राष्ट्रपति पौडेलको युरोप भ्रमणमा नेपालको एजेन्डा- जलवायु परिवर्तन

बिहिबार, ६ असार, २०८१
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलको स्विट्जरल्यान्ड र जर्मनीको भ्रमणमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्व जगतले नेपालजस्ता अति कम विकसित पर्वतीय मुलुकहरूको प्राथमिकतालाई केन्द्रमा राख्नुपर्ने विषय उठेको छ।

राष्ट्रपति कार्यालयले यो भ्रमणबाट जलवायु परिवर्तनको एजेन्डा अन्तर्राष्ट्रिय जगतमा स्थापित भएको जनाएको छ। 
राष्ट्रपति पौडेलले सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको उद्घाटन सत्रमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्दा जलवायु परिवर्तनको मुद्दा उठाएका थिए।

यसैगरी, उनले जर्मनीमा वैज्ञानिकहरूसँगको छलफलमा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न विकसित देशले र विकासशील देशले गर्नुपर्ने कामको सिफारिस गर्न आग्रह गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

‘वैज्ञानिकहरूसँग छलफलपछि भएको भेटवार्तामा जर्मन राष्ट्रपति डा. फ्रांक–वाल्टर स्टाइनमेयरले जलवायु परिवर्तनको असर न्यूनीकरणका सम्बन्धमा  नेपालप्रति देखाउनुभएको सद्भावले यो विषय अन्तर्राष्ट्रिय रूपमा अब स्थापित भयो,’ भ्रमण दलका सदस्य राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले भने। 

जलवायुसम्बन्धी जर्मनीका विभिन्न अनुसन्धान केन्द्रहरूको अवलोकनका क्रममा त्यहाँका वैज्ञानिकहरूसँगको छलफलमा राष्ट्रपति पौडेलले उनीहरूको अहिलेसम्मको अनुसन्धानको प्रशंसा गर्दै अब जलवायु परिवर्तनको असर न्यूनीकरणका उपायहरूमा अनुसन्धान केन्द्रित गर्न सुझाव दिएका थिए।

राष्ट्रपति पौडेलले यसका कार्बन उत्सर्जन गर्ने विकसित देशहरूले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि के के गर्नुपर्छ र मार परेका कम विकासित मुलुकहरूले के के गर्नुपर्छ भन्ने सुझाव पनि विश्वजगतलाई दिन आग्रह गरेका थिए। 

‘जलवायु परिवर्तनका सम्बन्धमा तपाईंहरूले हालसम्म गरेको अनुसन्धान प्रशंसनीय छ। तर, अब अनुसन्धानलाई कसरी जलवायु परिवर्तनको असरबाट जोगाउने भन्नेमा केन्द्रित गराउनुपर्छ भन्ने मलाई लाग्छ। साथै, तपाई‌ंहरूले यसका लागि कार्बन उत्सर्जन गर्ने विकसित देशहरूले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि के के गर्नुपर्छ र मार परेका कम विकसित मुलुकहरूले के के गर्नुपर्छ भन्ने सुझाव पनि विश्वजगतलाई दिनुपर्छ,’ राष्ट्रपति पौडेलको भनाइ उदृत गर्दै सल्लाहकार पोखरेलले भने। 

त्यसपछि भएको दुईपक्षीय वार्तामा जर्मनीका राष्ट्रपति स्टाइनमेयरले वैज्ञानिकहरूसँग  राष्ट्रपति पौडेलले व्यक्त गरेका विचार र सुझावको प्रशंसा गर्दै नेपालजस्तो पर्वतीय मुलुकप्रति आफूहरूको सहानुभूति रहेको बताए। उनले आगामी दिनमा नेपाललाई हरतरहले सहयोग गर्न तयार रहेको प्रतिबद्धता पनि जनाएको पोखरेलले बताए। 

राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति स्टाइन मेयरको नेपालको प्राथमिकताप्रतिको चासोपछि कृषि क्रान्ति, जलस्रोत उपयोग र पर्यटनको विकासमा लगानीको अपेक्षा गरेका थिए। जर्मनीका राष्ट्रपति स्टाइन मेयरले नेपाललाई हरतरहले सहयोग विश्वास दिलाएका थिए। 

राष्ट्रपति पौडेलले फसाइएर युक्रेनको सैन्य हिरासतमा पुगेका ६ जना नेपालीलाई रिहाइ तथा स्वदेश फिर्ताका लागि सहजीकरण गरिदिन जर्मनीसँग आग्रह गरे। रुस–युक्रेन युद्धमा नेटो सदस्य राष्ट्र जर्मनीले युक्रेनलाई सैन्य सहायता प्रदान गर्दै आएको छ। 

त्यसअघि जेनेभामा राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजित सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको बिहीबार उद्घाटन सत्रमा मुख्य वक्ताका रूपमा जलवायुको मुद्दा उठाएका थिए। ‘सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन मिल्दैन,’ राष्ट्रपतिको भनाइ थियो।

उनको भनाइलाई समर्थन गर्दै सहभागीले निकैबेर ताली बजाएको सल्लाहकार पोखरेलले बताए। 
‘जलवायु परिवर्तनका नकारात्मक असरहरूको सम्बन्ध सामाजिक न्यायसँग जोडेर विश्व समुदायको ध्यानाकर्षण गर्न सफल भएको छ,’ पोखरेलले भने।  

उनका अनुसार राष्ट्रपति पौडेलको भनाइ थियो, ‘विश्व समुदाय जो विगतदेखिका र हालका ठूला उत्सर्जनकर्ताहरू हुन्, उनीहरू यो जिम्मेवारीबाट विमुख हुनुहुँदैन, हामीले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन मिल्दैन। जलवायु परिवर्तनका नकारात्मक असरहरूको सन्दर्भमा जलवायु जोखिममा रहेका देशहरूलाई पर्याप्त कोष र आवश्यक प्रविधि उपलब्ध गराएर जलवायु न्याय तुरुन्तै सुनिश्चित गरिनुपर्छ।’ 

कार्बन उत्सर्जनमा नगन्य योगदान दिए पनि नेपालले जलवायु परिवर्तनको सबैभन्दा खराब असरहरूको मार खेपिरहेको र यसमा नेपालको कुनै दोष नभएको राष्ट्रपतिको भनाइ थियो।

‘पछिल्ला वर्षहरूमा संसारकै सर्वोच्च शिखर सगरमाथालगायतका हाम्रा  हिमालयहरू हिउँ गुमाउँदै काला पहाडहरूमा परिणत हुन थालेका र हिमनदीहरू अभूतपूर्व परिमाण र गतिमा पग्लिरहेका छन्,’ राष्ट्रपतिको भनाइ थियो, ‘जलवायु परिवर्तनले स्वच्छ पानी, बाली, जैविक विविधता र स्वास्थ्यमा गम्भीर असर पुग्न गई हाम्रा लाखौँ मानिसहरूलाई चरम गरिबी र असमानतामा धकेलेको छ, जलवायु परिवर्तनबाट सिर्जित विपद्का कारण परिवार, समुदायको विस्थापन र जीविकोपार्जनमा हुने क्षतिले समस्या थप जटिल बनाएको छ।’ 

राष्ट्रपति पौडेलबाट व्यक्त विचारप्रति त्यहाँ आइएलओको कार्यक्रममा उपस्थित विश्व समुदायले गरेको स्विकारोक्ति गौरव लाग्दो भएको पनि पोखरलेले बताए।

सुझावित समाचार