माओवादीको अबको बाटो

सोमबार, ३२ असार, २०८१
डिजिटल संस्करण

संसद्का दुई मुख्य प्रतिस्पर्धी दल मिलेर सत्ता चलाउनु लोकतन्त्रको आधारभूत मान्यताविपरीत छ, यसबाट लोकतन्त्र कमजोर हुन्छ

देशमा दुई ठूला दलको नयाँ सत्तागठबन्धन बनेको छ । यो गठबन्धनको आवरणमा संविधान संशोधन, राष्ट्रिय सहमति, स्थायित्व भनिएको भए पनि अन्तर्निहित उद्देश्यचाहिँ अर्कै छ । भूराजनीतिक स्थितिसँग पनि यो जोडिएको छ । अघिल्लो समीकरण हामीले नेपाली जनताको भावना, विचार र अपेक्षा सबैलाई सम्बोधन गर्ने गरी बनाएका थियौँ । अहिलेको गठबन्धन प्रथम दृष्टिमै अस्वाभाविक, अप्राकृतिक, संसदीय र अहिलेको हाम्रो व्यवस्थाको प्रतिकूल छ । संसद्का दुई ठूला दल मिलेर सत्तागठबन्धन बनाउनु लोकतन्त्रको आधारभूत मुख्य मान्यताविपरीत छ । सैद्धान्तिक, संवैधानिक र नैतिकता विपरीत पनि छ । मुख्य प्रतिस्पर्धी दल मिलेर सत्ता चलाउँदा लोकतन्त्र कमजोर हुन्छ । संविधानको स्पिरिट पनि बहुमतको सरकार र मजबुत अल्पमतको प्रतिपक्ष हो । राष्ट्रिय सहमति, स्थायित्व आदि त आवरण मात्रै हुन् ।

समावेशी निस्तेज पार्ने प्रयत्न : हुन त सहमतिपत्र अझै बाहिर आइसकेको छैन । तर, जे–जति बाहिर आएका छन्, त्यसबाट संविधान संशोधनको कुरा अग्रगमनतिर होइन, पश्चगनतिर केन्द्रित छ भन्ने बुझिन्छ । संविधानमा लिपिबद्ध भएका प्रगतिशील विषयलाई अझ विकास गर्ने, समृद्ध गर्नेतिर होइन, प्राप्त उपलब्धिलाई उल्ट्याउन संविधान संशोधनको कुरा गरिएको छ । समानुपातिक, समावेशी प्रणालीलाई निस्तेज पार्न खोजिँदै छ । प्रतिनिधिसभामा सबै प्रतिनिधि प्रत्यक्ष निर्वाचनबाट चुनिने, तर समावेशी राष्ट्रिय सभामा सीमित गर्ने भनिएको छ । यो भनेको समानुपातिक प्रतिनिधित्वको ढोका बन्द गर्नु हो । देशको प्रधानमन्त्रीमा पनि प्रतिस्पर्धा गर्न पाउने अधिकारबाट रोक्ने उद्देश्यले राष्ट्रिय सभामा आलंकारिकजस्तो बनाएर राख्ने आशयसाथ यो आएको छ ।

पहिले पनि धेरै ठूलो जोडबल गरेर समानुपातिक र प्रत्यक्षमा बराबरीजस्तो प्रतिनिधित्वको व्यवस्था गरिएको थियो । पछि आएर त्यो निकै घटेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ प्रत्यक्ष र ११० मात्रै समानुपातिक प्रतिनिधित्व छ । अहिले नयाँ गठबन्धनले यसलाई पनि घटाउने प्रयत्न गर्दै छ । एक–दुई अनुहार राष्ट्रिय सभामा देखाउने र समानुपातिक, समावेशी सिद्धान्तलाई उल्ट्याउने प्रयत्न हामीलाई स्वीकार्य छैन ।

