निष्कासित महामन्त्रीले पत्रकार सम्मेलनमार्फत पार्टी नेतृत्व र पार्टी पंक्तिप्रति उठाएको प्रश्नबारे के भन्नुहुन्छ ?
पत्रकारसँग अन्तक्र्रिया नगरी एकतर्फी रूपमा आफ्नो भडास पोखेर जानु, आफूमाथिको प्रश्न सुन्नै नचाहनुलाई कसरी पत्रकार सम्मेलन भन्नु ? यसलाई फेसबुक लाइभ भन्दा ठीक होला । उहाँले लगाएका आरोप नयाँ होइनन्, पहिलेदेखि नै लगाउँदै आउनुभएको हो ।
पार्टीभित्र प्रश्न उठाउँदैमा यति ठूलो कारबाही गर्न कति आवश्यक थियो ?
उहाँले एउटा ‘माइन्ड गेम’ खेलिरहनुभएको छ र तपाईं (पत्रकार)हरू त्यसैमा अल्झिरहनुभएको छ । पार्टीमा प्रश्न उठाएकाले होइन, उहाँमाथि बैठकमा उठेका प्रश्नबारे बोल्न नचाहेर मुखमा टेप लगाएर बस्नुभएकाले उहाँलाई कारबाही गर्नुपरेको हो । उहाँले प्रतिवेदनमार्फत दिएका सुझाबलाई हामीले खराब भनेका छैनौँ । त्यसमा आएका धेरैजसो सुझाव मननयोग्य पनि छन् । हामीले केवले उहाँको कार्यशैलीमाथि प्रश्न गरेका हौँ । सुझाब संकलन गर्न सचिवालय बैठकले नै पठाएको हो । पार्टी सभापतिले पनि उहाँलाई आगामी तीन सय वर्षसम्म सम्झिइरहने दस्ताबेज तयार गर्नुहोला भन्नुभएको थियो । तर, उहाँले प्रतिवेदन सभापतिलाई बुझाइसकेपछि पार्टीको आन्तरिक फोरममा छलफल हुनुअघि नै जसरी बाहिरबाहिर सुनाउँदै हिँड्नुभयो, त्यसमाथि हामीले प्रश्न गरेका हौँ ।
प्रतिपक्षमा पुग्दै गर्दा अबका दिनमा रास्वपा कसरी अघि बढ्छ ?
सरकारमा बसेर संगठन बनाउन कठिन हुन्छ । सरकारमा जाने हाम्रो निर्णय सही थियो कि गलत ? सरकारमा बसेर केके गर्यौँ हामीले ? अन्य पार्टीको दाउपेचमा त परेन हाम्रो पार्टी ? यस्ता प्रश्नमा पहिले घनीभूत आत्मसमीक्षा गर्छौं । त्यसपछि हामी जनताको म्यान्डेटअनुसार ‘फर्मिङ’, ‘नर्मिङ’, ‘स्टर्मिङ’ र ‘पर्फमिङ’को बाटोबाट अघि बढ्छौँ ।