सम्पादक तारुकेलाई ‘राष्ट्रिय पत्रकारिता सम्मान’

शुक्रबार, २८ असार, २०८१
डिजिटल संस्करण

अर्थप्रधान अनलाइन ‘अर्थपथ डटकम’का सञ्चालक तथा सम्पादक विष्णु तारुके राष्ट्रिय पत्रकारिता सम्मानबाट सम्मानित भएका छन्। 

सेलिब्रेटी नेपालले आयोजना दोस्रो विराट म्युजिक एन्ड फिल्म अवार्ड– २०८० को अवसर पारेर आर्थिक पत्रकार तारुकेलाई राष्ट्रिय पत्रकारिता सम्मानबाट सम्मानित गरिएको हो । 

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सो सम्मान प्रदान गरे। तारूके विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्।

प्रेस चौतारी नेपालका केन्द्रीय सचिवसमेत रहेका तारुके त्रिशूली प्रवाह साप्ताहिक पत्रिकाका समेत सम्पादक हुन् । 

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री पोखरेलले नेपाली कला र संस्कृतिको संरक्षणमा कलाकारहरूको महत्त्वपूर्ण भूमिका हुने बताए । ‘समाज रूपान्तरणमा पत्रकार र कलाकारको अतुलनीय भूमिका हुन्छ । नेपाली भाषा, धर्म र संस्कृति र पहिचान जोगाउनु आजको आवश्यता हो,’ पोखरेलले भने, ‘म सम्पूर्ण कलाकर्मी साथीहरूलाई भन्न चाहन्छु– देशको रक्षा आज सबैभन्दा ठूलो कर्तव्य हो ।’ 

कार्यक्रममा विभिन्न विद्याका रंगकर्मी कलाकारहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । गत वर्ष २०७९ मा  प्रदर्शनमा आएका चलचित्र र गीतसंगीत समावेश गरेर उत्कृष्टलाई अवार्ड तथा सम्मान प्रदान गरिएको हो । २३ वटा विधामा दर्जनौँ चर्चित तथा नवकलाकारहरू सम्मानित भएका छन् ।
 

सुझावित समाचार