पश्चिमको एक्ल्याउने प्रयासका बाबजुद विश्वमा रुसका अझै धेरै छन् मित्र

बिहिबार, २७ असार, २०८१
डिजिटल संस्करण

विश्वमञ्चमा एक्लो पार्ने पश्चिमी रणनीति चिर्दै रुसले अन्तर्राष्ट्रिय सम्बन्ध अझै मजबुत र दिगो बनाएको छ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पछिल्लो साताको उत्तर कोरिया र भियतनामको भ्रमणलाई पश्चिमी सञ्चारमाध्यमले निकै चासो दिए । त्यसैगरी, रुसी युद्धपोत भर्खरै क्युबा पुग्यो । फेब्रुअरी २०२२ मा युक्रेनमाथि  रुसी आक्रमणअघि त्यस्ता भ्रमणलाई धेरै कम ध्यान दिइन्थ्यो । तर, अहिले रुसलाई विश्व मञ्चमा एक्लो पार्ने पश्चिमी प्रयासबीच ती भ्रमण भएका छन् । पश्चिमी प्रयासले रुसको अन्तर्राष्ट्रिय सम्बन्ध कमजोर पार्न नसकेको जस्तो देखिन्छ ।

पश्चिमी प्रतिबन्धसँग अधिकांश युरोपेली राष्ट्रहरू सहमत भए पनि अन्य धेरै देशले, विशेषगरी ग्लोबल साउथका सदस्यले, रुससँग आर्थिक र राजनीतिक सम्बन्ध कायम राखेका छन् । यसलाई ऐतिहासिक सम्बन्ध र समसामयिक परिस्थिति दुवैले प्रभाव पारेको छ ।

सोभियतकालदेखिका मित्र उत्तर कोरिया, क्युबा र भियतनाम
रुसका स्थायी अन्तर्राष्ट्रिय सम्बन्धको लामो इतिहास छ । जब उत्तर कोरिया र भियतनामको कुरा आउँछ, ती दुवै राज्यमा हाल कायम सरकारको स्वरूप शीतयुद्धमा गठन भएका थिए र तिनको गठनका क्रममा तिनलाई पूर्वसोभियत संघबाट बलियो सैन्य र राजनीतिक समर्थन प्राप्त भएको थियो । 

क्युबाको सन्दर्भमा सोभियत राजनीतिक र सैन्य सहयोग नभएको भए सन् १९५९ को क्रान्तिपछि फिडेल क्यास्ट्रोको सरकार ध्वस्त हुने निश्चित थियो । सन् १९६१ मा सिआइएले क्यास्ट्रोलाई हटाउने प्रयासलाई समर्थन गर्यो, जुन असफल भयो । ‘क्युवाली मिसाइल संकट’पछि पनि क्यास्ट्रोले निरन्तर सोभियत समर्थन पाइरहे ।

सन् १९७५ मा पोर्चुगलको औपनिवेशिक शासनविरुद्ध अंगोलामा चलेको मुक्ति आन्दोलनलाई सोभियत संघले मद्दत गर्यो । सन् १९७० र सन् १९८० को दशकमा सोभियत संघ र क्युबाले संयुक्त राज्य अमेरिका र रंगभेदी दक्षिण अफ्रिकाले गरेको विरोधका बाबजुद एमपिएलएलाई समर्थन गरेका थिए ।

दक्षिणी अफ्रिकाबाहेक अन्यत्र भएका राष्ट्रवादी र औपनिवेशिकविरोधी आन्दोलनलाई पनि सोभियत संघले समर्थन गरिरह्यो । दक्षिण अफ्रिकामा ‘अफ्रिकन नेसनल कंग्रेस’ र नामिबियाको स्वापो पार्टी अंगोलामा रहेको आधारबाट सञ्चालित थिए र दुवैले सोभियत समर्थन प्राप्त गरे । दक्षिण अफ्रिकामा रंगभेदको पतन भएदेखि दुवै पार्टीहरू आ–आफ्नो देशमा प्रमुख राजनीतिक शक्ति बने र यी दुवै देशमा सोभियत संघप्रतिको ऐतिहासिक समर्थन तथा कृतज्ञता अझै कायम छ । सन् १९९१ मा सोभियत संघको पतनपछि रुसी सरकारले शीतयुद्धका केही सम्बन्धलाई अक्सर कमजोर हुन दियो । सन् १९९० को धेरैजसो समयसम्म राष्ट्रपति बोरिस येल्तसिनको सरकार शीतयुद्ध युगको सम्बन्धलाई कायम राख्नुको सट्टा स्वदेशमा आर्थिक र राजनीतिक अवस्थालाई स्थिर बनाउन र पश्चिमसँगको सम्बन्धलाई गहिरो बनाउनमा बढी केन्द्रीत थियो ।

