नेपाल अर्थोपेडिक अस्पताललाई शिक्षण संस्थामा विकास गरिनुपर्छ : नेता डा. कोइराला

बुधबार, २६ असार, २०८१
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले जोरपाटीस्थित नेपाल अपांग संघ नेपाल अर्थोपेडिक अस्पताललाई शिक्षण संस्थाका रूपमा पनि विकास गर्नुपर्ने बताएका छन् । अस्पतालको निरीक्षणपश्चात् नेता डा. कोइरालाले अर्थोपेडिक उपचारसँगै स्नातकोत्तर तहको अध्ययन गर्ने शिक्षण संस्थाका रूपमा यस अस्पतालको विकास गर्दै लैजानुपर्ने बताएका हुन् ।

अस्पतालको पछिल्लो अवस्था, उपचार पद्धति तथा यसका चुनौतीबारे जानकारी लिँदै नेता डा. कोइरालाले अस्पतालका लागि राज्यका तर्फबाट नियमित बजेटको व्यवस्था र त्यहाँ कार्यरत जनशक्तिका लागि आवश्यक नियमित तालिम र अस्पातलको आधुनिकीकरणका लागि आफूले आफ्ना ठाउँबाट सक्दो पहल गर्ने आश्वासन दिए । 

त्यस अवसरमा अस्पतालका मेडिकल निर्देशक डा. कैलाश भण्डारीले अस्पतालको पछिल्लो अवस्था तथा समस्याबारे जानकारी गराएका थिए । उनले  सरकारका तर्फबाट नियमित रूपमा बजेटको व्यवस्थासँगै यस अस्पताललाई प्राथमिकतामा राख्ने कार्यमा सहयोग गर्न नेता डा. कोइरालालाई आग्रह गरेका थिए । 

अनाथ, असहाय, निम्नवर्गीय तथा अपांगता भएका नागरिकको स्वास्थ्य सेवामा समर्पित रहने गरी गैरनाफामूलक संस्थाका रूपमा सन् १९९८ मा स्थापना भएको यस अस्पतालले हाडजोर्नीका बिरामीका लागि सेवा प्रदान गर्दै आएको छ ।

सुझावित समाचार