ट्रम्पको हत्या प्रयासको राजनीतिक छवि

सोमबार, ३२ असार, २०८१
डिजिटल संस्करण

रक्ताम्य ट्रम्पको उचालिएको मुठ्ठीसहितको तस्बिरले पक्कै पनि उनको सम्पूर्ण चुनावी अभियानका लागि समर्थन जुटाउन सक्छ

पेन्सिलभेनियामा शनिबार एक र्यालीमा डोनाल्ड ट्रम्पमाथि गोली प्रहार गरिएको छ । पूर्वराष्ट्रपति एवं वर्तमान रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवारको हत्या प्रयासको अनुसन्धान भइरहेको छ । राष्ट्रपति र राष्ट्रपति पदका उम्मेदवारको हत्या प्रयास अमेरिकी इतिहासमा नौलो होइन र यस्ता घटना घटिरहन्छन् । पेन्सिलभेनियामा जे भयो, त्यो डरलाग्दो छ तर दुःखको कुरा त्यसमा अचम्म मान्नुपर्ने भने केही छैन ।

अमेरिकाका कैयौँ वरिष्ठ राजनीतिक व्यक्तित्वले ट्रम्पमाथिको गोली प्रहारपछि सार्वजनिक वृत्तमा आउँदै अमेरिकामा राजनीतिक हिंसाका लागि कुनै स्थान छैन भनेका छन् । यी अभिव्यक्तिले वास्तवमै म छक्क परेकी छु । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसप्रकारको हिंसा अमेरिकाले ‘नचिनेको’ बताएका छन् । त्यो निकै ताज्जुबलाग्दो कुरो हो । अमेरिका नै राजनीतिक हिंसामा स्थापित भएको थियो र वास्तवमा राजनीतिक हिंसाका घटना सम्पूर्ण अमेरिकी इतिहासमा घट्दै आएका छन् । वास्तवमा बाइडेनले आफ्नो राजनीतिक करिअरको सुरुवात नै हत्या गरिएका केनेडी भाइहरूको राजनीतिक उत्तराधिकारीका रूपमा गरेका थिए । स्मरण रहोस्, राष्ट्रपति जोन एफ केनेडीको सन् १९६३ मा र भाइ रोबर्ट एफ केनेडीको सन् १९६८ मा हत्या गरिएको थियो ।

यद्यपि, अहिलेको राष्ट्रपतीय चुनावी अभियानको अस्थिर अवस्था र अमेरिकामा रहेको गहिरो विभाजनलाई हेर्दा यो घटना अहिलेको समयमा हुनु गम्भीर चिन्ताको विषय हो । गोली प्रहारलाई विभिन्न षड्यन्त्रको सिद्धान्तमार्फत सामाजिक सञ्जालमा अस्त्रका रूपमा प्रयोग गरिँदै छ । अर्थात् यस किसिमका हिंसा बढ्ने सम्भावना अत्यधिक छ । तपाईंले ६ जनवरी २०२१ मा अमेरिकी क्यापिटोलमा भएको हमलालाई मात्र हेर्दा पनि अमेरिकामा राजनीतिक हिंसा निकै चाँडो भड्किने गर्छ भन्ने देखिन्छ । आंशिक रूपमा यो कम्तीमा पनि हालका वर्षमा उग्रदक्षिणपन्थी तत्वले नियतवश हिंस्रक बयानबाजीको खेती गरेका कारणले हो ।

विशेषतः सन् २०१६ मा राष्ट्रपति पदका लागि उनको पहिलो चुनावी अभियान सुरु भएदेखि नै ट्रम्पको र्यालीमा राजनीतिक हिंसा वृद्धि हुन थालेको हो । हिंसाको धम्की ट्रम्पको राजनीतिक छवि, उनको अपिल एवं समर्थन आधारको केन्द्रबिन्दु बनेको छ । ट्रम्पले हिंसा सम्बन्धमा बयानबाजी गरेको सुन्नका लागि तपाईंले उनका सबै र्याली र भाषण हेर्नैपर्दैन केही क्षण मात्र हेरे पुग्छ । भाषणमा उनी प्रायः हिंसालाई बडो स्वादका साथ जीवन्त रूपमा प्रस्तुत गर्छन् । उदाहरणका लागि उनले सन् २०२२ मा पूर्वअमेरिकी सभामुख न्यान्सी पेलोसीका श्रीमान् पलमाथि घरमै भएको आक्रमणबारे छलफल गर्दा बारम्बार षड्यन्त्रको सिद्धान्त दोहोर्याउने गरेका छन् ।

