दसैँका लागि राजधानीमा खसी–बोका र च्यांग्राको चहलपहल बढेको छ । घटनास्थापनादेखि दसैँलक्षित खसी–बोका र च्यांग्राको आपूर्ति बढाइएको भए पनि व्यापार उत्साहजन नभएको माछामासु व्यवसायी संघले जनाएको छ ।
संघका अनुसार घटनास्थापनादेखि दैनिक एक–दुई गाडी खसी–बोका आउन थालेको छ । शुक्रबारबाट भने दैनिक तीन गाडीसम्म आपूर्ति गरिने संघसचिव बाबुकार्जी महर्जनले बताए । ‘शुक्रबारबाट दसैँका लागि जिउँदो खसी र च्यांग्राको बिक्री बढ्ने हो,’ कलंकी खसी बजारमा व्यापार गर्दै आएका उनले भने, ‘त्यसैले, आपूर्ति पनि शुक्रबारबाट बढ्छ । तर, विगतको जस्तो यसपालि बजारमा उत्साह छैन ।’ उपभोक्ताको भिड पनि विगतको जस्तो छैन ।’
विगतमा हप्तामा १० गाडी खसी–बोका ल्याउँदा पनि माग धान्न मुस्किल हुने गरेको उनले बताए । तर, यसपालि भने तुलनात्मक रूपमा थोरै ल्याउँदा पनि बजार माग पूर्ति भइरहेको उनले जानकारी दिए । ‘शुक्रबार फूलपाती हो । त्यसैले, मागमा सुधार आउने अपेक्षा छ । त्यसैले आपूर्ति पनि बढाउने गरी तयारी भएको छ,’ उनले भने ।
संघले जिउँदो खसीको मूल्य प्रतिकिलो आठ सयदेखि आठ सय ५० सम्म निर्धारण गरेको छ । शुक्रबारबाट भने मूल्य बढ्न सक्ने संघको भनाइ छ । विगतमा रसुवा नाकाबाट समेत च्यांग्रा आयात हुने गरेकामा यसपालि मुस्ताङबाट मात्रै ल्याइएको उनले बताए । जिउँदो च्यांग्रा प्रतिकिलो १३ सयदेखि १६ सय रुपैयाँसम्म रहेको महर्जनले जानकारी दिए ।
उनका अनुसार बुढीगण्डकीमा आएको बाढीका कारण गोरखाको उत्तरी भेगबाट समेत खसी–बोका ल्याउन सकिएको छैन । यसपालि नुवाकोटको माथिल्लो भेगबाट पनि काठमाडौंमा खसी–बोका आपूर्ति नभएको उनले बताए । ‘विकट क्षेत्रमा चरन भएका खसी–बोकाको माग उपत्यकामा धेरै छ, तर यसपालि बाटोको कठिनाइका कारण ती क्षेत्रबाट ल्याउन सकिएन,’ उनले भने ।
कलंकी र टुकुचा खसी बजारमा धादिङ, मकवानपुर, चितवन र सुदूरपश्चिमबाट खसी–बोका आपूर्ति गरिएको उनले बताए । त्यस्तै, भक्तपुरको सल्लाघारीमा सिन्धुली, रामेछाप, दोलखा, काभ्रे र मधेशबाट पनि छिटपुट रूपमा खसी–बोका आएको संघले जानकारी दिएको छ ।