जसपाको अबको बाटो

आइतबार, २७ जेठ, २०८१
डिजिटल संस्करण

महाधिवेशनपछि पार्टी फुटका छिटा समाप्त भएर जानेछन् अनि नयाँ ऊर्जा र विचारको जगमा पार्टी उभिनेछ

विभिन्न पार्टी एकीकरण हुँदै बनेको जनता समाजवादी पार्टी (जसपा) नेपाल आफ्नो विचारधारमा सबैभन्दा सुस्पष्ट राजनीतिक दल हो । अन्य दलले समयक्रमअनुसार आफ्नो विचारधारा बनाउँदै आएको पाइन्छ । हाम्रो पार्टीचाहिँ जनताका जरा गाडिएका केही समस्याप्रति स्पष्ट विचार लिएर जन्मिएको हो । यो देश कुनै एउटा उपत्यकावासी, कुनै एउटा क्षेत्रविशेष, कुनै एउटा लिंग या एउटा वर्गको मात्रै होइन, आमनेपाली जनताको हो । यस्तो देशमा राज्यले सबै नागरिकलाई बराबर हक–अधिकार दिनुपर्छ भन्नेमा हामी दृढ छौँ । हाम्रो पार्टीको लामो इतिहास छ । देशमा समावेशी, समानुपातिक प्रणाली र संविधानमा संघीय व्यवस्था हाम्रो ऐतिहासिक संघर्ष र बलिदानका साक्षी हुन् । मधेश आन्दोलनका वास्तविक उपलब्धि पनि यिनै हुन् । हुन त माओवादी आन्दोलनलाई पनि हामीले बिर्सनुहुँदैन । दाबीका साथ भन्न सकिन्छ– हामीले अधिकारका लागि मधेश आन्दोलन गरेका थिएनौँ भने यी मुद्दा कुनै हालतमा संविधानमा समावेश हुने नै थिएनन् । हामीले नै मधेश आन्दोलनको नेतृत्व गरेका हौँ । देशमा व्यवस्था नै फालेर संघीयता ल्याएका हौँ । त्यसको रक्षा गर्ने जिम्मेवारी हाम्रै हो । हामी यो जिम्मेवारीलाई पूरा गरेरै छाड्छौँ ।

सरकार परिवर्तन सामान्य : संसदीय व्यवस्थामा सरकार आउनु या जानु सामान्य विषय हुन् । नेपालको इतिहासमा कुनै पनि दलको पाँच वर्ष एकल सरकार चलेकै छैन । जनताले पछिल्लोपटक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई स्पष्ट बहुमत दिएका थिए । तर, नेकपाको त्यस्तो प्रचण्ड बहुमतको सरकार पनि पाँच वर्षसम्म टिक्न सकेन । यस्तो अवस्थामा जनता समाजवादी पार्टी सधैँ सत्तामा रहिरहन्छ या रहिरहनुपर्छ भन्ने केही छैन । गाउँघरका हाम्रा कार्यकर्ताको मनोभावना बुझ्ने हो भने हामी प्रतिपक्षमै बसौँ भन्ने नै छ । आमकार्यकर्ताले काठमाडौंलाई एक प्रकारले ‘घृणा’ नै गर्छन् । तर, हामी आफ्नो घोषणापत्रमा लेखेका कुरा राज्यका नीति नियममा समावेश गराउन वेलावेलामा सरकारमा गइराखेका हुन्छौँ । सबै आदिवासी जनजाति, मधेसी, अल्पसंख्यक, सीमान्तकृत, मुस्लिम समुदायका मुद्दा उठाउने मात्रै होइन, नीति–निर्माण गर्ने ठाउँमा बोलिदिने, उनीहरूका पक्षमा कानुन बनाउन सहयोग पुर्याउने काम जनता समाजवादी पार्टीले नै गरेको हो । काठमाडौंलाई मधेश र पीछडिएको क्षेत्र चिनाउने काम पनि हामीले नै गरेका हौँ ।

