इजरायल–हमास युद्धको अहिले आठौँ महिना गुज्रिरहेको छ । निकै ठूलो मानवीय विपत् निम्त्याइरहेको यही युद्ध रोक्न सोमबार राष्ट्रसंघीय सुरक्षा परिषद्ले गाजामा स्थायी युद्धविराम र बन्धकहरूको रिहाइको लागि अमेरिकी प्रस्ताव पारित गर्यो । अमेरिकाले तयार पारेको प्रस्तावको पाठले हमासलाई राष्ट्रपति जो बाइडेनबाट मे ३१ मा घोषणा भएको युद्धविराम प्रस्ताव स्वीकार गर्न आह्वान गरेको छ । प्रस्तावलाई इजरायलले पहिले नै स्वीकार गरिसकेको छ । परिषद्का १५ सदस्यमध्ये १४ ले प्रस्तावको पक्षमा मतदान गरेका थिए । भिटो शक्ति प्रयोग नगर्ने निर्णयपछि रुस मतदानमा अनुपस्थिति भएको थियो ।
अमेरिकाका अनुसार बाइडेनको प्रस्तावले तीन चरणमा व्यापक युद्धविराम सम्झौतामा पुग्ने मार्गचित्र कोरेको छ । पहिलो चरणमा ‘हमासको कब्जामा रहेका महिला, वृद्ध र घाइतेलगायत बन्धकको रिहाइ र साथमा मारिएका बन्धकको शव फिर्ता हुने, बदलामा इजरायलले उसको जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको रिहाइ गर्ने, त्यसपछि पूर्ण युद्धविरामको आह्वान गरिएको छ, जसमा इजरायली सैनिकहरू गाजाको प्रमुख जनसंख्या केन्द्रबाट पछाडि हट्नुपर्नेछ । त्यही अवधिमा विस्थापित प्यालेस्टिनीलाई तिनको घरगाउँमा फर्कन अनुमति दिइनेछ । दोस्रो चरणमा गाजामा मानवीय सहायता व्यापक विस्तार गरिनेछ बाइडेनको प्रस्तावमा उल्लेख छ ।
अमेरिकाले ल्याएको प्रस्तावले हमासलाई राष्ट्रपति जो बाइडेनबाट मे ३१ मा घोषणा भएको युद्धविराम योजना स्वीकार गर्न आह्वान गरेको छ
राष्ट्रसंघका अनुसार दोस्रो चरणमा चालिने कदमले शत्रुताको स्थायी अन्त्यको अनुभूति गर्नेछ । अर्कोतर्फ, तेस्रो चरणमा ‘गाजाका लागि एक बहुवर्षीय पुनर्निर्माण योजना’ ल्याइनेछ । राष्ट्रपति बाइडेनले उक्त सम्झौतालाई ‘युद्धविराम मात्र नभई युद्धको स्थायी अन्त्य गर्ने सम्झौताको रूपमा वर्णन गरेका छन् ।’ अमेरिकी सम्झौताका सर्तहरू इजरायल हमासबीचको वार्ताको मध्यस्थता गर्दै आएको कतारले हमासको नेतृत्वलाई हस्तान्तरण गरेको बताइएको छ ।
यसबीच, संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले हमासले सुरक्षा परिषद्ले अनुमोदन गरेको सम्झौतामा सहमत भयो भने लडाइँ रोकिने विश्वास व्यक्त गरिन् । अन्तर्राष्ट्रिय समुदाय सम्झौताको पछाडि एकजुट भएकाले हमासले प्यालेस्टिनी नागरिकको पुनर्निर्माण र मलमपट्टीको पक्षमा उभिनुपर्ने लिन्डाले बताइन् । प्रस्तावअनुसार संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजापट्टीको जनसंख्या वा भूमि फेरबदल गर्ने प्रयासलाई अनुमति दिँदैन । यसले दुई–राज्य समाधानको दृष्टिकोणप्रति परिषद्को ‘अटुट प्रतिबद्धता’ पनि दोहोर्याएको छ । प्रस्तावमा प्यालेस्टिनी प्राधिकरणअन्तर्गत रहेको वेस्ट बैंंकसँग गाजापट्टीलाई एकीकृत गर्ने महत्वलाई जोड दिइएको छ । अक्टोबर–७ मा हमासले गरेको आक्रमणपछि गाजामा इजरायलले निरन्तर सैन्य अभियान चलाइरहेको छ । इजरायलले भने गाजा आक्रमणलाई नागरिक हताहत सक्दो कम गर्दै आतंकवादी समूहलाई समूल उन्मूलन गर्ने अभियान बताएको छ ।