रमुख चुनौती भनेको नीतिगत भ्रष्टाचारको अन्त्य गर्नु रहेको बताएका छन् । कानुनका विद्यार्थीसँग अनुभव र अनुभूति साटासाट कार्यक्रममा उनले राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्ने परिपाटीको विकास गर्न युवाहरूलाई आग्रह गरे ।
कानुनका विद्यार्थी भविष्यका सफल राजनीतिज्ञ बन्न सक्ने भन्दै उनले विद्यार्थीले सदैव आलोचनात्मक चेतको विकास गर्नुपर्नेमा जोड दिए । कानुनका विद्यार्थीले देशका लागि असल कानुन बनाउन सक्ने उल्लेख गर्दै प्रमुख शेरचनले योग्य र क्षमतावान व्यक्ति संसदमा पुग्न र पुर्याउनका लागि सबैको भूमिका आवश्यक रहने बताए ।
विगतमा संविधानको अक्षरशः पालना नहुँदा कानुनी शासनको उल्लंघन भएको स्मरण गर्दै प्रदेश प्रमुख शेरचनले मुलुकमा कानुन र संविधानको राम्रो अध्ययन गर्न सक्ने जनशक्ति आवश्यक रहेको बताए । सो अवसरमा विद्यार्थीले प्रदेश प्रमुखसमक्ष विभिन्न जिज्ञासा राखेका थिए ।