दलगत फुटको प्रभाव : कुनै वेला हामीलाई मधेशका जनताले ५२ सिट दिएका थिए । दलगत फुटको सबैभन्दा चर्को प्रभाव हाम्रो पार्टीमाथि पर्यो । हुन त नेपालमा कुन पार्टी फुटेको छैन र ? नेपाली कांग्रेस पनि विभाजित भएको इतिहास छ । कम्युनिस्ट पार्टी त पचासौँपटक फुटेका छन् । हाम्रो निर्वाचन कानुनमै सुधार गर्नुपर्ने आवश्यकता पनि छ । असन्तुष्टि हाम्रो मुलुकमा अलि बढी भयो । आर्थिक अवस्था कमजोर भएका कारण पनि असन्तुष्टि बढिरहेका हुन सक्छन् । केही साथी असन्तुष्ट भएर वेलावेलामा पार्टी फुटाउने गरेका छन् । तर, हाम्रो पार्टी फुटाएर गएका कोही पनि आज अस्तित्वमा छैनन् ।

अहिले भर्खरै पनि हाम्रो पार्टीमा विभाजन आएको छ । यो विभाजन साथीहरूले भन्दा पनि सरकार÷राज्यले नै गरिदिएको हो । दुनियाँमा कहीँ नभएको रमिता देखाएर पार्टी विभाजन गर्ने काम गरियो । आज बेलुका निर्वाचन आयोगमा निवेदन दिने र त्यसको २० घन्टा नबित्दै दल विभाजनको प्रमाणपत्र दिने काम गरियो । निर्वाचन आयोगको इतिहासमा यसभन्दा अगाडि यस्तो घटना कहिल्यै भएको थिएन । 

राज्य संयन्त्रले फुटाएको जसपा : प्रधानमन्त्रीजीले एउटा सार्वजनिक कार्यक्रममै भन्नुभयो– मैले आफ्नो सत्ता बचाउन, प्रधानमन्त्री पद जोगाउन जसपा फुटाइदिएँ । जहाँ कुनै पार्टी फुटाउन प्रधानमन्त्री या राज्य संयन्त्र नै सामेल हुन्छ, त्यहाँ दलहरू सग्ला रहन असम्भव नै हुन्छ । 

मन्त्री पदको पासो फ्याँकेर हाम्रो पार्टी फुटाइयो । त्यहाँ नीति, सिद्धान्तजस्ता आधार केही राखिएनन् । अशोक राईजीको नेतृत्वमा हाम्रो पार्टी विभाजनको एउटा शृंखला मञ्चन गराइयो । हामीबाट फुटेर बनेको पार्टी २०८४ को निर्वाचनसम्म पनि टिक्दैन । त्यसतर्फ लाग्ने हाम्रा सबै साथीहरूको भविष्य अन्धकारमय छ । विभाजित भएका नेताले विभिन्न पार्टीसँग सेटिङ गरेका छन् । बाँकी साथी बिचल्लीमा पर्दै छन् । 

हामीसितै छन् कार्यकर्ता : सबैभन्दा ठूलो सत्य र यथार्थ के हो भने, फुटेर गएका र तिनको केन्द्रीय सूचीमा रहेका व्यक्तिबाहेक एकजना कार्यकर्ता पनि उनीहरूसँग गएका छैनन् । जनता समाजवादी पार्टी नेपालसँग सबै कार्यकर्ता ज्युँकात्युँ छन् । हामी महाधिवेशनको मुखमा छौँ । सबै साथी महाधिवेशन प्रक्रियामा सामेल हुनुहुन्छ । सञ्चार माध्यममा हेर्दा पार्टी विभाजन भएजस्तो त देखिन्छ । तर, यथार्थमा जोसँग कार्यकर्ता हुन्छन्, मूल पार्टी त्यही नै हुन्छ । कार्यकर्ता नै पार्टी निर्माणको सबैभन्दा ठूलो आधार हो । त्यसकारण पार्टी विभाजनलाई हामीले स्वीकार गरेका छैनौँ । सत्तालिप्सामा केही सांसद लागेका कारण पार्टी विभाजित गरिएको यथार्थ पार्टी कार्यकर्ताले मात्रै होइन, आमजनताले समेत बुझेका छन् । विभाजनमा साथ दिएका साथीहरूलाई फर्केर आउन हाम्रा अध्यक्षले विज्ञप्तिमार्फत नै आह्वान गरिसक्नुभएको छ । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले त्यो विषय समय क्रममा निरुपण हुने नै छ । 

महाधिवेशनले लिने बाटो : जनता समाजवादी पार्टीको महाधिवेशन यही २८–३० जेठमा जनकपुरधाममा हुँदै छ । १३ सयभन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुँदै छन् । जो विभिन्न निर्वाचन क्षेत्र र जनवर्गीय संगठनबाट कार्यकर्ताको भोटले निर्वाचित भएर आएका छन् । महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न मुलुकका प्रतिनिधि, विभिन्न राजनीतिक पार्टीका नेताको सहभागिता रहनेछ । 