मुक्ति आन्दोलनमा रुसको सहयोग
सन् १९९० को दशकको उत्तरार्धबाट बल्ल रुसी सरकारले सोभियतकालिन वैदेशिक सम्बन्धलाई पुनर्जीवित गर्ने प्रयासमा जोड दिन थाल्यो । धेरै सम्बन्धलाई कायम राख्न शीतयुद्धमा सोभियत संघले गरेका व्यक्तिगत र सैन्य सहयोगले मद्दत गरे । विश्वभरका धेरै युवाले सोभियत संघमा अध्ययन र तालिम लिएका थिए । तिनीहरूमध्ये केही अहिले आफ्नै देशमा नेता छन् । एउटा उदाहरण अंगोलाका वर्तमान राष्ट्रपति जोआओ लोरेन्को हुन्, जसले सोभियत संघको विश्वविद्यालयमा पढेका थिए ।

सोभियत संघले सामान्यतया यी देशलाई हतियार र सैन्य उपकरण आपूर्ति गथ्र्योे । यस उपकरणको निरन्तर मर्मत र स्तरवृद्धिले पनि सम्बन्धलाई अघि बढाउन सघाएको छ । सोभियत संघको पतनपछि संघसँग राम्रो सम्बन्ध भएका धेरै देशले पश्चिमसँग राम्रो सम्बन्ध नखोजेका होइनन् । जे होस्, अमेरिकासँग क्युबाको सम्बन्ध तनावपूर्ण नै रह्यो र शीतयुद्ध अवधिदेखि अमेरिकी प्रतिबन्धहरू दशकौँसम्म प्रभावकारी रह्यो । उत्तर कोरियालाई एक्लो पार्ने प्रयासमा अमेरिका पनि अग्रपंक्तिमा छ । यस अर्थमा, क्युबा र उत्तर कोरिया दुवै रुससँग सम्बन्ध पुनः जगाउन इच्छुक हुनु आश्चर्यनजक होइन ।

रुस र पश्चिमबीच सन्तुलन कायम गर्ने केही देशको प्रयास
भियतनामको मामलामा, शीतयुद्धकालको कुख्यात ‘भियतनाम युद्ध’मा अमेरिकीहरूले मच्चाएको वितन्डापछि सो देशको अमेरिकासँगको सम्बन्धमा उल्लेखनीय सुधार भएको छ । यद्यपि, अमेरिकाले  भियतनामको हालको नाम मात्रको कम्युनिस्ट सरकारलाई केही मेलमिलापका बाबजुद पूर्ण समर्थन जनाएको छैन । र, भियतनाम पनि पश्चिमको आग्रहमा रुससँगको सम्बन्ध छोड्न इच्छुक छैन ।

रुसको समसामयिक अन्तर्राष्ट्रिय सम्बन्धको आर्थिक आयाम पनि छ, विशेषगरी रुसी तेलको छुट यसमा जोडिएको छ । रुससँग राम्रो सम्बन्ध भएका धेरै सरकारमा पश्चिमले भन्ने गरेको उदार–लोकतान्त्रिक चरित्रको कमी छैन । यद्यपि, रुसको अन्तर्राष्ट्रिय सम्बन्धलाई अधिनायकवादविरुद्ध लोकतन्त्रको मामलाको रूपमा हेर्नु सरलीकरण मात्र हुन्छ । नामिबिया र दक्षिण अफ्रिकाजस्ता देशहरू लोकतान्त्रिक हुन् । रुससँग उनीहरूको आर्थिक सम्बन्ध अपेक्षाकृत सीमित छ । यद्यपि, पश्चिममा नदेखिएको साझा इच्छाले उनीहरूको चलिरहेको सम्बन्धमा महत्वपूर्ण भूमिका खेल्छ ।

चीनसँग रुसको बढ्दो सम्बन्धले ब्रिक्सजस्ता अन्तर्राष्ट्रिय संस्थामार्फत अन्य राज्यसँगको सम्बन्धलाई बलियो बनाउन मद्दत गर्छ । ब्रिक्सको हालैको विस्तार र भेनेजुएलाजस्ता अन्य रुसी सहयोगी यसमा सामेल हुने सम्भावनाले विश्वका केही भागमा पश्चिमा देश हाबी भएको अन्तर्राष्ट्रिय प्रणालीको विकल्पको बढ्दो इच्छालाई औँल्याउँछ ।अमेरिका र यसका सहयोगीलाई मन परोस् वा नपरोस्, विश्व शीतयुद्धको अन्त्यमा भएकोभन्दा धेरै ध्रुवीकृत हुँदै गइरहेको छ । युक्रेनमा रुसी युद्धको पश्चिमी प्रतिक्रियाले पक्कै पनि रुसप्रति युरोपेली विरोधलाई एकजुट बनाएको छ । तथापि, गाजाको अवस्थालाई लिएर पश्चिमी रबैया र कार्यले धेरैलाई सोच्नका लागि समय दिएको छ र सम्भवतः रुससँग आफ्नो सम्बन्ध विकास गर्न केहीलाई हौसला पनि दिएको छ ।

– हिल क्यानडाको अलबर्टास्थित ‘युनिभर्सिटी अफ क्यालगरी’का सैन्य इतिहासका प्राध्यापक हुन् । (द कन्भर्सेसनबाट)

See More On

सुझावित समाचार