नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पौडेलले लामिछानेको नाम नलिई जसमाथि छानबिन गर्न संसदीय समिति गठन भएको हो, सोही व्यक्ति पदमा बसिरहेको भन्दै प्रश्न गरेका हुन्।
संसदमा भएका कुनै पनि ठूला दलले सहकारीको मुद्दालाई नउठाउँदा कांग्रेसले नै उठाएको र समिति गठन गरेर निर्णायक चरणमा पुर्याएको उनको भनाइ थियो। वर्तमान गठबन्धन समिति बनाउनुको साटो सत्तालाई दुरुपयोग गरेर प्रमाण लुकाउन लागेको आरोप लगाउँदै उनले भने, ‘नेपाली कांग्रेसले यो मुद्दा उठाएपछि बाध्य भएर अरू पार्टी जोडिएका हुन्।’
‘राजनीतिमा नैतिकता व्यक्तिमा निर्भर गर्ने कुरा हो। कोही नांगै छ र पनि कपडा लगाएको ठान्छ भने त्यसमा हाम्रो केही लाग्दैन,’ पौडेलले भने, ‘संसद्ले छानबिन समिति गठन गर्यो, त्यसपछि पनि नैतिकताको बोध नगरिने राजनीतिक अभ्यास नेपाली राजनीतिमा एउटा गम्भीर विषय हो। प्रतिगामी विषय हो।’