एक लाख घुससहित ताप्लेजुङको फुङलिङ नगरपालिकाका सिविल इञ्जिनियर अख्तर हुसैन पक्राउ परेका छन्।सेवाग्राहीसँग एक लाख घुस लिएको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।उनी छैटौं तहका सिविल इञ्जिनियर हुन्।
सेवाग्राहीले उजुरी दिएपछि हुसैनलाई नियन्त्रणमा लिँदै अख्तियार टोलीले छापा मारेको थियो। हुसैन फुङलिङ नगरपालिका वडा नं २ स्थित निर्माणाधीन रंगशाला (खेलमैदान)को योजनामा एक लाख रुपैयाँ मागेको रकमसहित पक्राउ परेका हुन् ।
सो रंगशालाको आसपास ६ लाख ६४ हजार रुपैयाँ बराबरको माटो कटिङको काममा निर्माण व्यवसायीबाट २० प्रतिशतले हुन आउने रकम लिएको अभियोगको आधारमा अख्तियारले छापा मारी पक्राउ गरेको हो । हुसैनलाई फुङलिङ नगरपालिका ४ ट्याक्सि काउन्टर छेउबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
निर्माण व्यवसायी वीरबहादुर तामाङले लिएको ठेक्कामा इन्जिनियर हुसैनले महालेखा परिक्षकलाईसमेत दिनुपर्ने भन्दै योजनाको प्राविधिक पास नगर्ने धम्की दिएपछि बाध्य भएर एक लाख रुपैयाँ दिएको बताए । पैसा अनिवार्य दिनुपर्ने भन्दै हुसैनले आफुलाई दिनको एक सय पटकसम्म फोन गर्ने गरेको तामाङले जानकारी दिए । हुसैनले धेरै वर्ष अगाडिदेखि घुस लिएको भन्दै व्यापक हल्ला हुने गरेको थियो । तर, आधिकारीक रुपमा आएको थिएन । अहिले भने अख्तियारले छापा मारेपछि यो आरोप सत्यमा परिणत भएको स्थानीयको भनाइ छ ।
अख्तियारको टोलीले भने खानतलासीसहितका सबै कार्य पूरा भई मुचुल्का उठाई नियन्त्रण लिएको बताइएको छ । उनलाई अख्तियारले नियन्त्रणमा राखि थप अनुसन्धान गर्ने बताइएको छ।