एकीकृत समाजवादी प्रधानमन्त्रीलाई विश्वासको मतको पक्षमा

बिहिबार, २७ असार, २०८१
डिजिटल संस्करण

एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटरमा बुधबार भएको छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले विश्वासको मत दिने प्रतिबद्धता जनाएका हुन् । 

‘प्रधानमन्त्रीले २८ असारमा विश्वासको मत लिँदै हुनुहुन्छ । पास/फेल जे भए पनि हामी विश्वासको मत दिन्छौँ,’ छलफलपछि खनालले नयाँ पत्रिकासँग भने । छलफलमा नेपाल र खनालका साथै नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव र नेसपा अध्यक्ष महिन्द्रराय यादव सहभागी थिए ।

प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिबारे बिफ्रिङ गर्दै परिवर्तनकारी शक्ति मिलेर जानुपर्ने बताएका थिए । प्रचण्डले ओलीले धोका दिएको बताएका छन् । ‘केपीले जालझेल गरे । विगतमा पनि गरेकै थिए । फेरि पनि गरे । भन्ने एउटा गर्ने अर्को बानी अझै गएको रहेनछ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने ।  

नेपालले आफूले सुरुदेखि नै सचेत गराएको भन्दै नयाँ रणनीतिका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । समाजवादी मोर्चालाई प्रभावकारी बनाउँदै अगाडि बढ्नुपर्नेमा उनले जोड दिएका छन् । ‘बीचमा समाजवादी मोर्चा निष्क्रिय बन्यो । हामीले जुन उद्देश्यका साथ मोर्चा बनाएका थियौँ, त्यो दिशामा अगाडि बढ्न सकेनौँ । पुनर्गठन गर्दै अगाडि बढ्नुपर्छ,’ नेपालले भने । मोर्चाको घटकका हिसाबले प्रधानमन्त्रीलाई विश्वासको मत दिने उनले बताए ।

विप्लवले विगतमा मोर्चालाई प्रभावकारी बनाउन नसकिएको भन्दै नयाँ शिराबाट अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । ‘मोर्चालाई जसरी अगाडि बढाउनुपर्ने हो, त्यसअनुरूप भएन । अब नयाँ ढंगले अगाडि बढ्नुपर्छ,’ विप्लवले भने ।  

समाजवादी मोर्चालाई पुनर्गठन गरेर जानुपर्ने आवश्यकता पनि उनले औँल्याएका छन् । प्रचण्डका स्वकीय सचिवसमेत रहेका माओवादी केन्द्रीय सदस्य रमेश मल्लले समाजवादी मोर्चाको पुनर्गठनका विषयमा छलफल भएको बताए । मोर्चाको बैठक छिट्टै बस्ने बताए । ‘नेताहरूले आ–आफ्नो ठाउँमा एक्सरसाइज गर्नुहुन्छ । त्यसपछि छिट्टै बैठक बस्छ । त्यति वेलासम्म मोर्चाका घटक सदस्यहरू टुंगो लाग्छ,’ उनले भने । 

मोर्चाका तीन घटक र नेसपा अध्यक्ष यादवबीच मोर्चा पुनर्गठनबारे छलफल भएको उनले बताए । यादवले पनि मोर्चालाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।

सुझावित समाचार