निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल

बुधबार, २ साउन, २०८१
डिजिटल संस्करण

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको भन्ने गुनासो चाँडै सम्बोधन हुने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग बुधबार अर्थ मन्त्रालयमा सम्पन्न भेटघाटमा उनले निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी नरोकिने बताए।

‘निमाण व्यवसायीले भुक्तानी पाएनन् भन्ने गुनासो अब धेरै दिन सुन्न पर्दैन। राज्यका निकायले ठेक्का लगाएर काम सम्पन्न भएको छ भने जुनसुकै उपायबाट पनि त्यसको भुक्तानी हुन्छ। अब गुनासो गरिरहने अवस्था आउँदैन,’ अर्थमन्त्री पौडेलले भने।

उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच लामो समयदेखि चलिरहेको ‘डेडिकेटेड’ र ‘ट्रंकलाइन’को विद्युत् महसुल बक्यौता विवाद पनि कानुनअनुसार सुल्झाइने आश्वासन उनले दिए।

सरकार निजी क्षेत्रको अविभावकका रूपमा रहेकाले सबै गुनासो र समस्या सुन्न तथा यसको समाधान खोज्न तयार रहेको अर्थमन्त्री पौडेलले प्रस्ट पारे।

‘सरकार अभिभावकको रूपमा रहेर निजी क्षेत्रको विश्वास र भरोसा टुट्न दिनेछैन। राज्यले संरक्षण दिन्छ भन्ने आत्मविश्वासका साथ राष्ट्र निर्माणमा योगदान गर्नुस्,’ उनले भने, ‘तपाईंहरूले आफूलाई निरीह, कमजोर र असहाय नठान्नुहोला। समस्याको समाधानसँगै मिलेर एकै टेबुलमा बसेर खोज्ने हो । निजी क्षेत्रले खोजेको समाधान सरकारलाई मान्य हुने र सरकारको खोजेको समाधान निजी क्षेत्रलाई मान्य हुने गरी समाधान खोजौँ।’ रासस

सुझावित समाचार