मनसुन आइतबारसम्म सक्रिय रहने

पश्चिम नेपालका चार प्रदेशका ३० जिल्लामा रेडअलर्ट जारी

बिहिबार, २० असार, २०८१
डिजिटल संस्करण

पछिल्लो पाँच दिनदेखि सक्रिय रहेको मनसुनी प्रणाली आगामी आइतबारसम्म सक्रिय अवस्थामा नै रहने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनचापीय रेखा नेपालको दक्षिण भूभाग/सिमाना आसपास नै रहने र मनसुन अझ सक्रिय हुने सम्भावना भएकाले आइतबारसम्म सतर्कता अपनाउनुपर्ने देखिन्छ ।

महाशाखाले धेरै वर्षा हुने आकलन गरिएका लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३० जिल्लामा रेडअलर्ट जारी गरेको छ ।

शुक्रबारदेखि आइतबारसम्म पनि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी,  मधेश, बागमतीका थोरै स्थानमा भीषण (भारी) वर्षाको आकलन गरिएको छ ।

त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा थोरै स्थानमा अति भारी वर्षाको चेतावनी दिइएको छ । 

आइतबारसम्म भू–क्षय, पहिरो तथा गेग्रान बहाव को जोखिम रहेको,  सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको महाशाखाले जनाएको छ । 

यसअघि महाशाखाले १७ असारदेखि २० असारसम्मका लागि मनसुनी बुलेटिन जारी गरेको थियो ।  

रेडअलर्ट जारी भएका ३० जिल्ला
मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चि प्रदेशका ३० जिल्लामा रेडअलर्ट जारी गरेको छ ।

गण्डकीका म्याग्दी, बाग्लुङ, कास्की, पवर्त, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व र मुस्ताङमा धेरै वर्षा हुने देखिएको छ । धेरै वर्षा हुने भएकाले यस क्षेत्रमा पहिरोको जोखिम छ  ।

त्यस्तै, लुम्बिनीका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पूर्वलाई रेडअलर्टमा राखिएको छ ।

कर्णालीका जाजरकोट, दैलेख, रुकुम पश्चिम, कालीकोट, जुम्ला र हुम्ला रेडअलर्टमा छन् ।  त्यस्तै, सुदूरपश्चिमका दार्चुला,बैतडी, बझाङ, बाजुरा, डडेल्धुरा, डोटी र अछामलाई रेडअलर्टमा राखिएको छ ।

यी क्षेत्रमा आगामी आइतबारसम्म धेरै वर्षा हुने भएकाले विपतको जोखिम पनि बढेको हो ।

सुझावित समाचार