धनकुटामा सम्पन्न चौथो संस्करणको सहिद रामकृष्ण श्रेष्ठ महिला फुटबल प्रतियोगिताको उपाधि झापाको कन्काई नगरपालिकाले हात पारेको छ।
शुक्रबार सम्पन्न फाइनल खेलमा धनकुटा नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै कन्काईले जित हात पारेको हो।
धनकुटाको तल्लो टुँडिखेलमा भएको फाइनल खेलको पहिलो हाफको २०औँ मिनेटमा धनकुटाकी मनिता तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाइन्। तर, दोस्रो हाफको पहिलो मिनेटमा नै झापाकी जेनिफर मगरले गोल गर्दै खेललाई बराबरीमा पुर्याइन्। दोस्रो हाफको नवाैँ मिनेटमा जेनिफरले गरेको दोस्रो गोल नै खेलको निर्णायक बन्यो।
खेल सुरु भएदेखि नै कन्काईले धनकुटालाई दबाबमा राखेको थियो। घरेलु मैदानको साथ पाएको धनकुटाले पटक–पटक अवसर पाए पनि थप गोल गर्न सकेन। उपाधि विजेता कन्काईले नगद एक लाख हात पार्दा उपविजेता धनकुटाले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ।
खेलको बेस्ट डिफेन्स धनकुटाकी पूर्णिमा राई, बेस्ट मिडफिल्डर धनकुटाकै तीर्थ लिम्बू र बेस्ट फरवार्ड कन्काईकी समीक्षा मगर घोषित भए। उनीहरूले जनही एक हजार पाँच सय रुपैयाँ पुरस्कार पाए।
त्यस्तै, बेस्ट गोलकिपर घोषित कन्काईकी रञ्जु राजवंशीले नगद तीन हजार र चाँदीको सिक्का पाइन् भने बेस्ट अफ द टुर्नामेन्ट कन्काईकी जेनिफर रानामगरले नगद पाँच हजार पुरस्कार पाइन्।