गाजामा इजरायल र हमास दुवैले युद्ध अपराध गरेका छन् : राष्ट्रसंघ

शुक्रबार, १ असार, २०८१
डिजिटल संस्करण

गाजायुद्धमा राष्ट्रसंघका विज्ञले गरेको पहिलो गहन अनुसन्धान प्रतिवेदनले इजरायली र प्यालेस्टिनी सशस्त्र समूह हमास दुवैले युद्ध अपराध गरेको बताएको छ । इजरायल र प्यालेस्टिनी क्षेत्रमा भएको अन्तर्राष्ट्रिय कानुन उल्लंघनको अनुसन्धान गर्न संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्ले सन् २०२१ मेमा अनुसन्धान आयोगको स्थापना गरेको थियो ।

संयुक्त राष्ट्र संघको स्वतन्त्र अनुसन्धान आयोगले बुधबार जारी गरेको प्रतिवेदनमा इजरायलले ‘युद्ध अपराध, मानवताविरुद्धको अपराध’ र अन्य अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको जानकारी गराइएको छ । प्रतिवेदनमा ‘गाजाका आम–नागरिकविरुद्ध इजरायलले व्यापक र निर्देशित आक्रमण गरेको उल्लेख गरिएको छ । 

गाजा युद्धमा इजरायलले मानवताविरोधी अपराध गरेको भन्ने सो अनुसन्धानलाई इजरायलले भने पक्षपातपूर्ण भनेको छ । इजरायली विदेश मन्त्रालयले आयोगको अनुसन्धान प्रतिवेदन पक्षपातपूर्ण मात्र नभएर इजरायलविरोधी एजेन्डाबाट प्रेरित रहेको दाबी गरेका छन् । प्रतिवेदनले इजरायली सेना (आइडिएफ) विरुद्ध झुटो आरोप लगाएको र देशको मानहानि गरेको मन्त्रालयले बताएको छ ।

आयोगले गत अक्टोबर ७ को आक्रमणमा प्यालेस्टिनी सशस्त्र समूह हमास र अन्य सशस्त्र समूहका सदस्यले पनि हत्या, हताहत, दुव्र्यवहार, बन्धक र यौनिक तथा लैंगिक हिंसाजस्ता अपराध गरेको दाबी गरेको छ । ‘हमास र प्यालेस्टिनी सशस्त्र समूहले तुरुन्तै हवाई आक्रमण बन्द गर्नुपर्छ र सबै बन्धकलाई रिहा गर्नुपर्छ,’ संयुक्त राष्ट्रसंघकाका पूर्वमानव अधिकार प्रमुख र अन्तर्राष्ट्रिय फौजदारी अदालतका पूर्वन्यायाधीश नाभी पिल्लेले प्रतिवेदन सार्वजनिक गर्ने क्रममा भने । हमासले संयुक्त राष्ट्रसंघको उक्त प्रतिवेदनमा हालसम्म कुनै टिप्पणी गरेको छैन । 

सुझावित समाचार