नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटीले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजमाथि छलफल सम्पन्न गरेको छ । पार्टीले मातहतका कमिटी तथा सबै जिल्ला तहबाट थप सुझाव लिन सबै जिल्लामा दस्ताबेजको मस्यौदा पठाएको थियो । राजनीतिक दस्ताबेज, पार्टीको समाजवादी कार्यक्रम, विधान संशोधन र गंगालाल तुलाधरको उपस्थितिमा ती दस्ताबेजमा छलफल गरिएको थियो । सो छलफलबाट निस्केको निष्कर्षलाई समेटेर केन्द्रलाई बुझाउने तयारी गरिएको जनाइएको छ। दस्ताबेजलाई एउटै प्रतिवेदन बनाएर राष्ट्रिय महाधिवेशनमा लैजाने बागमती प्रदेश कमिटी सचिव लक्ष्मण लम्सालले जानकारी दिए ।
सोही कमिटीले काभ्रेबाट प्राणनाथ न्यौपाने, राजु नेपाल, सन्तवीर तामाङ, छवि हुमागाईंलाई प्रदेश कमिटी सदस्यको जिम्मेवारी प्रदान गरेको छ। पार्टी संगठन सुदृढीकरणमा महत्त्वपूर्ण योगदान गरेकाले कामको मूल्यांकन गर्दै प्रदेश कमिटीको जिम्मेवारी प्रदान गरिएको सचिव लम्सालले जानकारी दिए ।
महाधिवेशनको कार्यप्रगति तथा तयारीबारे मातहतका कमिटीले पार्टी केन्द्रलाई जानकारी गराउनुपर्ने प्रावधान छ । महाधिवेशनका लागि निर्माण गरिएको प्रतीक चिह्नमा नेपालको फर्फराइरहेको राष्ट्रिय झण्डालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। कम्युनिस्ट पार्टीको झण्डा राखिएको प्रतीक चिह्नमा दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादी बाटोमा अगाडि बढौँ भन्ने सन्देश उल्लेख छ ।
पार्टीको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा तय गरिएको छ । महाधिवेशनलाई सम्पन्न गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा १४ सदस्यीय कमिटी निर्माण गरिएको छ। पार्टीका तल्लो तहदेखि माथिल्लो तहका नेतालाई सम्बन्धित भूगोल तथा कार्यक्षेत्रबाट निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ।