रुकुम पश्चिममा बाढीले पाँच घर बगाउँदा तीन बालिकाको मृत्यु

संखुवासभामा टहरामाथि पहिरो खस्दा सासू–बुहारीले गुमाए ज्यान

बुधबार, २ साउन, २०८१
डिजिटल संस्करण
रुकुम पश्चिममा बाढीले पाँच घर बगाउँदा तीन बालिकाको मृत्यु

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– १२ झिनचौरस्थित गिजाखोलाको बाढीले घर बगाएको स्थान

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– १२ झिनचौरस्थित गिजाखोलाको बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ । सोमबार मध्यराति खोलाको बाढीले खेतसहितको जमिन कटान गरेर पाँच घर बगाउँदा मानवीय क्षतिसमेत भएको हो ।

रुकुम पश्चिम प्रहरी कार्यालयका प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार झिनचौरका रुद्र पुनका १० वर्षीया छोरी हितमाया र आठ वर्षीया धनिसा तथा रुद्रकी भान्जी चार वर्षीया मनीषा सार्कीको ज्यान गएको हो । उनीहरूको शव घरभित्र पुरिएको अवस्थामा फेला परेको थियो । मनीषा मामाघर गएकी थिइन् । त्यस्तै, ३८ वर्षीय डिल्ली बुढाथोकीलाई बाढीले बगाएको छ । उनको अवस्था अज्ञात छ । राति १२ बजे बाढी आए पनि बिहान ३ बजे मात्र पालिकाको नगर प्रहरी र नेपाल प्रहरी घटनास्थल पुगेको थियो । 

सुतिरहेको अवस्थामा बाढी आएकाले तीन बालिकालाई बचाउन नसके पनि अन्य सदस्य भने भाग्न सफल भएको नगर प्रहरी खम्बु बाठाले जानकारी दिए । बाढीले घर बगाउँदा नौजना घाइते भएका छन् । झिनचौरका विजय सार्की, मनीषा पुन, मनसरी पुन, जनक खत्री, रुद्र पुनका चार वर्षीय छोरा मेक्सन, २८ वर्षीया धनमाया पुन, कल्पना कामी, टीकाराम कामी र शेरबहादुर पुन घाइते भएका छन् । धनमाया गर्भवती छिन् । उनीहरूको आठबिसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । 

प्रहरीका अनुसार बाढीले बमबहादुर खत्रीको घर र पसल, डिल्लीबहादुर बुढाथोकीको घर, धनजित सार्कीको घुम्ती पसल, भूकम्पपीडित रुद्र पुनको अस्थायी टहरा र दीपक परियारको कच्ची घर, टहरा र शौचालय बगाएको छ ।

संखुवासभामा टहरामाथि पहिरो खस्दा सासू–बुहारीको मृत्यु 

संखुवासभाको सिलिचोङ गाउँपालिका– १ सिसुवाखोलामा टहरामाथि पहिरोसहितको ढुंगा खस्दा सासू–बुहारीको ज्यान गएको छ । मंगलबार बिहान ५ बजे पहिरोमा परेर सासू मोतीमाया कुलुङ र बुहारी समीक्षा कुलुङको मृत्यु भएको प्रहरीले जनाएको छ । समीक्षाका श्रीमान् वैदेशिक रोजगारीमा छन् । 

गम्भीर घाइते मोतीमायाकी छोरी रविना कुलुङलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरी अस्पताल काठमाडौं लगिएको छ । परिवारका बाँकी तीन सदस्य (मोतीमायाका श्रीमान् र छोराछोरी)ले भने भागेर ज्यान जोगाएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए । सिसुवा बजारबाट पैदल दुई घण्टाभन्दा धेरै समय लाग्ने उक्त ठाउँ दुर्गममा पर्छ । 

सिलिचोङ– १ का वडाध्यक्ष गणेश कुलुङका अनुसार कुलुङ धान रोप्नका लागि खेतनजिकै अस्थायी रूपमा टहरा बनाएर बसेका थिए । तर, अविरल वर्षासँगै मंगलबार बिहान टहरामाथिबाट पहिरो र ढुंगा पल्टिएर गोठ भत्काउनुका साथै दुईजनाको घटनास्थलमा मृत्यु भएको उनले बताए । 

See More On

सुझावित समाचार