संघीयताको मर्ममाथि प्रहार : स्थानीय तहको संख्या घटाउने खतरनाक विषय आइरहेको छ । संविधान बनाउने वेलामा हामीले जिल्ला नराखौँ भनेर ठूलो जोड गरेका थियौँ । स्थानीय तह, प्रदेश र केन्द्र सरकार भएपछि जिल्ला आवश्यक छैन भन्ने हाम्रो तर्क थियो । तर, कांग्रेस र एमालेले ज्यान गए मानेनन् । समन्वय गर्न मात्रै जिल्ला चाहिने हो भन्ने उनीहरूको तर्क थियो । जतिवेला जनता जागेका हुन्छन्, आन्दोलनको रापताप हुन्छ, त्यतिवेला नजानिँदो गरी सियो बनेर पस्ने र पछि हात्ती बनेर निस्कने कोसिस हुँदै छ । सामान्य समन्वय गर्ने मात्रै भनेर हामीले जिल्ला स्विकारेका हौँ । अहिले स्थानीय तहको संख्या घटाउने विषय त्यही मान्यतामा आधारित छ । बिस्तारै २७७ जिल्लातिर लैजाने र संघीयताको मर्ममाथि प्रहार गर्ने प्रयत्न हुँदै छ । गणतन्त्रको जनमतलाई नै कमजोर पार्ने दुस्प्रयत्न हरेक कोणबाट भइरहेको छ । धर्मनिरपेक्षताको कुरा पनि कांग्रेसको महासमिति बैठकमा खुला रूपमा स्टल नै राखेर प्रतिनिधिलाई सहजतासाथ हस्ताक्षर गर्ने वातावण बनाइएकै हो । यसबाट अहिलेको व्यवस्थाका चारवटा पिलर गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशीलाई कमजोर बनाउने खेल भइरहेको छ । एउटा पिलर अलिकति हल्लिन थाल्यो भने अन्य तीनवटै पिलरलाई असर गर्छ । यसरी समग्र परिवर्तनलाई उल्ट्याउने दिशातिर यो गठबन्धन परिलक्षित छ । 

अग्रगमनतिर जाऔँ : संविधान संशोधन गर्ने हो भने अग्रगमन या परिवर्तनको दिशातिर जानुपर्छ । हामीले पहिला पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा संविधानसभामा लामो संघर्ष गर्यौँ । प्रणालीले नै गर्दा बहुमत आएन, अस्थिरता भयो भन्ने लाग्छ भने पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔँ । त्यसले निर्वाचनमा देखिएका सबै विकृति र विसंगतिको अन्त्य गर्छ । अझ प्रगतिशील, अझ उन्नत खालको लोकतान्त्रिक मूल्य मान्यतामा आधारित भएर संविधान संशोधन गर्न तयार हुनुहुन्छ भने ठीक छ । तर, अहिलेसम्म जेजति कुरा कांग्रेस र एमालेका नेताबाट सार्वजनिक भएका छन्, त्यसले परिर्वतन र अग्रगमनतिर होइन, प्रतिगमनतिर नै जान लागेको संकेत गरेको छ । स्थायित्वको नारा दिँदै जनताको अधिकार खोसेर फेरि एकपटक अस्थिरतातिर लैजाने, राष्ट्रलाई कमजोर बनाउने उद्देश्य देखिन्छ ।

पचेन सुशासन : सुशासनको विषयमा जनता आशावादी हुँदै थिए । भूमिसम्बन्धी विषयमा एकप्रकारले सामाजिक क्रान्ति नै भएको छ । विभिन्न जग्गाको खोजबिन गर्ने, त्यसलाई सरकारको नाममा ल्याउने, कानुनद्वारा व्यवस्थित गर्नुका साथसाथै मिटरब्याजीलगायत शोषण, दोहनविरुद्ध सरकारले कदम चालेको थियो । नक्कली भुटानी शरणार्थीविरुद्धको सरकारी कदम, सुनकाण्डको उत्खनन र छानबिन, अन्य भ्रष्टाचारविरुद्धको समग्र अभियान अगाडि बढेको थियो । भ्रष्टाचार नै सुशासनको सबैभन्दा ठूलो बाधक÷अवरोधक हो भन्ने निचोडसाथ सरकार अगाडि बढेको थियो । भ्रष्टाचार सामान्य आर्थिक विषय मात्रै होइन, राष्ट्रिय सुरक्षा र राष्ट्रियताको सवाल पनि हो । शून्यसहनशीलताको नीतिअन्तर्गत भ्रष्टाचारविरुद्ध लाग्नुपर्छ भन्नेमा सरकार दृढ थियो । भ्रष्टाचारविरुद्धको अभियान, सामाजिक न्यायसहितको सुशासन र समृद्धिमा अगाडि जाने प्रयत्न सरकारले गरिरहेको थियो ।

