भूकम्पलक्षित ‘क्याटास्ट्रोफी बन्ड’का लागि नेपाल र विश्व बैंकबिच सम्झौता

शुक्रबार, ३० असोज, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ नेपालमा भूकम्पपछिको पुनस्र्थापना तथा पुनर्निर्माणमा शीघ्र स्रोत जुटाउने उद्देश्यसहित ‘विपत क्याटास्ट्रोफी बन्ड’ विकास गरिने भएको छ । यसका लागि नेपाल र विश्व बैंकले साझेदारी गर्ने भएका हुन् ।

भूकम्पीय जोखिम र यसबाट पर्न सक्ने हानि तथा नोक्सानीको सम्बोधनका लागि नेपालले शीघ्र वित्तीय स्रोत जुटाउन सकोस् भन्ने उद्देश्यले क्याटास्ट्रोफी बन्ड विकास गर्ने सम्बन्धमा नेपाल र विश्व बैंकबिच सम्झौता भएको छ । यस सम्झौतासँगै नेपालको समग्र विपत् जोखिम व्यवस्थापन रणनीतिलाई सहयोग पुर्याउन पुँजी बजारको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयको लेखाजोखा गर्ने सहकार्यको सुरुवात भएको छ ।

क्याटास्ट्रोफी बन्ड एक प्रकारको ऋणपत्र हो । खासगरी विपत् व्यवस्थापनमा शीघ्र स्रोत जुटाउन समस्या हुने गरेको छ । यस्तो वेला यस्ता ऋणपत्रको उपयोग गर्न उचित ठानिन्छ । सम्झौताअन्तर्गत विश्व बैंक समूहको ट्रेजरीले नेपाल सरकार र पुँजी बजारमा रहेका लगानीकर्तासँग सहकार्य गरी यस्तो क्याटास्ट्रोफी बन्ड विकास र जारी गर्न वित्तीय सम्भाव्यता र सम्भावित संरचनाको लेखाजोजा गर्नेछ । 

यो पहल विश्व बैंक समूहको स्थापित क्याटास्ट्रोफी बन्ड कार्यक्रमको एक हिस्सा हो । यस कार्यक्रमले विभिन्न देशलाई विपत्जन्य जोखिम हस्तान्तरण गर्न र प्राकृतिक प्रकोपविरुद्ध वित्तीय सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय पुँजी बजारमा पहुँच पुर्याउन सहयोग गर्दै आएको छ । 

सुझावित समाचार