बाबुराम भट्टराई, अध्यक्ष, नेसपा : आधारभूत कुरालाई सच्याउने गरी नयाँ र वैकल्पिक शक्ति आउनुपर्छ । यस्तै, प्रदेश र केन्द्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्वसमानुपातिक निर्वाचन प्रणालीमा जानुपर्छ ।
पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ दलका नेतालाई मात्रै बोलाएर पार्टी स्थापना दिवस मनाएका छन् । नेसपा राष्ट्रिय महाधिवेशन आयोजक समितिले बुधबार प्रज्ञा भवनमा पार्टी स्थापना दिवस मनाएको हो ।
नेसपाले राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, विवेकशील साझा पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतलाई दिवसमा सहभागी हुन निम्तो दिए पनि कांग्रेस, एमाले, माओवादीलगायत पुराना दललाई भने बोलाएको थिएन । कार्यक्रममा भट्टराईसँगै उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने, जनमतका अध्यक्ष सिके राउत, विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटा, आजपाका अध्यक्ष प्रभु साह, नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीलगायतले सम्बोधन गरेका थिए ।
उक्त अवसरमा डा. भट्टराईले नयाँ शक्ति पार्टी स्थापनादेखि नेसपासम्मको यात्रा वैकल्पिक राजनीतिका लागि भएको दाबी गरेका छन् । उनले आधारभूत कुरालाई सच्याउने गरी नयाँ र वैकल्पिक शक्ति आउनुपर्नेमा जोड दिए । यस्तै, प्रदेश र केन्द्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्वसमानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा जोड दिए ।
कार्यक्रममा गृहमन्त्री एवं रास्वपा सभापति लामिछानेले नागरिकले दिएको भोटमार्फत विद्रोह गरेर आफूहरूले शासकहरूलाई सोच्न बाध्य बनाएको बताए । उनले भने, ‘अब हामी रहे पनि नरहे पनि यो अभियान अगाडि बढ्यो । हो क्रान्ति अलिकति भयावह सुनिन्छ । के हामीले गरेको क्रान्ति होइन र ? हिजो तपाईंहरूले गरेको विद्रोह, त्यत्रो त्याग–बलिदानको जगमा उभिएर हामीले शान्तिपूर्ण विद्रोह गर्यौँ नि ! हामीले नागरिकको मतलाई मान्यौँ । नागरिकले दिएको भोटका आधारमा कहीँकतै एक थोपा रगत पनि नचुहाईकन गरिएको विद्रोहले शासकहरूलाई अलिकति सोच्न बाध्य त बनायो नि !’
जनमत पार्टीका अध्यक्ष राउतले सडक आन्दोलनविना वैकल्पिक शक्तिलाई स्थापित गर्न नसकिने बताए । पुराना शक्तिले नयाँ शक्तिलाई विभिन्न षड्यन्त्र गरेर अगाडि बढ्नै नदिने उनको दाबी छ ।
उनले गृहमन्त्री लामिछानेलाई पनि सडकमा आउन आग्रह गरे । उनले भने, ‘आन्दोलनका लागि तयार रहनुहोस्, प्रधानमन्त्री त त्यसै बन्नुहुन्छ । त्यो ठूलो कुरा होइन । अहिलेको व्यवस्थामा प्रधानमन्त्री बनेर मात्रै केही हुने अवस्था छैन । म पनि गठबन्धनमा छु, मैले पनि सम्माननीय प्रधानमन्त्री प्रचण्डलाई देखेको छु । उहाँले मेरै अगाडि १० पटक फोन गर्दा एउटा कर्मचारीले टेर्दैन । त्यसकारण यो व्यवस्थाबाट पार लाग्ने छाँटकाँट छैन । सडकबाटै आन्दोलन तय गर्न सक्नुपर्छ ।’
विवेकशील साझा पार्टीकी अध्यक्ष बास्कोटाले २१औँ शताब्दीको नेतृत्व कस्तो भन्ने विषयमा वैकल्पिक शक्तिले सोच्नुपर्ने बताइन् । उनले नेसपालाई परिष्कृत भएर आँखा खोल्न आग्रह गरिन् । ‘जसले वैकल्पिक राजनीति गर्छु भनेर स्टेरिङ समात्छ । त्यो स्टेरिङ समात्ने व्यक्तिलाई नैै कहाँ गएर के कुराले हिर्काउँदो रहेछ थाहा छैन । उसले यसरी डाइभर्ट लिन्छ र यसरी भाग्छ । यहाँहरू खुसी किन पनि हुनुस् भने स्टेरिङ समात्ने व्यक्ति आजसम्म त्यहीँ स्टेरिङ समातेर बसिरहनुभएको छ । तर, त्यहाँभित्र गरिएका गल्तीलाई अब सच्याउन जरुरी छ ।’
आजपाका अध्यक्ष साहले समस्या बुझेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘हामी जब नयाँ राजनीतिक शक्तिको कुरा गर्छौँ । त्यो पुरानो चिजको निषेधको डिमान्ड गर्छौँ । जब हामी वैकल्पिक राजनीतिक यात्राको कुरा गर्छौँ, त्यसले वर्तमानको प्रतिस्थापनको माग गर्छ । वर्तमानलाई स्विकारेर नयाँ गर्छु भन्नु आफैँमा विज्ञानविपरीत हो । हामी पुरानोलाई छाडेर नयाँ मात्र रहन सक्छौँ । पुरानोमा टाँसिएर नयाँ भन्नु जनतालाई झुक्याउनेबाहेक अरू केही पनि हुन सक्दैन ।’