शपथ लिएसँगै सोमबारै मन्त्रिपरिषद्लाई पूर्णता दिने ओलीकाे कसरत

सोमबार, ३१ असार, २०८१
डिजिटल संस्करण

नवनियुक्त प्रधानमन्त्री केपी ओलीले सोमबार शपथ लिएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी विस्तार गर्ने तयारी गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँगको परामर्श र पार्टीभित्र आन्तरिक गृहकार्यपछि उनले पहिलो चरणमै पूर्णता दिने गरी तयारी गरेका हुन् । यद्यपि, यसको औपचारिक टुंगो भने सोमबार मात्रै लाग्ने नेताहरूले बताएका छन् । 

देउवासँगको पछिल्लो छलफलमा एमालेले प्रधानमन्त्रीसहित कम्तीमा सात र कांग्रेसले उपप्रधानमन्त्रीसहित आठ मन्त्रालय राख्ने गरी समझदारी बनेको छ । बाँकी मन्त्रालय साना दललाई बाँडफाँट गर्ने र दुवै प्रमुख दलबाट एक–एकजना उपप्रधानमन्त्री बनाउने समझदारी छ । जसअनुसार कांग्रेसबाट नेता प्रकाशमान सिंहले उपप्रधानमन्त्रीसहित सरकारमा पार्टीको नेतृत्व गर्नेछन् भने एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री बन्दै छन् । 

कांग्रेसले गृहसहित परराष्ट्र, ऊर्जा, स्वास्थ्य, पर्यटन, सहरी विकास, कानुन र वन तथा वातावरण मन्त्रालय लिने मोटामोटी समझदारी छ । त्यस्तै, एमालेले अर्थसहित, भौतिक योजना तथा पूर्वाधार विकास, सञ्चार, शिक्षा, उद्योग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था मन्त्रालय लिने प्रारम्भिक समझदारी छ । तर, अन्तिम टुंगो भने सोमबार मात्रै लाग्नेछ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले साझेदार दल कांग्रेससँग सोमबार शपथसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी प्रधानमन्त्रीले परामर्श गरेको बताए । ‘मन्त्रिपरिषद्लाई एकैचोटि पूर्णता दिऔँ भन्ने सुझाव दिएका छौँ, प्रधानमन्त्रीले कांग्रेससँग पनि त्यसअनुसार नै परामर्श गर्नुभएकाले उहाँहरूले पनि आवश्यक तयारी गर्नुभएको होला । गृहकार्य पूरा भएछ भने मन्त्रिपरिषद्ले सोमबारै पूर्णता पाउँछ,’ ज्ञवालीले भने । 

जसपाको उपेन्द्र यादव समूह र अशोक राई समूह तथा लोसपालाई पनि सोमबारै मन्त्रिपरिषद्मा समेट्ने गरी प्रधानमन्त्री ओलीले परामर्श गरेका छन् । उपमहासचिव ज्ञवालीका अनुसार जसपाको यादव समूह र लोसपाबाट प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूले शपथ लिनेछन् । अशोक राई समूह, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबाट भने टुंगो लाग्न बाँकी छ । जनमत पार्टीसँग मधेश प्रदेशमा पनि सहकार्य भएकाले केही दिनभित्रै केन्द्र सरकारका विषयमा टुंगो लाग्न सक्ने पनि उनले बताए । 

प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीको पहिलो प्रतिक्रिया– सबैलाई सम्मान, सबैलाई धन्यवाद 
११ फागुन ००८ मा इवा–२ तेह्रथुममा जन्मिएका केपी ओली ७१ वर्षको उमेरमा चौथोपटक प्रधानमन्त्री नियुक्त भएका छन् । पिता मोहनप्रसाद ओली र आमा मधु ओलीको कोखबाट जन्मिएका ओलीले डेढ वर्षको छँदै आमा गुमाएका थिए । पछि उनको परिवार शरणामती–६, झापामा बसाइँ सरेको थियो । झापाको चारपानेस्थित रामनाथ दाहालको घरमा बसेर गरिबी र अभावसँग जुध्दै टुहुरो बाल्यकाल बिताएका उनले स्थानीय विद्यालयबाट प्रवेशिकासम्मको अध्ययन पूरा गरे । मार्क्सवादी चेतका दाहालसँगको संंगतबाट ०२३ मै मार्क्सवादी अध्ययन दलमा आबद्ध भई विद्यार्थी आन्दोलनमा होमिएका थिए उनी । 

१४ वर्ष लामो कष्टसाध्य जेलनेल भोगेका नेता ओलीको राजनीतिक यात्रा भारतीय नक्सलाइट आन्दोलनबाट प्रभावित झापाको वर्गशत्रु खत्तम अभियानको संघर्षसँगै अगाडि बढेको हो । ०२८ मा झापाली कम्युनिस्ट समूहबाट झापा जिल्ला कमिटी सचिव भएर उनले पहिलोपटक जिल्ला नेतृत्व सम्हालेका थिए । उनी ०२२ बाटै कम्युनिस्ट राजनीतिमा लागेका थिए । ०२६ मा कम्युनिस्ट पार्टीको सदस्यता लिए । पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा ओली ०३० देखि ०४४ सम्म १४ वर्ष जेल परेका थिए । दश वर्षयता उनी लगातार दोस्रो कार्यकाल एमालेको अध्यक्ष छन् । ०४८, ०५९, ०७०, ०७४ र ०७९ को निर्वाचनमा ओली गृहजिल्ला झापाबाट सांसद निर्वाचित भए ।  उनी ०५१ मा गृहमन्त्री र ०६४ मा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री भएका थिए । 

कांग्रेसलाई मन्त्री छान्न सकस, इतर समूहको चार मन्त्रालयमा दाबी

आकांक्षी धेरै हुँदा कांग्रेसमा मन्त्री छान्न सकस देखिएको छ । नेता शेखर कोइराला–महामन्त्री गगन थापा समूहले चार मन्त्रालय दाबी गरेको छ । तर, सभापति देउवाले तीन मन्त्रालय मात्र दिन सकिने बताएको स्रोतको भनाइ छ । कांग्रेसले आठ मन्त्रालय पाउने एमालेसँगको प्रारम्भिक समझदारी छ । एक पदाधिकारीका अनुसार सोमबार बिहान भौगोलिक सन्तुलन मिलाएर पार्टीभित्रको भागबन्डालाई अन्तिम टुंगो लगाउने तयारी छ ।

सात प्रदेशको सन्तुलन मिलाउने गरी एमालेमा मन्त्रीको प्रारम्भिक सूची
प्रधानमन्त्री केपी ओलीले पार्टीका पदाधिकारी तथा सम्भावित मन्त्रीहरूसँग मन्त्रिपरिषद् विस्तारबारे प्रारम्भिक छलफल गरेर प्रारम्भिक सूची तयार गरेका छन् । उनले आइतबार साँझ पूर्वराष्ट्रपति विद्या भण्डारीलाई चपलीस्थित निवासमै भेटेर निर्णायक परामर्श गरेका छन् । कार्यसम्पादन क्षमता, विगतको कार्यसम्पादन, राज्य सञ्चालन गर्न मन्त्रालयहरूको नेतृत्व गरेर सेवाप्रवाह गर्दै सुशासनको अनुभूति दिलाउन सक्ने व्यक्तिलाई मन्त्री नियुक्त गर्न अन्य नेताहरूले ओलीलाई सुझाएका छन् ।

See More On

सुझावित समाचार