ब्लड क्यान्सरपीडित खगीसरा अस्पतालको बेडमा, बाढीले घर लग्यो गाउँमा

बिहिबार, ३ साउन, २०८१
डिजिटल संस्करण

कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका– ८ सुन्दरनगरकी ५९ वर्षीया खगीसरा पचगैँया मगर गत ११ असारदेखि ललितपुरको जावलाखेलस्थित ब्लड एन्ड मल्टिस्पेसालिटी अस्पतालको जनरल वार्डको ६ नम्बर बेडमा छिन् । उनी झन्डै एक महिनादेखि अस्पतालको बेडमा छिन् । 

कान्छा छोरा करनका अनुसार आमालाई ब्लड क्यान्सर भएको रिपोर्ट अस्पतालले थमाएको छ । ‘आमा तपाईंलाई ब्लड क्यान्सर भएको छ भनेर भन्न सकेका छैनौँ, चिकित्सकले पनि चाँडै निको हुन्छ भनेर मात्र सुनाउनुभएको छ,’ उनी भन्छन्, ‘उहाँ आफैँ बिरामी भएर बेडमा हुनुहुन्छ, बाढीले घर लगिसक्यो भनेर पनि कसरी सुनाउनु ?’

हिँड्न नसक्ने, श्वास फुल्ने समस्या देखिएपछि खगीसरालाई असार पहिलो साता बाँकेको नेपालगन्ज मेडिकल कलेज लगियो । दुई दिन उपचार गराउँदा ब्लड क्यान्सर देखिएपछि उनलाई ११ असारमा काठमाडौं ल्याइएको हो । ‘यहाँ आएर आमाको भिडियो एक्सरे, छातीको सिटी स्क्यान र बोनम्यारो जाँच भयो । एएमएल खाले ब्लड क्यान्सर (एक्युट माइलोड लुक्यिमिया) छ भनेर डाक्टरले २४ असारमा भन्नुभएको हो,’ करनले भने, ‘अहिले किमोथेरापी चलिरहेको छ । यसले काम नगरे बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्छ भन्नुभएको छ ।’ 

बाढीले घर बगायो, छोरीको घरमा वास
करन आमा खगीसराको उपचारका लागि अस्पताल दौडिरहँदा २३ असारको राति कञ्चनपुरमा भीषण वर्षा भएको थियो । नेपालमा रेकर्ड ब्रेक हुने गरी भएको वर्षाले यो परिवारको घर नै बगायो । करनका बुबा शेरबहादुरका अनुसार घरछेउबाट जगबुढा नदी बग्छ । उर्लिएर आएको नदीको बाढीले बाँध नै फुट्यो । ‘दुई सय मिटरअगाडि बाँध छ, त्यहाँ बाढीले फोड्यो । सुतेका वेला एक्कासि घरभित्र बाढी पस्यो । केही पनि निकाल्न पाएनौँ । भागेर जोगियौँ,’ उनले भने, ‘श्रीमतीको उपचारका लागि ऋण लिएको साढे दुई लाख रुपैयाँ पनि बाढीले लग्यो ।’ 

दोधारा–चाँदनी नगरपालिकाका मेयर किशोरकुमार लिम्बूका अनुसार बाढीले शेरबहादुरको टिन (जस्तापाता)ले छाएको घर मात्र बगाएन, घर थियो भन्ने नामोनिसान नै मेटाइदिएको छ । ‘बाँध फुटेपछिको पहिलो घर उहाँको थियो, त्यहाँबाट क्षति भयो । नगरपालिकाभर १०२ घर बगेका छन्, ९०० घरमा आंशिक क्षति भएको छ । उहाँहरूलाई नगद राहत दिने तयारी छ,’ उनले भने ।

शेरबहादुरको घरमा थापेको किराना पसल पनि बाढीले लग्यो । त्यसबाहेक गरगहना, अन्न, लत्ताकपडा र भाँडाकँुडा सबै बगेको र एउटा भैँसी, दुई बाख्रा मात्र जोगिएको उनले बताए । उनको घर भएको ठाउँमा मान्छे डुबाउने गरी खाल्टो बनेको छ । शेरबहादुर अहिले जेठी छोरी (जो अशक्त छिन्) सहित कान्छी छोरी गोरीको घरमा बसिरहेका छन् । ‘नगरपालिकाले चामल दिएको थियो । घर त अहिले बनाउन सकिँदैन । गोठ जोगिएको छ, त्यहाँ बस्नुपर्ला,’ उनले भने, ‘श्रीमतीको उपचारका लागि पैसा खोजिरहेको छु ।’ शेरबहादुर घर बनाउने मिस्त्री हुन् । तर, अहिले सिजन नभएकाले उनी बेरोजगारजस्तै छन् । 

शेरबहादुरका जेठा छोरा दिलबहादुर भारतको नयाँदिल्लीमा काम गर्छन् । कान्छा छोरा करन पनि वैदेशिक रोजगारीका लागि पोल्यान्ड जाने तयारी गर्दै थिए । तर, आमा बिरामी भएपछि आफूले प्रक्रिया अगाडि बढाउन नसकेको उनले बताए ।

See More On

सुझावित समाचार