ट्रम्पले उनको खिल्ली उडाएका छन् र उनीमाथि भएको आक्रमणबारे ठट्टा पनि गरेका छन् । यो कुनै त्रुटि होइन, ट्रम्पको चुनावी अभियान र उनलाई समर्थन गर्ने आन्दोलनको एक नियोजित पक्ष नै हो । र, यसको वास्तविक जीवनमा ठूलो प्रभाव छ । एबिसी न्युज (अमेरिकी मिडिया संगठन)ले सन् २०२० मा गरेको राष्ट्रव्यापी समीक्षाले ५४ आपराधिक मुद्दा पहिचान गरेको थियो जसमा ट्रम्प आफैँले ‘हिंस्रक कार्य, हिंसाको धम्की वा आक्रमणको आरोपसँग प्रत्यक्ष सम्बन्ध’ रहेका घटनालाई भड्काएका थिए ।

केही साताअगाडि मात्रै दक्षिणपन्थी ‘थिंक ट्यांक’ ‘हेरिटेज फाउन्डेसन’का अध्यक्ष केभिन रोबर्ट्सले ‘दोस्रो अमेरिकी क्रान्ति’बारे छलफल गरेका थिए । उनी ट्रम्पको दोस्रो राष्ट्रपतीय कार्यकालका लागि अमेरिकी सरकारलाई पुनर्संरचना गर्ने प्रोजेक्ट २०२५ का योजनाकार हुन् । यो क्रान्ति ‘रक्तपातविहीन तब मात्र हुनेछ जब वामपन्थी शक्तिले क्रान्तिलाई रक्तपातविहीन हुने अनुमति दिनेछ’ रोबर्ट्सले बताएका थिए । हिंसाको खतरा कत्तिको फराकिलो छ भन्ने कुरालाई ध्यानमा राख्दा यो स्तरका घटना बारम्बार देखानपर्नु वा अहिलेसम्म नहुनु आश्चर्यको विषय हो ।

चुनावी अभियानलाई नै परिभाषित गर्ने छवि : ट्रम्प राजनीतिक छविका मामिलामा पोख्त नै हुन् भन्ने तथ्य उल्लेखनीय छ । तपाईंले यो खुबीलाई पेन्सल्भेनियामा भएको गोलीकाण्डको फुटेजमा देख्न सक्नुहुन्छ अर्थात् राजनीतिक छविकै लागि गोली प्रहारपछि ट्रम्पले उभिएर मुट्ठी उचालेका थिए । यो छविले ट्रम्पको सम्पूर्ण राष्ट्रपतीय चुनावी अभियानलाई परिभाषित नगरे पनि यसले हालको क्षणलाई परिभाषित गर्नेछ । यो राष्ट्रपतीय चुनावी अभियानमा धेरै महत्वपूर्ण घटना घटेका छन् र यो गोली प्रहार सबैभन्दा महत्वपूर्ण हुन सक्छ । यसले ट्रम्पलाई उनका समर्थकका नजरमा सहिदबाट सन्त बनाउन सक्छ ।

ट्रम्प, उनको चुनावी अभियान र नजिकका व्यक्तिले यो भाष्यलाई कसरी प्रयोग गर्छन् भनेर हेर्नु महत्वपूर्ण हुनेछ । यो विशेषतः आगामी दिनमा विस्कन्सिनमा हुने रिपब्लिकन राष्ट्रिय अधिवेशनका लागि थप महत्वपूर्ण हुनेछ । गोली प्रहारपछि तपाईंले दक्षिणपन्थी तप्काका गतिविधि देखिसक्नुभएको होला । विशेषतः ट्रम्पका समर्थकमाझ षड्यन्त्रका सिद्धान्त प्रवद्र्धन गर्न हत्या प्रयासलाई प्रयोग गर्ने प्रयास भइरहेको छ । उनीहरूले यसलाई पूर्वराष्ट्रपतिलाई समर्थन जुटाउन षड्यन्त्रका सिद्धान्तलाई प्रयोग गरिरहेका छन् ।

बाइडेनको हालैको ट्रम्पसँगको चुनावी बहसमा कमजोर प्रदर्शनका कारण दुई उम्मेदवारको विपरीत छवि बन्न पुगेको देखिन्छ र यो भाष्य पूर्ण रूपमा सत्य नभए पनि थप बलियो हुन सक्छ । रक्ताम्य ट्रम्पको उचालिएको मुट्ठीयुक्त तस्बिरले पक्कै पनि उनको सम्पूर्ण चुनावी अभियान र उनका पछाडि समर्थन जुटाउन सक्छ । सम्भवतः गोली प्रहार त्यो क्षण हुन सक्छ जसले ट्रम्पलाई चुनावमा विजयी गराउन सक्छ ।

(सर्टिस आरएमआइटी विश्वविद्यालयको स्कुल अफ ग्लोबल, अर्बन एन्ड सोसल स्टडिजकी अतिरिक्त वरिष्ठ अनुसन्धाता हुन्) 
द कन्भर्सेसनबाट

सुझावित समाचार