सभामुखले गराए सरकारको ध्यानाकर्षण
प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमणबारे पनि जानकारी गराउन कांग्रेसको माग छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथमा आइतबार भारत गएका प्रधानमन्त्री सोमबार फर्केका थिए । पौडेल मंगलबारदेखि स्विट्जरल्यान्ड र जर्मनीको भ्रमणमा छन् ।
‘राष्ट्र प्रमुख राष्ट्रपति राष्ट्रबाहिर जानुहुन्छ, कार्यकारी सरकार प्रमुख बाहिर जानुहुन्छ । तर, यो गरिमामय सदनले राष्ट्रपति र प्रधानमन्त्री देशबाहिर जानुभएको कुरा अखबार पढेर थाहा पाउनुपर्नेछ । यसलाई मैले दुर्भाग्य भन्दा बढी होला र ?’ प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने ।
सदनलाई विदेश भ्रमणको जानकारी नदिएर प्रधानमन्त्रीले संसद्लाई बिर्सिएको टिप्पणी गरे । ‘देशको कार्यकारी प्रमुख कुनै पनि राष्ट्रको भ्रमणमा जाँदा पहिले सदनलाई जानकारी गराउने संसदीय अभ्यास छ । के उद्देश्यले जाने, कति दिन जाने, कहिले फर्किने भनेर जानकारी गराउने परम्परा बाध्यात्मक रूपमा नै स्थापित छ,’ उनले भने, ‘तर, प्रधानमन्त्री भारत गएको र फर्केको सदनलाई जानकारी छैन ।’
भारतीय प्रधानमन्त्री मोदीलाई बधाई, सम्मान र शुभकामना दिने कुरा उपयुक्त भए पनि सदनलाई जानकारी नदिनु आपत्तिजनक भएको उनको भनाइ थियो । ‘कांग्र्रेस धैर्यपूर्वक, संयमतापूर्वक र रचनात्मक प्रतिपक्षको रूपमा कुरेर बसेको थियो, प्रधानमन्त्रीजी सदनमा उपस्थित हुनुहोला, भारत भ्रमणबारे जानकारी गराउनुहोला र सदनले पनि थाहा पाउला भनेर कुरेर बसेका थियौँ, तर पाँच दिनसम्म प्रधानमन्त्रीजी यहाँ आउन सक्नुभएन । मैले उहाँलाई स्मरण गराउनुपर्ने भयो,’ उनले भने ।
लेखकले भ्रमणबारे सदनलाई जानकारी नदिनु दुर्भाग्य भएको पनि जिकिर गरे । ‘प्रधानमन्त्री सदनको नेता हो । देशको कार्यकारी प्रमुख हो । उहाँ विदेश भ्रमणमा जाँदै गर्दा सदन अनभिज्ञ रहनुपर्ने, जानकारी नपाउनुपर्ने, पत्रिका पढेर थाहा पाउनुपर्ने स्थितिमा उहाँ यो सदनको नेता हो भनेर स्मरण गराउनुपर्ने भयो । यो मेरो सौभाग्य हो कि सरकारको दुर्भाग्य हो ?’ लेखकले भने ।
यसअघि प्रमुख सत्तासाझेदार एमालेले पनि प्रधानमन्त्रीको भ्रमणबारे जानकारी माग गरेको थियो । एमाले सांसद रघुजी पन्तले सदनमा उभिएर प्रधानमन्त्रीले जानकारी दिनका लागि रुलिङको माग गरेका थिए । राप्रपा सांसद ज्ञानबहादुर शाहीले पनि प्रधानमन्त्रीको नयाँदिल्लीमा भएको स्वागतमा प्रश्न उठाउँदै भ्रमणबारे स्पष्ट पार्न माग गरेको थियो । दलहरूबाट भ्रमणबारे जानकारी माग भएपछि सभामुख देवराज घिमिरेले सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।