आर्थिक क्षेत्रलाई पनि ट्र्याकमा ल्याउने प्रयास भइरहेको थियो । यद्यपि, विभिन्न सीमाका कारण सरकारले चाहेजति भने काम गर्न सकेको थिएन । तर, अधिकतम बल गरेकै थियो । यी यावत कुराले कहीँ न कहीँ खिचडी पाकिरहेको थियो । उनीहरूले भन्ने पनि गरेका थिए–हामी ठुल्ठूला पार्टी बाहिर भयौँ । तेस्रो पार्टीले नेतृत्व गरिरहेको छ । अभिजात, सम्भ्रान्त वर्गले उनीहरूलाई निरन्तर उकासिरहेको थियो । यस्तो परिस्थितिमा रहस्यमय, अपारदर्शी ढंगले अस्वाभाविक गठबन्धन अगाडि आयो । यसले राष्ट्रिय सहमतिको कुरा त धेरै टाढाको भयो, सामान्य सहमति गरेर पनि जान सक्दैन ।

माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ । उहाँलाई थाहै नदिई मध्यरातमा बसेर सहमति हुन्छ र फेरि राष्ट्रिय सहमतिका लागि भनेर कपोलकल्पित कथा बनाइन्छ । भारत भ्रमणमा प्रधानमन्त्री जाँदा भारतीय प्रधानमन्त्रीसँग गठबन्धन फेरिन्छ, राष्ट्रिय सहमतिको सरकार बनाइन्छ भनेर प्रधानमन्त्रीले भन्नुभयो र भारतबाट फर्केर आएपछि कांग्रेससँग कुरा गर्नुभयो भन्ने मिथ्या आरोप लगाइएको छ । यथार्थ के हो भने, तत्कालीन सत्तासमीकरणको सबैभन्दा ठूलो दल एमालेका अध्यक्ष केपी ओलीसँग दिनको तीनपल्टसम्म बृहत् वामपन्थी एकताबारे प्रधानमन्त्रीले छलफल गर्नुभएको थियो । कम्युनिस्ट पार्टीको पुनर्गठन गर्दै अगाडि बढ्ने कुरा भएको थियो । पश्चिम बंगाल हेर्दाहेर्दै सकियो । हामीमाथि नेपालको श्रमजीवी वर्गको मात्रै होइन, अन्तर्राष्ट्रिय श्रमजीवी वर्गको समेत अपेक्षा छ भन्ने कुरा पनि भएकै हो । त्यो अपेक्षा पूरा गर्न हामीले राम्रो समझदारी कायम गर्नुपर्छ भन्ने कुरा चलिरहेकै थियो ।

नेपाल समाजवादको अभ्यास र समाजवादको पूर्वाधार निर्माणका लागि उर्वर भूमि हो । नेपाली जनताको आशा, अपेक्षा र सपना पूरा गर्न कम्युनिस्ट नामका पार्टीहरूले राम्रो समझदारी कायम गरेर अगाडि बढ्नैपर्छ भन्ने मान्यतासाथ निरन्तर छलफल चलिरहेको थियो । यस्तो वेला एक्कासि किन र कसरी समीकरण तोडियो भन्ने प्रश्न गम्भीर छ । यो देश र जनताको हितमा छैन । संविधान, गणतन्त्र र लोकतन्त्रको बर्खिलाप छ । पछाडि फर्कन नचाहने नेपाली जनतालाई यो मान्य हुनेछैन ।

माओवादीको अबको बाटो : हामीले संविधानमै समाजवादउन्मुख राज्य भनेका छौँ । समाजवाद भनेको साँच्चिकै दुनियाँको सबैभन्दा सभ्य र सुसंस्कृत व्यवस्था हो । संविधानमा भएको प्रावधान इमान्दारपूर्वक लागू गर्नु, त्यसको व्याख्या गर्दै अगाडि बढ्नुपर्नेमा अब समाजवादभन्दा पनि सामाजिक लोकतन्त्र भन्नुपर्छ भन्न थालिएको । यस्ता विषयलाई एक–एक गरी उल्ट्याउने नयाँ गठबन्धनको मुख्य उद्देश्य देखिन्छ । 

