यो साता देशभर मनसुन नपुग्ने, पश्चिम तराईमा आइतबारसम्म तातो हावा चल्ने चेतावनी

बिहिबार, ३१ जेठ, २०८१
डिजिटल संस्करण

यसपटक पनि मनसुन देशभर फैलन ढिलाइ हुने देखिएको छ। औसतभन्दा तीन दिनअघि २८ जेठमै मनसुन नेपाल प्रवेश गरे पनि कोशी प्रदेशबाहेकमा विस्तार हुन सकेको छैन।

स्थानीय वायुको प्रभाव पनि कास्कीलगायत क्षेत्रमा केन्द्रित भएकाले मुलुकका अन्य क्षेत्रको तापक्रम लगातार उच्च छ।

लुम्बिनी र सुदूरपश्चिमका तराईमा त साढे दुई सातदेखि तातो हावा चलिरहेको छ। ती क्षेत्रमा आगामी आइतबारसम्म तातो हावाको लहर कायमै रहने चेतावनी मौसम पूर्वानुमान महाशाखाले दिएको छ।

महाशाखाले बिहीबार विशेष बुलेटिन जारी गर्दै भनेको छ, ‘सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ। आगामी केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना देखिएकोले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।’

यसमा पनि रुपन्देहीदेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा चलिरहेको तातो हावा कायमै छ। त्यस क्षेत्रका उपत्यकामा पनि तापक्रम उच्च छ ।

बिहीबार नेपालगन्जमा अधिकतम तापक्रम ४३.८ र न्यूनतम तापक्रम २८ डिग्री सेल्सियस मापन भएको छ । त्यसैगरी, धनगढीमा ४३.१, दिपायलमा ४१.३, वीरेन्द्रनगरमा ४०.१, घोराहीमा ३८.८ र भैरहवामा ४०.४ डिग्री सेल्सियस मापन भएको छ।

काठमाडौंको तापक्रम पनि ३४.३ डिग्री सेल्सियस मापन भएको छ। मौसमविद् सञ्जीव अधिकारीका अनुसार यसपटक पनि देशभर मनसुन फैलिन लाग्ने देखिन्छ।'

सामान्य रूपमा मनसुन भित्रिएको ५ देखि ७ दिनसम्म देशभर फैलिने हुन्छ, यसपटक ढिलो हुने देखिन्छ। अहिले पनि कोशी प्रदेशमै केन्द्रित छ,’ उनले भने, ‘कोशीबाहेकका क्षेत्रमा पश्चिम उत्तरबाट हावा चलिरहेको छ, यो हावाले पूर्वी दक्षिणबाट पश्चिम बहने हावालाई छेकिरहेको छ।’

सुझावित समाचार