बर्खे विकासले स्थानीयमा त्रास बढ्दो

बुधबार, ५ असार, २०८१
डिजिटल संस्करण

पूर्वी नवलपरासीको कावासोतीमा केही दिनअघि नाला खन्दै गर्दा एक्कासि खसेको माटोले पुरिएर तीनजना मजदुरको मृत्यु भयो। विश्व बैंकको सहयोगमा कावासोती नगरपालिकाले निर्माण सुरु गरेको नाला निर्माणको एक महिना बित्न लागिसक्दा पनि अझै पूरा हुन सकेको छैन।

ठूलाठूला खाडल खनेर बनाइएको उक्त नाला हेर्दै डरलाग्दो र व्यस्त बजारमा भएकाले कुनै पनि वेला अर्को दुर्घटना पनि हुन सक्छ भनेर स्थानीय आतंकित छन्। वेलैमा ढल निर्माणको कार्य पूरा नहुँदा यहाँ यात्रा गर्न निकै जोखिमपूर्ण बनेको कावासोतीका स्थानीय लोकनाथ काफ्ले बताए।

मानिस आउजाउ गर्न असहज मात्र हाेइन, जोखिम पनि उस्तै छ ।  बजार पनि प्रभावित भएको छ । बाटोमा जोखिम बढेका कारण व्यापारमा प्रभाव परेको स्थानीय व्यवसायी बाबुराम पोख्रेलले बताए। रातको समयमा आउजाउ गर्ने यात्रुहरू झुक्किएर नालामा खस्ने र ज्यानै जाने जोखिम पनि उत्तिकै रहेको पोख्रेलको ठम्याइ छ।

अहिले कावासोती नगरपालिकामा मात्रै होइन, देशभर असारे बजेट सक्ने चटारो छ। समय हुन्जेल जोखना हेर्ने र समय घर्केपछि हतारिने प्रवृत्तिले विकास निर्माणको काममा जोखिम पनि उत्तिकै बढ्ने गरेको छ । वर्षा लाग्न थालिसकेको र कावासोतीमा केही दिनअगाडि भएको घटनाबाट पाठ सिक्दै नवलपुर जिल्लाभर पूर्व–पश्चिम राजमार्गलगायत अन्य क्षेत्रमा भएको जोखिमपूर्ण काममा पूर्ण रूपमा सुरक्षा सावधानी अपनाएर काम गर्ने स्थानीय पालिका, निर्माण व्यवसायीहरूलाई निर्देशन दिइएको नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताए।

सुझावित समाचार