तसर्थ, राष्ट्रलाई वैचारिक, राजनीतिक, सैद्धान्तिक हिसाबले नेतृत्व गर्ने असाध्यै ठूलो ऐतिहासिक कार्यभार फेरि माओवादीकै काँधमा आएको छ । सबैभन्दा पहिला माओवादीले रूपान्तरणका लागि शुद्धीकरण अभियान चलाउनुपर्छ । पार्टीमा मात्रै होइन, सिंगो राष्ट्रमा शुद्धीकरण आवश्यक छ । आन्दोलनलाई पनि शुद्धीकरण गर्नुपर्नेछ । हिजोको जस्तो परम्परागत आन्दोलन होइन । विश्व कल्पनै नगरिएका जटिल परिस्थिति सिर्जना गर्दै परिवर्तित भइरहेको छ । यो परिवर्तनलाई आत्मसात् गर्दै आजसम्म मानवजातिले आर्जन गरेको ज्ञान, क्षमताको उच्च संश्लेषण गर्दै अब हामीले विचारको विकास गर्नुपर्छ ।

अबको मुख्य कार्यभार भनेको समाजवादी विचारधाराको विकास नै हो । त्यसका लागि हामी वैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक पुनर्गठन गर्दै अगाडि बढ्छौँ । तत्कालै केन्द्रीय समिति बैठकको तयारीका लागि स्थायी समितिको बैठक बस्छ । केन्द्रीय समिति बैठकबाट विशेष महाधिवेशनको निर्णय गर्छौँ । पार्टीभित्र पनि महान् बहसको प्रक्रिया आरम्भ गर्छौँ । त्यो बहसले सिंगो राष्ट्रलाई विचार, सिद्धान्त र राजनीतितिर डोर्याउनेछ । अराजकता, प्रियतावादलाई नियन्त्रण गर्ने अस्त्र पनि विचार नै हो । विचारमा विकास गर्दै र पार्टीलाई शुद्धीकरणका माध्यमबाट सुदृढीकरण गर्दै अगाडि बढ्नेछौँ । 

सदनमा सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निभाउने छौँ । हाम्रो सदनको उपस्थितिलाई गुणात्मक बनाउनेछौँ । त्यसलाई हामी सडकमा पनि जोड्नेछौँ । हाम्रो विचार, सिद्धान्त र राजनीतिक तर्क–वितर्कले सिंगो जनतालाई आकर्षित गर्नेछ । हामीले हिजो दुनियाँकै ध्यानाकर्षित गरेका थियौँ । दुनियाँले हाम्रो जनयुद्धको उच्च मूल्यांकन गरेको थियो । हामी वर्गतिर थियौँ । वर्गको विश्वास हामीलाई थियो । र, वर्गीय प्रेमसाथ हामी अगाडि बढेका थियौँ । त्यो आज कमजोर भएको छ । त्यो कमजोर हुनुको मुख्य कारण विचार संश्लेषण नहुनु हो ।

हामीले ०५७ मा महान् अग्रगामी छलाङ भन्यौँ । त्यसयता त्यो स्तरको विचार संश्लेषण नगरेकै कारण एकातिर हाम्रो वर्गीय सम्बन्ध कमजोर भयो भने अर्कातिर हाम्रो वर्ग उत्थान पनि भयो । अब हामी जनतातिर फर्र्कन्छौँ, अर्थात् आफ्नो वर्गतिर फर्कन्छौँ । दलित, महिला, जनजाति, सीमान्तकृत जनसमुदाय, मजदुर, किसान आदि हाम्रा वर्ग हुन् । जनतालाई हामी एकैसाथ बहुआयामिक अपिल गर्छौँ । संविधान, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सुशासन र समृद्धिका लागि जनताको साथमा रहेर हामी सशक्त अवाज उठाउँदै अगाडि बढ्छौँ ।

(सापकोटा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता हुन्)

सुझावित समाचार