कांग्रेसको मन्त्री छनोटको आधार : योगदान र योग्यता

आइतबार, ३० असार, २०८१
डिजिटल संस्करण
कांग्रेसको मन्त्री छनोटको आधार : योगदान र योग्यता

मन्त्री छनोटको मापदण्ड तय गर्न शनिबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समिति बैठक । तस्बिर : संजित परियार/नयाँ पत्रिका

कांग्रेसमा प्रकाशमान सिंह, रमेश लेखक, जीवन परियार, किशोरसिंह राठोर, हृदयराम थानी, ऐनबहादुर शाही, अजय चौरसिया, दीपक खड्का, उदयशमशेर राणालगायत मन्त्रीका लागि चर्चामा रहेका नाम हुन् 

डा. प्रकाशशरण महत, प्रवक्ता, कांग्रेस : मापदण्ड बनेको छ, त्यस आधारमा मन्त्री चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधार हुनेछन् । समावेशिता र प्रादेशिक सन्तुलनलाई ध्यान दिएर छनोट गरिनेछ ।

कांग्रेसले योग्यता र योगदानका मन्त्री छनोट गर्ने भएको छ । शनिबार सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले पार्टीबाट समावेशिता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गर्ने निर्णय लिएको हो । प्रवक्ता डा. प्रकाशशरण महतका अनुुसार बैठकले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने औपचारिक निर्णय गर्दै मन्त्रीको मापदण्ड तय गरेको हो ।

‘कांग्रेसका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशिता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन गर्ने निर्णय यो बैठक गर्दछ,’ कांग्रेस बैठकको निर्णयमा भनिएको छ । बैठकले पार्टीमा आवश्यक छलफल गरेर मन्त्रीको टुंगो लगाउन जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ । 

कांग्रेस कार्यसम्पादन समिति बैठकमा साना दलसमेतलाई सहभागी गराउनुपर्ने भएका मन्त्रालय भागबन्डा पेचिलो बन्नेबारे छलफल भएको थियो । एक पदाधिकारीका अनुसार बैठकमा साना दलहरूलाई समेत सहभागी गराउनुपर्ने भएका कारण दुई दलबीचको पूर्वसहमतिअनुसार मन्त्रालय पाउने अवस्था नरहेको ब्रिफिङ गरिएका थियो । ‘कांग्रेसले ११ मन्त्रालय लिने सहमति भएको हो, तर राष्ट्रिय सहमतिको सरकार भनिएकाले अन्य दललाई पनि समेट्नुपर्ने अवस्था छ,’ कांग्रेसका एक पदाधिकारीले भने । 

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने बैठकले मापदण्ड बनाएर पार्टी र गठबन्धन दलमा थप छलफल गरेर मन्त्रीको टुंगो लाग्ने बताए । ‘मापदण्ड बनेको छ, त्यस आधारमा मन्त्री चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधार हुनेछन् । समावेशिता र प्रादेशिक सन्तुलनलाई ध्यान दिएर छनोट गरिनेछ,’ उनले भने । सहमतिअनुसार कांग्रेसले गृहसहित ११ मन्त्रालय र एमालेले आठ मन्त्रालय लिने उल्लेख छ ।

कांग्रेस पूर्वउपसभापति गोपालमान श्रेष्ठका अनुसार बैठकमा उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुने जानकारी गराइएको थियो । ‘पर्फर्मेन्स देखाउन सक्ने गरी परिपक्व र सिनियरको नेतृत्वमा उपप्रधानमन्त्री लिएर सरकारमा सहभागी तयारीबारे बैठकमा छलफल भयोे,’ श्रेष्ठले भने । सहमहामन्त्री जीवन परियारले बैठकमा मन्त्रीको नाम र संख्याको विषयमा छलफल नभएको बताए । ‘मन्त्रीको मापदण्ड बनाउने विषयमा औपचारिक छलफलबाहेक अरू विषय छलफल नै भएन,’ उनले भने । कांग्रेसले उपप्रधानमन्त्रीसहित ११ मन्त्रालय लिने नेताहरूको भनाइ छ । कांग्रेसमा प्रकाशमान सिंह, रमेश लेखक, जीवन परियार, किशोरसिंह राठोर, हृदयराम थानी, ऐनबहादुर शाही, अजय चौरसिया, दीपक खड्का, उदयशमशेर राणालगायत मन्त्रीका लागि चर्चामा रहेका नाम हुन् ।

लोसपामा मन्त्री छनोटको जिम्मा अध्यक्ष ठाकुरलाई
लोसपाले मन्त्री छनोटको जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । लोसपा नेता डा. सुरेन्द्र झाका अनुसार शनिबार बबरमहलमा बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी हुने विषयमा दलहरूसँग छलफल र मन्त्रीको टुंगो लगाउने जिम्मा ठाकुरलाई दिएको हो । ‘सरकारमा जाने विषयमा सकारात्मक नै छौँ । दलहरूसँग छलफल भइरहेको छ । छलफलबाट सरकारमा सहभागिताको टुंगो लगाउने जिम्मा संसदीय दलले अध्यक्षज्यूलाई दिएको छ,’ झाले भने । 

सुझावित समाचार