महाधिवेशनले जनता समाजवादी पार्टीको सुस्पष्ट विचार र नयाँ नेतृत्व चयन गर्दै छ । केन्द्रीय सदस्यदेखि केन्द्रीय निकायसम्म सबैले नयाँ नेतृत्व पाउँदै छन् । यही ३० गते हाम्रो निर्वाचन सत्र नै हुन्छ । महाधिवेशनपछि फुटका छिटाहरू समाप्त भएर जानेछन् । महाधिवेशनपछि नयाँ ऊर्जा र नयाँ विचारको जगमा पार्टी उभिनेछ । र, नयाँ नेतृत्वका साथ हामी जनतामाझ जानेछौँ । समसामयिक, आर्थिक, भूमि नीतिदेखि लिएर अधिकारका कुरासम्म हामीले लिपिबद्ध गर्नेछौँ । संविधान संशोधनसहितका विषय समेटेर राजनीतिक दस्ताबेज तयार पार्नेछौँ । त्यो राजनीतिक दस्ताबेजमार्फत हाम्रा घोषित नीति लागू गर्ने गरी अगाडि बढ्छौँ ।

हाम्रो संघर्षमय इतिहास : जनता समाजवादी पार्टी सधैँ संघर्ष गरेर आएको दल हो । यो पार्टी कुनै अमुक शक्तिले गठन गरिदिएको होइन । आमजनताको बीचबाट संघर्ष गरेर आएको पार्टी हो । कार्यकर्ताले साहदत प्राप्त गरेर निर्माण भएको पार्टी हो । हामी विचार, सिद्धान्त बोकेका पार्टी हौँ । हामी संविधान संशोधन गरेर यसलाई सबैको साझा र सर्वस्वीकार्य दस्ताबेज बनाउन चाहन्छौँ ।

सांसदको संख्याले मात्रै पार्टीको आकार निर्धारण हुँदैन । सांसद हेरेर पार्टीलाई ठूलो र सानो त भनिन्छ । तर, पार्टीको मुख्य जनाधार भनेको त्यसका कार्यकर्ता नै हुन् । हामीसँग कार्यकर्ता छन् । त्यसकारण हामीसँग सशक्त पार्टी छ । हामी २०८४ को निर्वाचनसम्मको एउटा लक्ष्य निर्धारण गर्नेछौँ । हामी हिजो सरकारमा रहँदा पनि मन्त्रिपरिषद्मा संघर्षका कुरा गथ्र्यौं । राज्यका हरेक निकायमा हाम्रा मुद्दा उठाउँदै आएका हौँ । आज पनि त्यो क्रम जारी छ । भोलिका दिनमा पनि हामी त्यसरी नै आफ्ना कुरा उठाइरहनेछौँ । हामी सदन र सडक दुवै मोर्चाबाट जनताका मुद्दा उठाइरहनेछौँ । 

०८४ सम्म सरकारमा जान नपरोस् : जहाँसम्म सरकारको प्रश्न छ, हामी ०८४ को निर्वाचनसम्म सरकारमा जान नपरोस् भन्नेमा छौँ । सरकारमा गएपछि साथीभाइका इच्छा आकांक्षाले अर्कै रूप लिने गरेको छ । त्यही कारण सरकारमा जान नपरोस्, बरु संघर्षको बाटोमा हामी लागिरहौँ भन्ने सोच बनाएका छौँ । संसद् र सडकमार्फत महाधिवेशनले पारित गरेका नीति लिएर आमजनतामाझ जानेछौँ । संघदेखि प्रदेशसम्म त्रिशंकु संसद् भएकाले सरकारमा जाँदै जाँदैनौँ भनेर ठोकुवा नै गर्ने स्थिति त छैन । तर, हाम्रो जोड सरकारभन्दा बाहिरै बसेर पार्टी संगठन निर्माण गर्नुपर्छ भन्नेमा छ । यद्यपि, अहिले पनि जनता समाजवादी पार्टी सबैभन्दा संगठित र विचारमा सुस्पष्ट पार्टी हो नै । हामी जसपालाई ठूलो, बलियो र आमजनताको पार्टीका रूपमा स्थापित गरेर जाने बाटोमा जाँदै छौँ ।

(सुमन जनता समाजवादी पार्टी नेपालका प्रवक्ता हुन्)
 

सुझावित समाचार