गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले आगामी सोमबार विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेश सभा बैठक सोमबार दिउँसो ३ बजे आह्वान भएको छ । विश्वासको मतका लागि प्रदेश सभा सचिवालयमा पत्र दर्ता भएको सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।
सर्वाेच्च अदालतको परमादेशमा १६ जेठमा मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डे बहुमत जुटाउन कसरत गरिरहेका छन् । तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत अवैधानिक ठहर गर्दै सर्वाेच्चले संविधानको धारा १६८ को उपधारा (३) अनुसार सरकार बनाउन परमादेश दिएपछि पाण्डे मुख्यमन्त्री बनेका थिए ।
तर, पाण्डेसँग बहुमत छैन । ६० सदस्य प्रदेश सभामा कांग्रेसका २७ सांसद मात्र छन् । दुई सिट रहेको राप्रपा र एक स्वतन्त्र सांसदले विश्वासको मत दिएमा पनि उनीसँग बहुमत पुग्दैन । विश्वासको मतका लागि ३१ मत चाहिन्छ । केन्द्रमा गठबन्धन गरेर सरकार चलाइरहेका एमालेसँग उपसभामुखसहित २२ र माओवादीसँग सभामुखसहित आठ गरी ३० सिट छ ।
मत माग्दै राप्रपा अध्यक्षलाई देउवाको पत्र
मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिनका लागि भन्दै शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाएका छन् । देउवाले पठाएको पत्रमा ‘विशेष परिस्थितिमा तपाईंको दलको तर्फबाट विश्वास मत प्रदान गरी सहयोग गर्नका लागि अनुरोध गर्दै पार्टीका तर्फबाट पत्र पठाएको’ उल्लेख छ ।