नयाँ सरकार गठनका लागि राष्ट्रपति परामर्शमा

संविधानकाे कुन धाराअनुसार सरकार गठनको आह्वान गर्ने भन्नेबारे संविधानविद्हरूसँग छलफल

शुक्रबार, २८ असार, २०८१
डिजिटल संस्करण
नयाँ सरकार गठनका लागि राष्ट्रपति परामर्शमा

राष्ट्रपति रामचन्द्र पाैडेल ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको विश्वास गुमाएसँगै राष्ट्रपति रामचन्द्र पाैडेलले नयाँ सरकार गठनका लागि परामर्श सुरु गरेका छन्।

संविधानको धारा ७६ (२) अनुसार नियुक्त प्रधानमन्त्री पदमुक्त भएपछि संविधानको कुन धाराअनुसार नयाँ सरकार गठन हुन्छ भन्ने विवाद चलिरहेका वेला राष्ट्रपतिले परामर्श थालेका हुन्। 

यसक्रममा राष्ट्रपतिले परामर्शका लागि संविधानविद्हरूलाई शीतलनिवास बोलाएर छलफल थालेका छन् । 

संविधानविद् भीमार्जुन आचार्यले राष्ट्रपति कार्यालयले आफूलाई पनि बोलाएको, तर व्यस्तताको कारण आफू नगएको बताए।

नयाँ सरकार गठनका विषयमा संविधानविद्हरूबीच नै मतभेद रहेको छ। केही संविधानविद्ले अब नयाँ सरकार गठनका लागि राष्ट्रपतिले संविधाको धारा ७६(२) अनुसार आह्वान गर्नुपर्ने बताएका छन् भने केही संविधानविद्ले ७६(३) अनुसार आह्वान गर्नु राष्ट्रपतिको कर्तव्य हुने बताउने गरेका छन्।

यसअघि तत्कालीन नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा विश्वास गुमाएपछि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार सबैभन्दा ठूलो दलका नेताका रूपमा ओलीलाई नै प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। 

त्यसैलाई आधार मानेर अहिलेका राष्ट्रपतिले प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेसको संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने केही संविधानविद्को मत छ।

केही संविधानविद्ले भने तत्कालीन प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटनका विरुद्ध परमादेश जारी गर्ने क्रममा सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तअनुसार धारा ७६(२) अनुसार सरकार बन्ने सम्भावना रहँदासम्म राष्ट्रपतिले अर्को धाराको प्रयोग गर्न नहुने बताउने गरेका छन्।

सुझावित समाचार