सिमलताल दुर्घटना : ५० किमि तल गोलाघाटमा एक र गैँडाकोटमा भेटिए दुई शव

आइतबार, ३१ असार, २०८१
डिजिटल संस्करण
सिमलताल दुर्घटना : ५० किमि तल गोलाघाटमा एक र गैँडाकोटमा भेटिए दुई शव

दुर्घटनास्थलआसपास त्रिशूली नदीमा बेपत्ता यात्रु र बस खोज्दै गोताखोर । तस्बिर : विवेक पोख्रेल

- वाटरड्रोनबाट खोज्दा पनि पत्ता लागेनन् थप बेपत्ता यात्रु र बस 

- आफ्ना मान्छे खोजिदिन घटास्थलमा भेला भएर पीडित परिवारको गुहार

शुक्रबार बिहान भरतपुर– २९, सिमलतालको पहिरोमा परेर त्रिशूली नदीमा खसेका दुई बससँगै बेपत्ता कम्तीमा ४८ यात्रुमध्ये एकको शव ५० किमि तल गोलाघाटमा भेटिएको छ । त्यस्तै, दुर्घटनास्थलबाट २५ किमि तल गैँडाकोटमा अरू दुई शव भेटिएकामा एकको मात्रै पहिचान भएको छ । 

चितवन प्रहरीका अनुसार भरतपुर– २८, गोलाघाटस्थित नारायणी नदी किनारमा भेटिएको शव गणपति डिलक्सका यात्रु भारतीय नागरिक २८ वर्षीय ऋषि पल साहको भएको पुष्टि भएको छ । उनका दाइ सत्य पाल साहले शव बुझिसकेको चितवन प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले बताए । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यस्तै, गैँडाकोट नगरपालिका– ७ स्थित नारायणी नदी किनारमा दिउँसो दुई पुरुषको शव भेटिएकोमा एउटा गणपति डिलक्सकै यात्रु ११ वर्षीय रमित माझीको रहेको पुष्टि भएको छ । उनका बुबा रवीन्द्र माझीले शव सनाखत गरेको प्रहरीले जनाएको छ । अर्को शवको भने पहिचान नखुलेको, तर सिमलताल दुर्घटनाकै यात्रु हुन सक्ने प्रहरी अनुमान छ । यी शव पनि स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।

गोताखोरसहितको टोलीले शनिबार दिनभर पनि त्रिशूली नदीमा बेपत्ताको खोजी गर्यो । तर, यात्रु र बस केही भेट्टाउन सकेन । प्रहरी कार्यालय चितवनले ६५ प्रहरीलाई १३ टोलीमा विभाजन गरेर दुर्घटनास्थलदेखि राप्ती र नारायणी नदीको दोभानसम्म पानीमा प्रयोग हुने वाटरड्रोन (सोनार) समेतको प्रयोग गरेर खोजी गरेको थियो । नेपालकै उच्च जनशक्ति र प्रविधि प्रयोग गरेको चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादवको दाबी छ । तर, उपलब्धि भने शून्य छ । यतिसम्म कि दुवै बसमा कति यात्रु सवार थिए र तिनीहरू कहाँका थिए भन्ने पूरै विवरणसमेत सार्वजनिक हुन सकेको छैन ।

‘पानीमुनि वाटरड्रोन, आकाशबाट पनि ड्रोन क्यामरामार्फत हेरेका छौँ । बस भेट्नका लागि चुम्बक र फलामको हुक (एन्कर) प्रयोग भएको छ । हामी घटना भएको ठाउँमा मात्र केन्द्रित छैनौँ । किनारवारिपारि मोटरबोट र दूरबिनको प्रयोगमार्फत पनि खोजी सुरु भएको छ,’ सिडिओ यादवले भने, ‘नदीमा पानीको बहाव उच्च र धमिलो भएकाले खोजीमा समस्या भएको छ ।’

काठमाडौंबाट रौतहटको गौरका लागि छुटेकोे गणपति डिलक्सको बागमती प्रदेश–०३–००१ ख २४९५ र वीरगन्जबाट काठमाडौंका लागि छुटेको एञ्जल डिलक्सको बा.प्र ०३–००६ ख १५१६ नम्बरका बस शुक्रबार बिहान साढे ३ बजे पहिरोसँगै त्रिशूलीमा खसेका थिए ।

आफ्ना मान्छे खोजिदिन घटास्थलमा भेला भएर पीडित परिवारको गुहार
बेपत्ताको खोजी गरिदिन भन्दै दुर्घटनास्थल सिमलताल क्षेत्रमा पीडित परिवारको भिड लागेको छ । परिवारका सदस्य तथा आफन्तहरूले भेला भएर हराइरहेकाको खोजी गरिदिन प्रशासनलाई सामूहिक रूपमा हारगुहार गरेका छन् । तर, दुई दिनसम्म बेपत्ता बस र यात्रुको कुनै पत्तो नलाग्नुमा सरकारले ध्यान नदिएर भएको उनीहरूको गुनासो छ । 

छोरी बेपत्ता भएपछि घटनास्थलमा आएका बुबा जगदीशप्रसाद यादवले सरकारको अनुभूति गर्न नपाएको गुनासो गरे । ‘नेताहरू परेको भए धेरै ध्यान दिएर खोज्थे होलान् । जनतालाई कसको चासो ?’ उनले प्रश्न गरे, ‘सरकार छ कि छैन ? यस्तो तेज पानीमा यति सामान्य खोजीले कहाँ भेटिन्छ ? जहाज खस्दा उच्चस्तरीय छानबिन समिति बन्छ । तर, दुई बस नदीमा हराएर दर्जनौँ मानिस बेपत्ता हुँदा सरकार किन गम्भीर बन्दैन ? बसमा चढ्ने नेपाली जनता होइन?’

जापान जाने तयारीमा रहेका पर्साको संखुवा प्रसौनी गाउँपालिका– ३ का २४ वर्षीय रैफुल अन्सारी पनि त्रिशूलीमा बेपत्ता भएपछि दाइ मेराज मन्सुरी घटनास्थलमै आइपुगेका छन् । ‘अब त भाइ जिउँदो होला भन्ने आस नै छैन,’ मेराजले भने, ‘तर, भाइको शव पाए धार्मिक रीतिरिवाजअनुसार दाहसंस्कार गर्थ्यौं ।’

संखुवा प्रसौनी गाउँपालिका– २ जमुनियाका एकै परिवारका ५५ वर्षीय हृदयनारायण चौधरी थारू, उनकी श्रीमती ५० वर्षीया भगवतीदेवी थरुनी र २४ वर्षीया छोरी चन्द्रप्रभाकुमारी बसमा सवार थिए । हृदयनारायण छोरी चन्द्रप्रभाको उपचार गराउन श्रीमती भगवतीसँगै काठमाडौं जाँदै गरेको भतिजा शिवशंकर चौधरीले बताए । काठमाडौंका लागि निस्केर अहिलेसम्म केही खबर नआएपछि परिवारका सबै सदस्य चिन्तामा परेको उनले सुनाए । 
 

सुझावित समाचार